काठमाडौँ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय महाधिवेशनका कारण असार ५ गतेयता बस्न नसकेको संघीय संसद्को बैठक आज आइतबार बस्ने भएको छ । बिहान ११ बजेका लागि आह्वान गरिएको बैठकमा चारवटा विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ । सभामा सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३, सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ र स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ गरी चारवटा विधेयक प्रस्तुत हुने संसद्को कार्यसूचीमा उल्लेख छ ।
प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यसैगरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्नेछन् ।
स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यसैगरी, संसद्को आइतबारको कार्यसूचीमै सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणिकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने र प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री पुनले महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन, २०८३ पेस गर्ने कार्यक्रम पनि रहेको छ ।
यसैगरी आइतबारै आर्थिक विधेयक, २०८३ तथा राष्ट्र ऋण उठाउने विधेयक, २०८३ पारितको प्रस्ताव पनि पेस गर्ने कार्यसूची रहेको छ । यसका साथै प्रतिनिधिसभाका पूर्वसदस्य राजेन्द्र खरेलको शोक प्रस्ताव प्रस्तुत हुने कार्यसूचीमा उल्लेख छ ।









प्रतिक्रिया दिनुहोस्