११ महिनामा ३८ अर्बको धानचामल आयात



काठमाडौँ।

चालू आर्थिक वर्ष २०८२–०८३ को ११ महिनामा नेपालले करिब ३८ अर्ब रूपैयाँँ बराबरको धानचामल आयात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आव साउनदेखि जेठसम्म ३७ अर्ब ८३ करोड ९२ लाख रूपैयाँँ बराबरको ७ लाख ११ हजार ५ सय २० टन धानचामल आयात भएको हो । गत आव २०८१–०८२ सोही अवधिको तुलनामा समग्र धानचामल आयात परिमाण र बाहिरिने रकम दुवैमा सामान्य गिरावट आएको देखिन्छ ।

गत आव ११ महिनामा ३८ अर्ब ९४ करोड २८ लाख बराबरको ७ लाख ५३ हजार ३ सय ५ टन धानचामल नेपाल भित्रिएको थियो । त्यस्तै सोही अवधिमा १९ अर्ब ९९ करोड ९ लाखभन्दा बढी मूल्यको ५ लाख २१ हजार २ सय ६९ टन कच्चा धान आयात भएको थियो । तर, चालू आव भने यो परिमाण घटेर ४ लाख ६१ हजार १ सय ८ टनमा सीमित भएको छ, जसका लागि १७ अर्ब २३ करोड ७२ लाख रूपैयाँँ बाहिरिएको छ ।

कच्चा धान आयात घटे पनि धानको बीउ आयात भने केही बढेको छ । गत वर्ष १ अर्ब १६ करोड ६२ लाख बराबरको २ हजार ५ सय ७० टन बीउ आयात भएकोमा यस वर्ष १ अर्ब २९ करोड ९४ लाख बराबरको २ हजार ९ सय ९३ टन धानको बीउ आयात भएको छ । तथ्यांकअनुसार बासमती चामल आयात गत वर्षको ७ अर्ब २६ करोड ८४ लाख रूपैयाँँ (६६ हजार ३ सय ९७ टन)बाट वृद्धि भई चालू आव ७ अर्ब ८६ करोड ३१ लाख (६७ हजार ६ सय ६७ टन) पुगेको छ ।

त्यसैगरी अन्य सामान्य चामल आयात अघिल्लो वर्ष १० अर्ब २३ करोड ५९ लाख (१ लाख ५६ हजार २ सय ६१ टन) रहेकोमा यस वर्ष बढेर ११ अर्ब ८ करोड ८४ लाख (१ लाख ७१ हजार ५४ टन) पुगेको छ । यो तथ्यांकले स्वदेशमै धान कुटेर चामल बनाउनुभन्दा विदेशबाटै तयारी चामल किन्ने प्रवृत्ति बढेको देखाउँछ । यस्तै कनिका र ब्राउन राइस आयात पनि वृद्धि भएको छ । गत वर्ष २८ करोड ५ लाख बराबर ६ हजार ८ सय २ टन कनिका आयात भएकोमा चालू वर्ष बढेर ३५ करोड १ लाख बराबरको ८ हजार ६ सय ८९ टन भित्रिएको छ ।

त्यस्तै ब्राउन राइस आयात पनि ४.३५ टनबाट बढेर ७.०७ टन पुगेको छ । गत आव ११ महिनामा यी बस्तु आयातबाट सरकारले ३ अर्ब ५३ करोड ६१ लाख राजस्व संकलन गरेको थियो । तर, चालू आव सोही अवधिमा यस्तो राजस्व घटेर २ अर्ब ६१ करोड ६२ लाखमा सीमित भएको छ ।

१४ प्रतिशतले बढ्यो वैदेशिक व्यापार

चालू आर्थिक वर्ष २०८२–०८३ को पहिलो ११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि जेठसम्म कूल वैदेशिक व्यापार २१ खर्ब ७२ अर्ब ६ करोड रूपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो व्यापार १८ खर्ब ९२ अर्ब ३६ करोड रूपैयाँ थियो । यो अवधिमा आयात १५.१६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको पहिलो ११ महिनामा १६ खर्ब ४४ अर्ब ७९ करोड रूपैयाँ बराबरको बस्तु आयात भएकोमा चालू वर्ष सोही अवधिमा १८ खर्ब ९४ अर्ब ९ करोड रूपैयाँ पुगेको छ ।

निर्यात पनि बढेको छ । ११ महिनामा निर्यात १२.२८ प्रतिशतले वृद्धि भई २ खर्ब ७७ अर्ब ९६ करोड रूपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा २ खर्ब ४७ अर्ब ५७ करोड रूपैयाँ बराबरको बस्तु निर्यात भएको थियो । आयातको तुलनामा निर्यातको वृद्धि कम हुँदा व्यापार घाटा थप विस्तार भएको छ । यो अवधिमा व्यापार घाटा १५.६७ प्रतिशतले बढेर १६ खर्ब १६ अर्ब १३ करोड रूपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा व्यापार घाटा १३ खर्ब ९७ अर्ब २२ करोड रूपैयाँ थियो ।

तथ्यांकले नेपालको वैदेशिक व्यापार अझै आयातमुखी रहेको देखाएको छ । चालू आर्थिक वर्षको पहिलो ११ महिनामा आयात–निर्यात अनुपात ६.८१ पुगेको छ । यसको अर्थ प्रत्येक १ रूपैयाँ बराबरको निर्यात हुँदा ६.८१ रूपैयाँ बराबरको बस्तु आयात भएको छ । अघिल्लो वर्ष यस्तो अनुपात ६.६४ थियो ।  कूल वैदेशिक व्यापारमा निर्यातको हिस्सा घटेको छ । अघिल्लो वर्ष कूल व्यापारमा निर्यातको हिस्सा १३.०८ प्रतिशत रहेकामा चालू वर्ष १२.८० प्रतिशतमा झरेको छ । यसैगरी कूल व्यापारमा आयातको हिस्सा बढेको छ । अघिल्लो वर्ष ८६.९२ प्रतिशत रहेको आयातको हिस्सा चालू वर्ष ८७.२० प्रतिशत पुगेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार ९ गते मंगलबार