नेपालगन्जमा कन्या माविको भवन उद्घाटन



नेपालगन्ज : नेपालगन्ज वडा नम्बर ४ स्थित नेपालगन्ज कन्या माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाको एक करोड ९० लाख रुपैयाँ लागतमा बनेको भवनको उपमहागरपालिकाका मेयर डा. धवलशमशेर राणाले एक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन् ।


विद्यालयमा आयोजित एक कार्यक्रमका बीच भवनको उद्घाटन गर्दै मेयर राणाले उपमहानगरपालिकाले मधेसी तथा मुस्लिम समुदायका छोरीहरुको शिक्षाका लागि प्रशस्त लगानी गरेको बताए । उनले अब नेपालगन्जमा सुरक्षित वातावरणमा गुणस्तरीय शिक्षा प्राप्त गर्ने कन्या विद्यालय स्थापित भइसकेकोले यसको सदुपयोग गर्न अभिभावकहरुलाई आग्रह गरे । यसका साथै उच्च शिक्षाका लागि छात्रा कलेज निर्माण भइ अब सञ्चालनको अन्तिम तयारीमा रहेको उनले जानकारी दिए ।

सुरुमा दुई करोड ४९ लाख लागत स्टिमेट गरिएको भवन अन्तमा एक करोड ९० लाखमा जय दुर्गे महाकाली नामक निर्माण कम्पनीले निर्माणको जिम्मा लिएको थियो । भवन उद्घाटन कार्यक्रममा नेपालगन्ज वडा नम्बर ४ का अध्यक्ष सफिक बेहनाको पनि उपस्थिति रहेको थियो । यसैबीच सोही कार्यक्रममा विद्यालयका कक्षा ९ का विद्यार्थीहरुले कक्षा १० का विद्यार्थीहरुलाई बिदाइ पनि गरेका छन् । एसईई दिएर जान लागेका उनीहरुलाई कक्षा नौका विद्यार्थीहरुले बिदाइ गरेका हुन् । विद्यालयबाट यस वर्ष पहिलो ब्याचले एसईई दिँदै छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ चैत ३ गते बिहीबार