17 April 2024  |   बुधबार, बैशाख ५, २०८१

दसैंमा मासु किन्दा के-केमा ध्यान दिने?

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, अशोज १८, २०७९  

कुमार चालिसे

एउटै खानाको स्वादभन्दा फरकफरक स्वादका खानेकुरा खानेको जमात बढ्दै गएको छ। जुन होटल, रेस्टुरेन्ट तथा क्याफेमा नयाँ स्वादका परिकार बनाइन्छ, त्यहाँ स्वाद लिने पारखीको भिड लाग्न थालेको छ।

सहरी क्षेत्रमा खानेकुराको सौख र रूचि बढ्दै जाँदा प्रत्येक भान्सामा दिनदिनै नयाँ र धेरै खाद्य सामग्री भित्रिन्छ। योसँगै उत्तिकै मात्रामा विषादी पनि भित्रिरहेको छ।

हामीले खाने खानेकुरा विषादीयुक्त छन्। बजारमा यत्रतत्र देखिने फलफूल, माछा, मासु तथा दूधजन्य खाद्य पदार्थहरूमा विषादी मिसाइएको पाइन्छ। यस्ता मिसावट भएका खानेकुरा खाँदा शरीरमा क्षणिक असर त पर्छ नै, स्वास्थ्यमा दीर्घकालीन असरहरू पनि देखिन्छ।

खान नपाएर होइन, खान नजानेर हामी शरीरमा विभिन्न किसिमका रोगको आफैं स्वागत गरिरहेका छौं।

खाद्य सामग्रीलाई हेरेर त्यसमा प्रयोग भएको विषादी तथा अखाद्य पदार्थहरू के छ भन्न गाह्रो हुन्छ। कतिपय विषादी खाद्य प्रयोगशालाले पनि छुट्याउन सक्दैनन्। किसानहरूले उत्पादनमा छिटो वृद्धि होस् भनेर कडा खालको विषादी प्रयोग गर्छन्। त्यसको प्रयोग बिना अध्ययन, तालिम तथा सुरक्षाका उपकरण भइरहेको हुन्छ।

किसानहरू आफैंलाई पनि त्यसबारे धेरै जानकारी हुँदैन। उनीहरूले ती खाद्य पदार्थ उपभोग नगरे पनि विषादी/औषधि चलाउँदा ध्यान दिएको पाइँदैन। उनीहरूलाई नै हानी भएको जानकारी पनि पाउँदैनन्।

खाना उत्पादन, भण्डारण, वितरण तथा ढुवानीका प्रत्येक चरणहरूमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा विभिन्न किसिमका औषधि प्रयोग गर्नु भनेको मानिसका शरीरमा विषादी उत्पादन हुनु हो। कुनै पनि विषादीले खानेकुरालाई आजको भोलि नै खराब गर्दैन। त्यसैले विषादी भए नभएको थाहा पाउन गाह्रो हुन्छ।

यसका लागि केही घरेलु उपाय भने अपनाउन सकिन्छ। जस्तो गर्मीमा बिहान किनेको दूध बेलुकी फाट्छ। त्यो दूध फाटेन भने त्यसमा केही मिलाएको छ भन्ने बुझे हुन्छ। त्यसमा सोडा प्रयोग गरिएको हुन्छ।

दैनिक सोडा हालेको खाद्य पदार्थबाट मानिसको शरीरमा विभिन्न किसिमका रोग देखा पर्न सक्छन्। सोडा प्रयोग गरेर वितरण गरिएको दूध हामीले कुनै शुद्दीकरणका उपाय अपनाएर शुद्ध पार्न सक्दैनौं। सोडा मन्द विषजस्तो हो। कसैलाई तत्काल असर गर्न सक्ला, कसैलाई  ढिलो।

छिटो देखिने असर भने झाडापखला, वान्ता, वाकवाकी तथा पेट दुख्नु हो। दीर्घकालीन असर क्यान्सर, मुटुरोग, स्मरण शक्ति कम हुनेजस्ता समस्या हुन्।

