नेपाली कांग्रेस बाँकेका एक प्रभावशाली नेताका रुपमा रहेका छन् तप्त पौडेल । कांग्रेस बाँकेको निवर्तमान सचिव रहेका पौडेल राप्तीसोनारीमा रहेर यहाँको विकास निर्माणमा सक्रियरुपले अगुवाइ गरिरहेका व्यक्ति हुन् ।
यसपटक नेपाली कांग्रेसले पौडेललाई राप्तीसोनारी गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनाएको छ । पौडेलसँग उनको उम्मेदवारी र उनका योजनाबारे गरिएको कुराकानी:
तपाईंको उम्मेदवारी किन ?
राप्तीसोनारी गाउँपालिका मुलुकै सम्भावना बोकेको गाउँपालिका हो । यो गाउँपालिकामा यसअघिको निर्वाचनमा जितेर जुन विकासको रेखा कोरेको छ ।
त्यसलाई निरन्तरता दिन र राप्तीसोनारीको विकास समुन्नतिका लागि मेरो उम्मेदवारी हो । कृषि र अव्यवस्थित बसोबासीको व्यवस्थानका लागि, तटबन्धन, खानेपानी र कृषि उत्पादनलाई बजारसँग जोड्नका लागि मेरो उम्मेदवारी हो ।
तपाईका योजनाहरु के–के छन् ?
मेरो एजेण्डाभन्दा पनि नेपाली कांग्रेसले प्रतिबद्धतापत्र नै सार्वजनिक गरेको छ । हामीसँग राप्तीसोनारीको विकासको स्पष्ट खाका छ । उक्त प्रतिबद्धतापत्रमा हामीले कृषि, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाका धेरै विषय सार्वजनिक गरेका छौं ।
कृषिमा धेरै ठूला उद्योग होइन, कृषिलाई आधुनिकीकरण गर्दै उद्योगसँग जोडेर र यान्त्रिकरणसँग जोेडेर आर्थिक समृद्धिसँग जोड्ने हाम्रो योजना छ । शिक्षामा छात्रवृत्ति दिएर महिला, गरिब र जेहेन्दार बालबालिकालाई विद्यालयको पहुँचमा पु¥याउने र विद्यालयमै टिकाइराख्ने हाम्रो योजना छ ।
राप्तीसोनारी गाउँपालिकाको भूमिहीन र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्न, सीपमूलक शिक्षाको ग्यारेन्टीका लागि, यहाँ रहेको सांस्कृतिक विविधताको संरक्षण र प्रवद्र्धन गर्ने काम हाम्रो पहिलो प्राथमकितामा पर्दछ ।
शिक्षालाई गुणस्तरीय र प्रभावकारी बनाउन हामीले विशेष कार्यक्रम सञ्चालन गर्नेछौं । विद्यालयको भौतिक पूर्वाधार विकासको अहिलेको कामलाई थप व्यवस्थित बनाउँदै निरन्तरता दिनेछौं । सामाजिक सुरक्षा आवश्यक भएकालाई त्यसको प्रत्याभूति गर्नेछौं । युवालाई स्वरोजगारमा जोड्ने छौं । उत्पादनलाई बजारसँग जोडेर लैजाने हाम्रो रणनीति छ ।
योजनाहरु कसरी पूरा गर्नुहुन्छ ?
मतदाताले हामीलाई विजयी गराउनुभयो र म गाउँपालिका अध्यक्ष भएमा हामीले १५ वर्षको गुरुयोजना तयार गर्नेछौं । उक्त गुरुयोजनाअनुसार राप्तीसोनीको समृद्धिका निम्ति यहाँको विकासका विशेष जोड दिनेछौं ।
केन्द्रीय सरकार र प्रदेश सरकारसँग समन्वय गरेर काम गर्नेछौं । योजनाहरु पूरा गर्नका लागि यहाँ प्रशस्त स्रोतहरु छन् । नदीजन्य पदार्थका उचित प्रयोग गरेर त्यसलाई यहाँको विकासमा खर्च गर्ने हो । जनशक्ति र जनसमुदायको साथले नै हामीले आफ्ना प्रतिबद्धताहरु पूरा गर्ने छौं ।
तपाईंले जित्ने आधारहरु के–के छन ?
सबैभन्दा पहिला त नेपाली कांग्रेसका जनप्रतिनिधिले नेतृत्व गरेको राप्तीसोनारीमा भएका कामले नै हामीलाई जित्ने आधार बनाएको छ । लाहुराम थारुको नेतृत्वमा भएका कामहरुले जनताहरु हामीप्रति आकर्षित छन् । जनतामा नेपाली कांग्रेसप्रति विश्वास झन बढेको छ । दोस्रो नेपाली कांग्रेसको संगठन राप्तीसोनारीमा एकदमै बलियो बनेको छ । हरेक वडामा सशक्त संगठन छ ।
मैले हरेक मतदातालाई भेटेको छुँ । यहीका जनताका साथमा हरदम छुँ । कार्यकर्ताहरु दिनरात मलाई जिताउन खट्नुभएको छ । र अर्काेतिर नेकपा एमाले र माओवादीका उम्मेदवारहरुसँग काम गरेर देखाउन सक्ने आधार नै छैन । विगतमा उहाँहरुले अवसर पाएर पनि काम नगरेको इतिहास छ । यस कारण यसपटक मेरो जित निश्चित भइसकेको छ ।