सल्यानबाट दाङ आउँदै गरेको बस दुर्घटना, उद्दार कार्य जारी



सल्यान ।

सल्यानबाट दाङको तुलसीपुर आउँदै गरेको बस आइतबार बिहान दुर्घटनामा परेको छ। सल्यानको दुलधारा पोखरा खलंगा हुँदै तुलसीपुर आउँदै गरेको बस खारखोलानजिकै दुर्घटनामा परेको हो।

सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले आफ्नो टोली उद्धारका लागि दुर्घटना स्थलतर्फ जान लागेको र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बताए।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलले एउटा एम्बुलेन्समा राखेर घाइतेहरूलाई श्रीनगर पुर्‍याइएको जानकारी दिए।

‘घाइते धेरै छन् भन्ने कुरा आएको छ,’ पौडेलले भने, ‘एम्बुलेन्सको कमी भएको छ।’ उनले प्रहरीले खोजेर थप तीन वटा एम्बुलेन्स घटनास्थलतर्फ पठाएको बताए।

‘घटनास्थलमा फोन नै लाग्दैन। बसको नम्बर पनि खुलेको छैन,’ प्रहरी निरीक्षक पौडेलले भने, ‘थप विवरण आउन बाँकी नै छ।’

  • No tags available
प्रकाशित मिति : २०७८ कात्तिक २१ गते आइतबार