सुर्खेत विमानस्थल बन्द हुँदा यात्रुलाई सास्ती



सुर्खेत ।

सुर्खेत विमानस्थलमा धावन मार्ग मर्मतका लागि बन्द हुँदा यात्रुहरुलाई समस्या भएको छ । मंसिर १० गतेदेखि धावनमार्ग विस्तार, मर्मत र ओभर–ले गर्न विमानस्थल बन्द गरिएको थियो ।

विमानस्थल पुस ५ गतेसम्मका लागि विमानस्थल बन्द हुने छ । धावनमार्ग मर्मतका लागि उडान नहुँदा सुर्खेत–काठमाडौं र साविकको कर्णालीका हुम्ला, जुम्ला, मुगु र डोल्पामा हुने उडानहरु ठप्प भएका छन् ।

सुर्खेत नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत ध्रुव पाण्डेले धावनमार्ग मर्मतको काम द्रूतगतिमा भइरहेको बताए । ‘तोकिएको समय अगावै धावनमार्ग मर्मत, विस्तार र ओभर–लेको काम सक्ने लक्ष्य राखेका छौं,’ उनले भने, ‘प्रदेशबाट राजधानी जोड्ने एक मात्रै विमानस्थल भएकाले पनि द्रूतगतिले काम भइराखेको छ ।’

सुर्खेतबाट बुद्ध एयरले दैनिक एक उडान भर्दै आएको थियो भने सीता एयर, समीट एयर र तारा एयरले दैनिक १० भन्दाबढी उडानहरु हुम्ला, जुम्ला, डोल्पा र मुगुमा भर्दै आएका थिए । ‘हिमाली तथा पहाडी जिल्लाहरुका नागरिकहरु तराई झर्ने समयमा उडान रोकिँदा यो क्षेत्रका नागरिकहरु मारमा परेका छन् ।

नागरिक उड्ययन प्राधिकरणले धावनमार्गभित्र पाँच–६ ठाउँमा खाल्डा परेकाले विमान उडान तथा अवतरणका बेला जोखिम थियो । प्राधिकरणले धावनमार्गमा खाल्डा परेको ठाउँमा भत्काएर कालोपत्रे गर्नुका साथै बाँकी ठाउँमा ओभर–लेको काम गर्नेछ ।

सँगै धावनमार्गको दायाँ र बायाँतर्फ २.५ मिटर थप कालोपत्रे गर्नेछ । ‘सेन्टरलाइन ओभर–ले र खाल्डा परेको ठाउँ कालोपत्रे हुने बित्तिकै दिउँसोको समयमा विमानस्थल सुचारु गर्ने तयारी हामीले गरेका छौं,’ पाण्डेले भने, ‘दायाँबायाँतर्फको कालोपत्रेको काम विमानस्थल सुचारु भएपछि पनि गर्न सकिन्छ ।’

सुर्खेत विमानस्थलको धावनमार्गको लम्बाइ १२ सय ५५ मिटर हो । विमानस्थलमा हवाइजहाज नचले पनि हेलिकोप्टरमार्फत उद्दार उडान भने भइरहेको छ । ‘बिरामीको उद्दार तथा कर्णालीमा खाद्यान्न ढुवानीका लागि हेलिकोप्टर सञ्चालन भइरहेका छन्,’ उनले भने, ‘तोकिएको समय अगाबै विमानस्थल खुलाउने लक्ष्यअनुसार काम गरिरहेका छौं ।’

प्रकाशित मिति : २०७८ मंसिर १४ गते मंगलबार