रामदास थारु नेकपा एमाले राप्तीसोनारीका एक पुराना र निष्ठावान् नेताका रुपमा परिचित छन् । २०३२ बाट आफ्नो राजनैतिक यात्रा सुरु गरेका थारुले २०४४ सालमा वडाध्यक्षमा निर्वाचित भएर निर्वाचित जनप्रतिनिधिको रुपमा जनसेवा गरेका थिए ।
२०५४ सालमा गाविस अध्यक्षमा झिनो मतले पराजित भएका थारु अहिले राप्तीसानारी गाउँपालिकाको अध्यक्ष पदमा एमालेका तर्फबाट उम्मेदवार बनेका छन् । थारुसँग उनको उम्मेदवारी र उनका योजनाका बारमा गरिएको कुराकानी:
तपाईंको उम्मेदवारी किन ?
हामी नेकपा एमालेको कार्यकर्ता भएकाले मुलुकमा मात्रै नभइ राप्तीसोनारीमा पनि एमालेका उम्मेदवार विजयी भए भने राप्तीसोनारी जस्तो ठाउँमा धेरै काम गर्न सक्ने क्षमता भएको कारणले म यहाँ अध्यक्ष पदको उम्मेदवार छुँ ।
म राप्तीसोनारी मात्रै नभएर प्रदेश कमिटी सदस्यको हैसियतले पनि राप्तीसोनारीमा केही न केही गरेर देखाउने हरेक रुपले योग्य छु भन्ने हिसाब र विश्वासले जनताको चाहना चासो पूरा गर्न सक्ने भएकाले मैले उम्मेदवारी दिएको हुँ ।
तपाईंका योजनाहरु के–के छन् ?
राप्तीसोनारी गाउँ र कृषिले भरिएको स्थानीय तह हो । यो खेतीपातीदेखि पशुपालनका कुरालाई जोड दिने छौं । अघिल्लो पाँच वर्षको भन्दा धेरै राम्रो काम गरेर देखाउनेछौं । यस अवधिमा जे जति अन्याय भयो त्यसको अन्त्य गर्नेछौं । उदाहरणीय काम गर्नेतिर हाम्रो ध्यान जानेछ । कृषिलाई आधुनिकीकरण गरेर किसानको जीवनस्तर माथि उठाउने काममा हाम्रो जोड रहनेछ ।
भौतिक पूर्वाधारमा पनि हामीले धेरै राम्रो काम गर्न सक्छौं भन्ने उदाहरण देखाएका छौं । गाउँपालिकामा हामीले यसअघि दुईटा वडामा मात्रै जितेका थियौं । ती दुई वडामै हामीले राम्रो काम गरेर देखाएका छौं ।
सबैभन्दा धेरै बाटोघाटो बनेको हाम्रा साथीहरु विजयी भएका वडामै हो । त्यस कारण पनि हामी भौतिक निर्माणमा उदाहरणीय काम गर्न सक्छौं भन्ने आधार देखाइसकेका छौं ।
यसैगरी शिक्षा, सडकमा सबै क्षेत्रमा राम्रो काम गरेका हुँदा तीनै कामका आधारमा हामीले अब अरु वडामा पनि विकास निर्माणका कामलाई पनि उत्तिकै प्राथमिकताका साथ काम गर्ने छौं । शिक्षाको गुणस्तर सुधारका लागि पनि हामीले विभिन्न प्रभावकारी योजना ल्याएर काम गर्नेछौं ।
योजनाहरु कसरी पूरा गर्नुहुन्छ ?
आफ्ना योजना पूरा गर्ने कुरामा त हामीसँग रहेको साधनस्रोत प्रयोग र उपयोग गर्ने उपाय न हो ।
यसअघि पनि हामीले पाएको साधन स्रोतको प्रयोग गरेर राम्रो काम गर्न सकेका छौं भने अब गाउँपालिकाकै नेतृत्व गर्न पायौं भने सबै वडामा राम्रो काम गर्न सक्ने हामीसँग खुबी छ । यी दुई वडामा जस्तो विकास अरु वडामा पनि गर्न सकिन्छ भन्ने उदाहरण नै हामीले प्रस्तुत गरेका छौं ।
तपाईंले जित्ने आधारहरु के–के छन् ?
हामीले पाएको जिम्मेवारी पूरा गरेर देखाएको नै एक उदाहरण हो । हामीले अब एमालेले जित्नैपर्छ भन्ने अवस्था सिर्जना गरेका छौं । जनताहरु आकर्षित भएका छन् । त्यस कारण मैले जित्छु भन्ने आशा छ ।