खगेन्द्र दाहाल । खजुरा (बाँके) ।
बाँकेको खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण गरिएको छ । एकल महिला, दलित, जनजाति, महिला घरमुली भएको घरलाई विशेष प्राथमिकता दिई चुलो वितरण गरिएको हो । परम्परागत चुलोबाट निस्कने धुवाँले गर्दा महिला र बालबालिकामा लाग्ने श्वासप्रश्वाससम्बन्धी रोगहरू दम, खोकी हुने समस्या भएकोले चुलो वितरणपछि स्वास्थ्यमा सुधार हुने अपेक्षा लिइएको खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले बताए ।
खजुरा गाउँपालिकामा रहेको सामूहिक आवासका १७ घरधुरीसहित तीन सय जनालाई अहिले सुधारिएको चुलो वितरण गरिएको योजना शाखा सहायक तथा वैकल्पिक ऊर्जा कार्यक्रम फोकल पर्सन तारा थापाले बताइन् । खजुराले गत वर्ष पनि सुधारिएको चुलो वितरण गरेको थियो । गत वर्ष चार सय वितरण गरिएकोमा अहिले थप सुधारिएको चुलो तीन सय घरधुरीका लागि छुट्टाइएको बजेटबाट वितरण गरिएको पालिकाले जनाएको छ ।
भान्सा सुधार गर्नका लागी विद्युतीय इलेक्ट्रिक चुलो गत वर्ष ४५० घरधुरीका लागि खजुराले वितरण गरिसकेको जनाएको छ । यस वर्ष पनि विद्युतीय चुलो वितरण गरिसकेको पालिकाले ८६० घरधुरीका एकल महिला, दलित, जनजाति, महिला घरमुली भएका घरलाई प्रदान गरेको हो । आगामी आव २०८३–०८४ मा थप १२ सय घरधुरीलाई वितरण गर्ने गरी १० लाख बजेट विनियोजन गरिएको योजना शाखा सहायक तथा वैकल्पिक ऊर्जा कार्यक्रम फोकल पर्सन थापाले जनाइन् ।
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण गर्दा स्थानीय बासिन्दाहरूलाई, विशेष गरी ग्रामीण क्षेत्रका महिलाहरूलाई धेरै ठूलो राहत पुगेको खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर विकले बताए । सुधारिएको चुलोले कम दाउरामा छिटो खाना पकाउने हुनाले दाउरा संकलन गर्ने समय र श्रम दुवै जोगिने अध्यक्ष विकले उल्लेख गरे ।
वातावरण संरक्षणसँगै दाउराको खपत कम हुँदा वनजंगल फँडानी रोक्न र वातावरण सन्तुलन राख्न मद्दत पुग्ने अपेक्षा पालिकाले लिएको खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले जनाइन् । स्थानीय सरकार र सरोकारवाला निकायको यस्तो कदमले समुदायको स्वास्थ्य र वातावरण दुवैमा दीर्घकालीन रूपमा राम्रो प्रभाव पार्ने स्थानीय बनाउँछन् ।









प्रतिक्रिया दिनुहोस्