संस्कृति संरक्षण गर्न ‘कर्णाली दोहोरी घर’



कोहलपुर : बाँकेको कोहलपुर नगरपालिकामा कर्णाली दोहोरी घर स्थापना गरिएको छ । लोक दोहोरी गीतमार्फत नयाँ प्रतिभा स्थापित गर्ने र संस्कृति संरक्षण गर्ने उद्देश्यले दोहोरी घरको स्थापना गरिएको हो । बाँके जिल्लामा रहेका संस्कृतिप्रेमीहरुको सक्रियतामा भर्खरै स्थापना भएको कर्णाली दोहोरी घरले पहिलो चरणमा जनचेतनामुलक लाइभ दोहोरी कार्यक्रमको आयोजना गरेको छ ।

 

सोमबार एक कार्यक्रमका बीच दोहोरी घरको वरिष्ठ गायक कमल विक निर्मोहीले उद्घाटन गरेका हुन् । उक्त अवसरमा बोल्दै उनले कर्णाली र सुदूरपश्चिम क्षेत्र संस्कति र लोकगीतको धनी क्षेत्र भएपनि यसको संरक्षण र प्रवद्र्धनमा पछि रहेको बताए । राज्य समेत कर्णाली क्षेत्रको लोकसंस्कृतिलाई ध्यान नदिइरहेको बेलामा व्यक्तिगत पहलमा दोहोरी घर खुल्नु सकारात्मक रहेको उनले बताए ।

‘२०५२ सालमा मैले नेपालगन्जमा दोहोरी घर स्थापना गरेको थिए । पछि मेरो जोगिरे जीवनका कारण बन्द गर्नुपर्ने भयो । लामो समयपछि दोहोरी घर खुल्दा एकदमै खुसी छु । यसलाई नयाँ प्रतिभा उत्पादन गर्ने थलोका रुपमा विकास गर्नुपर्छ,’उनले भने । वरिष्ठ संचारकर्मी समेत रहेका निर्र्माेहीले सांगितिक क्षेत्रमा लागेका व्यक्तिप्रति अहिले पनि हेर्ने नजर सकारात्मक नभएको भन्दै मिडियाले यस्ता विषयमा कलम चलाउनुपर्ने बताएका थिए ।

उक्त अवसरमा बोल्दै कर्णाली दोहोरी घरका अध्यक्ष बलबहादुर तामाङले कला क्षेत्रको संरक्षण र प्रवद्र्धन, पुराना तथा लोप हुँदै गएका संस्कृतिहरुको संरक्षण गर्ने आफ्नो संस्थाको उद्देश्य रहेको बताए ।
उनका अनुसार नयाँ प्रतिभालाई प्रोत्साहनका लागि सामाजिक कार्य समेत गर्ने योजना रहेको छ । पहिलो चरणमा समाजमा लुकेर रहेका प्रतिभाहरुलाई अवसर दिएर आठ एपिसोड लाइफ दोहोरी प्रसारण गरिने योजना रहेको उनले सुनाए ।त्यसपछि मानवीय कार्य समेत गरिने अध्यक्ष तामाङको भनाइ छ ।

 

प्रकाशित मिति : २०७९ साउन १७ गते मंगलबार