सुर्खेत विमानस्थल विस्तार नहुने



सुर्खेत ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको सुर्खेत विमानस्थल विस्तार नहुने भएको छ ।

विगत चार वर्षदेखि सुर्खेत विमानस्थल विस्तारका लागि भन्दै बर्सेनि बजेट विनियोजन गर्दै आएको प्रदेश सरकारले नयाँ विमानस्थल निर्माणभन्दा महँगो हुने भएकाले विमानस्थल विस्तारको काम रोक्ने भएको हो ।

सुर्खेत विमानस्थल विस्तारका लागि कम्तिमा पनि नौ अर्ब लाग्ने देखिएपछि सरकारपछि हटेको छ । विभिन्न राजनीतिक दाँउपेचमा फसेको कर्णाली प्रदेशको सबैभन्दा ठूलो एयरपोर्ट विस्तार नहुने निश्चित भएको छ ।

विमानस्थल विस्तार नहुने भएपछि यसअघि रोकिएका जग्गाहरु फुकुवा हुने भएका छन् । ‘विमानस्थल विस्तार गर्दा जग्गा अधिग्रहणमा नै धेरै रकम जाने देखियो,’ मुख्यमन्त्री जीवनबहादुर शाही भन्छन्, ‘यसलाई विस्तार गर्नभन्दा पनि नयाँ विमानस्थलका लागि जग्गा खोज्ने र नयाँ निर्माण गर्दा सस्तो पर्ने देखिएकाले हाल विमानस्थल विस्तारको योजना रोकिएको हो ।’

यसअघि सरकारले विमानस्थल फिनिसिङ लाइनदेखि उत्तरतर्फ ६ सय मिटर, दक्षिण तर्फ ४ सय मिटर, पूर्व तर्फ २५ मिटर र पश्चिम तर्फ २ सय मिटर क्षेत्रफलमा रहेका जग्गाहरुको लगत कारोबार रोक्का गरेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७८ फागुन २५ गते बुधबार