‘जनताले चाहेका योजना ल्याउनेछौं’



देशभरिका स्थानीय तहमा नयाँ जनप्रतिनिधि आएका छन् । स्थानीय तह निर्वाचन २०७९ मार्फत जनताद्वारा निर्वाचित भएर आएका जनप्रतिनिधि भर्खरै कार्यभार सम्हालेका छन् । नेतृत्व सम्हालेलगत्तै स्थानीय तह आगामी आर्थिक २०७९/०८० को लागि बजेट तथा योजना तर्जुमामा सक्रिय भइरहेका छन् । नयाँ कार्यकाल, जनप्रतिनिधिको दैनिकी र नयाँ बजेट तर्जुमाका विषयमा जिल्लाको बैजनाथ–३ का वडाध्यक्ष निखिल बैगारसँग मिसन टुडे दैनिकले गरेको कुराकानीको सम्पादित अंश ।


निखिल बैगार
वडा अध्यक्ष, बैजनाथ गाउँपालिका–३ नौवस्ता, बाँके

जनताद्धारा निर्वाचित भएर जनप्रतिनिधिको रुपमा दैनिकी कसरी चलिरहेको छ ?

म २०७९ को स्थानीय तह निर्वाचनमार्फत जनप्रतिनिधि निर्वाचित भएको छुँ । लोकतान्त्रिक प्रक्रियानुसार जनताले मलाई अनुमोदित गर्नुभएको छ । जनताले दिएको अभिमत र उनीहरुले लिएको आशानुसार काम गर्ने कार्यभार मलाई प्राप्त भएको छ ।

यसमा म सचेत छुँ । गम्भीर पनि छुँ । जनताको पक्षमा काम गर्दै आएको मलाई समयले यहाँसम्म ल्याइ पु¥याएको छ । नयाँ जोश र जाँगरका साथ काम गरिरहेको छुँ । आशा छ, वडा नम्बर ३ का जनताले हाम्रा राम्रा योजनालाई साथ दिने छन् । वडाको अभिभावकको हिसाबमा मैले बढी नै जिम्मेवारी बोध गरेको छुँ ।

वडा नम्बर ३ का समस्या र तपाईंका अबका प्राथमिकता के हो ?

बैजनाथ गाउँपालिकाका अन्य वडाभन्दा वडा नम्बर ३ विकट र ग्रामीण भेग हो । यहाँ थुप्रै कुराको समस्या छ । सुकुम्बासी र औद्योगिक क्षेत्र व्यवस्थापन यहाँको प्रमुख समस्या हो । स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रको विकास अहिलेको प्राथमिकता हो । हामीले चुनावमा समेत यी एजेण्डा बोकेका थियौं । सोहीनुसार अघि बढ्ने हो । तत्काल हामीले यहाँका स्वास्थ्य समस्या समाधानको बाटो रोजेका छौं ।

म निर्वाचित भएर आइसकेपछि पहिलो निर्णय नै वडा नम्बर ३ मा सहज स्वास्थ्य सेवा प्रवाह गर्ने तय भएको छ । सोहीनुसार वडावासी बिरामी पर्दा समस्या हुँदा स्वास्थ्य संस्थासम्म पु¥याएर ज्यान बचाउने उद्देश्यअनुरुपमा आउने साउन महिनासम्म वडामा एम्बुलेन्स खरिद गरिनेछ । वडामा बेरोजगारहरुको संख्या धेरै छ । त्यसैले कृषि क्षेत्रमार्फत स्वरोजगार सिर्जना गर्नेखालका कार्यक्रम हामी ल्याउँदै छौं ।

जनप्रतिनिधि र जनता जोड्न कृषकसँग पालिका अध्यक्ष र वडाध्यक्ष जस्ता नविनतम् कार्यक्रम सुरुवात भएको छ । यही क्षेत्रमा गौरवको आयोजना नौवस्ता औद्योगिक क्षेत्र रहेको छ । यसका थुप्र्रै समस्या अहिले पनि जीवित छन् । ती समस्या समाधानका लागि मेरो अघिकतम् प्रयास रहनेछ ।

नयाँ आर्थिक वर्ष आउँदैछ, टोलमा बजेटबारे छलफल सुरु भयो की भएन ?

