‘राप्ती सोनारीमा सुशासन कायम गर्नु हाम्रो मुख्य एजेण्डा हो’: पट्टु थारु



राप्तीसानारी गाउँपालिका पट्टु थारु बाँकेका एक अग्रणी माओवादी नेता हुन् । उनी पहिलो संविधानसभाका सदस्य पनि हुन् । पट्टु अहिले माओवादी केन्द्रको तर्फबाट राप्तीसोनारी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार छन् । थारुसँग उनको उम्मेदवारी र योजनाका बारेमा गरिएको कुराकानी:

तपाईंको उम्मेदवारी किन ?

हाम्रो राप्तीसोनारीको विकास, समृद्धि र सुशासन कायम गर्नको लागि मेरो उम्मेदवारीको आवश्यकता छ । हामीले विकासका लागि आन्दोलन गर्दै आएको, देशमा परिवर्तनका लागि आन्दोलन गरेको हो ।

हिजो हामीले आन्दोलन गरेर राजतन्त्र फाल्यौं, गणतन्त्र ल्यायौं, संघीयता ल्यायौं । यी सबै एजेण्डा हाम्रा हुन् । तर हामी नेतृत्वमा नहुँदा सोचेको जस्तो विकास हुन सकेन । त्यसै कारणले मैले उम्मेदवारी दिएको हुँ ।

तपाईंका मुख्य योजनाहरु के–के छन् ?

सबभन्दा पहिला त सुशासन कायम गर्नुपर्छ भन्ने हाम्रो एजेण्डा हो । कुशासन र भ्रष्टाचारको अन्त्य गर्ने । त्यसपछि यहाँ रहेका सुकुम्बासी र अव्यवस्थित भूमिहीनहरुको व्यवस्थापन गर्ने हाम्रो मुख्य एजेण्डा हो ।

हामी लालपुर्जाविहीन जनतालाई लालपुर्जा वितरण गर्छाैं । किसानहरुको पनि धेरै समस्याहरु छन् । कृषिमा आधुनिकीकरण र व्यवसायीकरण गर्ने हाम्रो योजना छ । पूर्वाधारमा पनि गाउँपालिकाभित्रका सडकहरु पिच गर्ने हाम्रो योजना छ । पर्यटकीय सम्भावनाको प्रवद्र्धनमा पनि धेरै काम गर्नुपर्ने छ ।

शिक्षाको क्षेत्रमा पनि प्राविधिक शिक्षाको व्यवस्था लागू गर्ने छौं । शिक्षामा जुन किसिमको व्यवस्थापन हुनुपर्ने हो त्यो हुन सकेन । त्यस कारण शिक्षाका पूर्वाधारहरु विकासको काम नयाँ ढंगबाट लैजानुपर्छ । त्यसपछि मात्रै हाम्रो गाउँपालिकाको विकास हुन्छ ।

योजनाहरु कसरी पूरा गर्नुहुन्छ ?

यसका लागि त हामी गाउँपालिकामा पुगिसकेपछि नीति निर्माणमा विशेष जोड दिन्छौं । स्थानीय सरकार भनेको त आफ्नै कानुन र नीतिमा चल्ने सरकार हो । कानुन र नीति बनाइसकेपछि हामी सोहीअनुसार प्रभावकारी ढंगले योजनालाई अघि बढाउँछौं । हामी अवैधानिक ढंगले कुनै काम पनि गर्दैनौं । केन्द्र सरकारमा पनि हाम्रै पार्टीको सरकार छ ।

माथिल्ला सरकारसँग पनि हामी कसरी सहयोग लिने भनेर पहल गर्छाैं । हामीले नसक्ने योजनाका लागि प्रदेश र केन्द्रबाट पनि पहल गर्छौं । केन्द्र र प्रदेशमा पनि म पहिले पनि सांसद भइसकेका कारणले पहुँच पनि राम्रो छ । मेरो कुरो सुनुवाइ पनि हुन्छ । त्यस कारण पनि यी काम गर्न मलाई अप्ठ्यारो छैन ।

तपाईंले जत्ने आधारहरु के–के छन् ?

विजय हुने आधार त जनताको माग नै हो । जनताहरु के भन्छन् भने माओवादीले नजितेसम्म हाम्रो विकास हुँदैन । त्यसमा पनि पट्टु थारु नै जित्नुपर्छ भनेर जनताले भनिराखेको अवस्था छ । सबैले समर्थन गरिरहेको अवस्था छ । योभन्दा पहिला पनि मैले धेरै काम गरेको छुँ । सुकुम्बासीहरुलाई लालपुर्जा दिलाएको छुँ । कमैयाहरुलाई लालपुर्जा दिलाएको छुँ ।

किसानहरुको समस्या हल गर्न सहयोग गरेको छुँ । सबै विकास निर्माणका काममा मैले प्रत्यक्ष अगुवाइ गरेको छुँ । सबै जनतासँग मेरो राम्रो सम्बन्ध छ । सहजरुपले आफ्ना कुरा राख्न पनि सजिलो हुने भएकाले जनताले मलाई नै मत दिन्छन् र मैले जित्छु भन्ने पूर्ण आशा छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ वैशाख २७ गते मंगलबार