वयस्क व्यक्तिलाई सहज तरिकाले बाँच्न दिनैपिच्छे २००० क्यालोरी भएको खानेकुरा चाहिन्छ। यो क्यालोरी आपूर्ति गर्न मानिसले बिहान, दिउँसो र बेलुका भोजन गर्नुपर्छ। हामीले खाएको खाना स्वच्छ, पोषिलो र तागतिलो भए मात्र त्यो खाद्य परिकारबाट हामीले २००० क्यालोरी प्राप्त गर्न सक्छौं। अन्यथा न्यून गुणस्तरले शरीरलाई हानी मात्र पुर्‍याउँछ।

भान्सामा प्रत्येक दिन हामीले पकाउने खानामा विषादी भएकैले अनेकथरीका रोग भित्र्याइरहेका छौं।

चाडपर्वमा यो समस्या झनै बढ्छ अन्न, पानी, माछा, मासु तथा तरकारीको प्रभावकारी अनुगमन र कारबाही नहुँदा सर्वसाधारण विषाक्त खाना खान बाध्य छन्।

दसैंमा मासु धेरै खपत हुन्छ। तर धेरैलाई कुन मासु स्वस्थकर हो, कुनमा विषादी वा अस्वस्थकर हुन सक्छ भन्नेबारे थाहै हुँदैन।

त्यसैले मासु किन्दा ध्यान दिनुपर्ने केही सुझाव दिएको छुः

  • मासु हल्का गुलाबी रङको हुन हुँदैन।
  • मासु हरियो तथा प्याजी रङको पनि हुन हुँदैन।
  • मासुबाट अमिलो गन्ध वा मननपर्ने खालको गन्ध आउनु हुँदैन।
  • आँखाले हेर्दा नबिग्रिएको र ताजा देखिनुपर्छ।
  • चलिरहेको फ्रिजमा अलगअलग रूपमा छोपेर भाँडामा राखेको छ भने त्यस्तो मासु नकिन्नुहोला।
  • मासु काट्दा र समाउँदा तन्केको जस्तो हुन हुँदैन।
  • मासु किन्ने पसलको सरसफाइ पनि हेर्नुहोला।
  • काट्ने मानिसको, उसले लगाएको लुगाको सरसफाइ याद गर्नुहोला।
  • मासु काट्ने ठाउँ पनि ध्यान दिनुहोस्।
  • मासु काट्ने  हतियार र अचानोको सफाइमा पनि ध्यान पुर्‍याउनुहोस्।
  • मासु काट्ने तरिका र तराजुको सफाइ पनि ख्याल गर्नुहोस्।
  • फ्रिजमा लामो समयसम्म भण्डारण गरेर राखेको मासु नखानुहोस्।
  • खुला स्थानमा बेच्न राखेको मासु नखानुहोस्।
  • काँचो मासु र पाकेको मासुको एकै ठाउँमा भण्डारण गरेको देखेमा नखानुहोस्।
  • मासुका लागि ल्याइएको जनावरमा पनि ध्यान दिनुहोला।

माथिका कुराहरूमा ध्यान दिन सकेमा हामीले उपभोग गरेको मासुबाट हामी प्रशस्त मात्रामा प्रोटिन प्राप्त गर्न सक्छौं। दसैं भन्दैमा मासुका परिकारहरूमा अन्य तरकारीजन्य परिकार समेत मिसाएर नखानु होला।

विषादीयुक्त खानाबाट कसरी बच्ने?

  • जुन खाद्यवस्तुको सिजन, छ त्यो उपभोग गर्ने।
  • सिजनका अर्गानिक खानेकुरा प्रशस्त खाने।
  • तरकारीको छनौटमा चिल्ला र राम्राभन्दा फुस्रालाई प्राथमिकता दिने।
  • तरकारी तथा फलफूल किन्दा किरा लागेको छ छैन हेर्नुहोस्।
  • बांगोटिंगो परेका तरकारी तथा फलफूल खाँदा राम्रो हुन्छ।
  • तरकारीलाई नुन तथा चुकमा राखेर सफा गर्न सकिन्छ।

जुन खानाले मानिसको जीवन बचाउँछ, त्यही खानाले मृत्युको मुखसम्म पनि पुर्‍याउन सक्छ। त्यसैले खाद्य सुरक्षा सम्बन्धी ज्ञान लिनुहोस्। आफ्नो परिवार तथा आफन्तजनमा पनि ज्ञान बाँड्नुहोस्।

(लेखक कुमार चालिसे कर्पोरेट सेफ हुन्।)

प्रकाशित मितिः मङ्लबार, अशोज १८, २०७९     2:34:06 PM  |