सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने भएका छन् । शाही १६ कार्तिकमा मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएको एक महिनापछि मुख्यमन्त्री उनले विश्वासको मत लिने भएका हुन् ।
मुख्यमन्त्री शाहीको विश्वासको मत परीक्षणका लागि मंसिर १४ गते प्रदेश सभाको बैठकको आह्वान गरिएको हो । प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्री शाहीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा अधिवेशन आव्हान गरेका छन् ।
१४ गते दिउँसो १ बजे बैठक बोलाइएकाले उपस्थितिका लागि सबै सदस्यलाई सूचित गरिएको प्रदेशसभा सचिवालयका निमित्त सचिव तेजप्रकाश जोशीले बताए । मुख्यमन्त्री भएको लामो समयसम्म पनि शाहीले मन्त्रीमण्डललाई पूर्णता दिन सकेका छैनन् ।
मुख्यमन्त्री भएको १४औं दिनमा नेकपा (एकीकृत समाजवादी)का चन्द्रबहादुर शाहीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गरेका थिए ।
शाही मन्त्री नियुक्त भएपनि सत्ता साझेदार दलहरुबीच मन्त्रालय बाँडफाडका बिषयमा कुरा नमिल्दा मन्त्रीमण्डल विस्तार हुन सकेका छैन । माओवादी केन्द्र, कांग्रेस र एकीकृत समाजवादीको सत्ता गठबन्धन रहेको कर्णाली प्रदेश सरकारमा माओवादीले चार र एकीकृत समाजवादीले तीन मन्त्रालय माग गरिरहेका छन् ।
मुख्यमन्त्री शाहीले मुख्यमन्त्रीसहित चार मन्त्रालय कांग्रेससँगै राख्न खोजेका छन् भने माओवादीले सबैभन्दा ठूलो दल भएका कारण चार मन्त्रालय माग गरिरहेको छ । एकीकृत समाजवादीले विगतको सम्झौताअनुसार तीन मन्त्रालय दाबी गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्