भर्खर वडामा आएका छौं । कार्यभार सम्हालेको समेत धेरै भएको छ । अहिलेसम्म जनताका काम सहजरुपमा ग¥यौं । अब भने हाम्रो ध्यान वडाको पहिलो बजेट र योजना तर्जुमा छ । वडामार्फत टोलहरुमा योजना तर्जुमा बारे प्रारम्भिक छलफल सुरु भइसकेको छ । हामी भर्खरै प्रदेश सरकारसँग योजना माग गर्दै ध्यानाकर्षणमा गएका थियौं ।

प्रदेशका मुख्यमन्त्री तथा अन्यमन्त्रीज्यूसँग राम्रो भेटघाट भएको छ । केही योजना माग गरेका छौं । प्रदेश सरकारको बजेट तथा नीति तथा कार्यक्रमसमेत आउन लागेकोले हाम्रा योजना पनि पार्न सकिन्छ की भनेर गएका थियौं । हिजो मात्रै पालिकामा फर्कियौं अब केही दिनमा योजना तर्जुमा प्रक्रिया टोलहरुबाटै सुरु हुन्छ ।

लामो समयदेखि चर्चा र विवादमा रहेको नौवस्ता औद्योगिक क्षेत्रको समस्या समाधानका लागि तपाईंको भूमिका कस्तो रहन्छ ?

नौवस्ता औद्योगिक क्षेत्र खासगरी वडा नम्बर ३ र बैजनाथको भविष्यसँग जोडिएको विषय हो । यसको विवाद सुरुदेखि नै हुँदै आएको छ । २०७० सालदेखि नै विवाद सुरु भएको थियो, अहिले पनि आयोजना कार्यान्वयनदेखि मुआब्जा विवाद रहेको छ । यो विषयमा जनताको पक्षमा निर्णय हुनुपर्छ भन्दै लड्दै, संघर्ष गर्दै जनताका आवाज बोल्दै आएको व्यक्ति हुँ ।

सरकारले २०७१ सालमा औद्योगिक क्षेत्र घोषणा ग¥यो । यही समस्यालाई लिएर जनताको पक्षमा बोल्दै लड्दै गर्दा जनताले मलाई यहाँसम्म पु¥याएका छन् । औद्योगिक क्षेत्रभित्र परेको बस्ती र मानव विस्थापन रोक्ने र उनीहरुको सही व्यवस्थापन गर्ने मेरो मुख्य कार्यभार रहेको छ ।

मैले पहिलो कार्यपालिका बैठक र बाँके आयोजना प्रमुखसँग गम्भीरताका साथ कुरा उठाएको छुँ । क्षेत्र र जनताको समस्या समाधानको लागि म सचेत छुँ । नीति तथा कार्यक्रम र बजेटको कार्यक्रम सकिएपछि थप प्रक्रिया अघि बढ्ने छन् ।

अन्त्यमा, अहिले र ५ वर्षपछिको वडा नम्बर ३ कति विकसित होला के भन्नुहुन्छ ?

बैजनाथ–३ मा व्याप्त समस्या छन् । यो विकट क्षेत्रसमेत हो । यहाँ धेरै समस्याका चाङ छन् । जनताका आवश्यकता असीमित छन् । धेरै समस्या समाधान गर्नुछ । यहाँका नागरिकलाई लालपूर्जा वितरण गर्नुछ । स्वास्थ्य क्षेत्रको सुधार गर्नुछ । औद्योगिक क्षेत्रको समस्या समाधान गर्नुछ । शिक्षामा सुधार ल्याउनुपर्नेछ । यी सबै कुरा क्रमश गर्दै जाने छु ।

यस्ता काममा जनताले मलाई साथ दिने छन् भन्ने आशा र भरोसा रहेको छ । पक्कै पनि अबको पाँच वर्षमा वडा नम्बर ३ मा विकसित वडा हुनेछ । आजको भन्दा पक्कै फरक हुनेछ । म अन्तिम समयसम्म यहाँको विकासका लागि लागिपर्नेछुँ ।

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ २५ गते बुधबार