कहाँ हरायो खजुरा चिनाउने ‘खजुर’ र ‘खजुरो’



खगेन्द्र दाहाल । खजुरा ।

बाँकेको खजुराको नामकरण नै एक कृषि वस्तुबाट आएको भन्ने पुराना खजुराका बासिन्दा बताउँछन् । पहिले जंगल नै जंगल रहेको खजुरामा ‘खजुर’का रुखहरू हुने गरेको खबर अझैपनि सुनिँदै आइएको छ ।

तर, अहिलेका पुस्ताले ति कुनै खजुरका रुखहरू देख्न पाइँदैन । खजुरा त एक सहर भैसकेको छ । ‘खजुर’ खान खजुराका जनताले बजारबाट किनेर ल्याउनुपर्ने अवस्था छ ।

केहिले ‘खजुर’ खजुरामा नभएर कसैले गफ लगाउन गरेको कुरा भएको पनि बताउँछन् । यता ‘खजुर’लाई फलफूलको रुपमा चिनिन्छ ।

‘खजुर’ गर्मीमा हुने फल भएकाले पनि बाँकेको खजुरा गर्मी धेरै हुने स्थानका रुपमा पनि चिनिने हुदाँ उक्त फलको रुख भएको हुनसक्ने खजुराका अगुवाहरू बताउँछन् । ‘खजुर’ फल विशेषगरी खाडी मुलुक साउदी अरब, कतार दुबई जस्ता देशमा अत्यधिक रुपमा पाइन्छ । नेपालमा यसको उत्पादन खासै भएको पाइँदैन ।

‘खजुर’को बारेमा नेपालमा भएको छ छैन भनेर खोज्दा पनि पाउन मुस्किल पर्ने गरेको छ । खजुरा र कृषिको महत्वपुर्ण सम्बन्ध रहेको ‘खजुर’ले पनि चिनाउँछ । हालै खजुरा गाउँ पालिका कार्यालयले एक डायरी प्रकाशन गरि ‘खजुर’ खजुरामै रहेको भनि देखाउन खोजेको छ ।

गाउँ कार्यपालिकाको कार्यालयले प्रकाशन गरेको डायरीमा लेखेको छ, ‘खजुरा बजार अवस्थित रहेको स्थानमा खजुर भन्ने विरुवाहरू जंगल थियो सोहि फडानी गरी बस्ती बसेको र सोहि नामबाट खजुरा नामकरण भयो ।’ उक्त डायरीमा खजुरा बजारस्थित गाउँपालिका रहेको तथा चर्चित नाम रहेकोले सोही नामबाट खजुरा गाउँपालिका राखेको पाइन्छ भनेर उल्लेख गरिएको छ ।

खजुरा र खजुर अनि खजुरी मिल्ला जुल्दा नामहरू हुन् । कतिपयले खजुरामा खजुर पाइन्थो भनेर भन्दै आएका छन् भने कतिले ‘खजुर’ । यि ‘खजुर’ र खजुरी फल खानका लागी भने निकै स्वादिलो हुन्छ । खजुरामा पहिले हुने भनिएको खजुर अहिले कतै पनि देखिँदैन । खजुर गर्मी हुने स्थानमा हुने भएकाले खजुरालाई चिनाउने फलको बोट ल्याएर पुनः लगाउने कि भन्ने इच्छा खजुरेली जनताको मनमा नआएको पनि होइन । तर, यसको विरुवा कहाँ पाइन्छ यसको पत्तो भने लगाउन मुस्किल नै छ ।

कृषिको विषयमा अध्ययन गरेकाहरूले पनि नेपालमा खजुरको बोट भएको भन्ने पढ्न नपाएको बताउँछन् । यता खजुरामा खजुर हुन्थ्यो रे भनेको सुन्दा ति कृषिका विद्यार्थीहरू, कृषि पढेर कृषिका कुरा पढाएर जिवन बिताएकाहरू भने यो कुरा सुन्दा अचम्मित छन् ।

कृषि अनुसन्धान निर्देशानालय खजुराका वरिष्ठ वैज्ञानिक बसन्त चालिसेले खजुरको बारेमा नेपालमा यसको उत्पादन हुने भनेर कतै उल्लेख गरेको नभेटिएको बताए । वरिष्ठ वैज्ञानिक चालिसेले भने, ‘हामीले पढ्दा खजुर दुबै, कतार, साउदी अरब जस्ता मरभूमि हुने देशहरूमा यसको फल पाइने गरिएको, यसमा आइरन, मिनिरल, क्याल्सियम, अमिनो एसिड र फस्फोरस जस्ता भिटामिन अत्याधिक मात्रामा पाइने जानकारी मिलेको छ ।’

‘खजुरो किरा’ बाट खजुरा

खजुरा क्षेत्रमा बस्ती बस्नु अगाडि घना जंगल थियो । जंगलका छेउछाउमा तरार्ईबासी र केही थारुहरूको समेत बस्ती रहेका थिए । नेपाली प्राविधिकहरूले वस्तीको नक्सांकन गर्न नसकेपछि ईजरायली प्राविधिकहरूले यस क्षेत्रको नक्सांकन गरेका थिए । जग्गा पाउँदा यहाँका बासीन्दाहरूले घना जंगल फडानी गरेर आफ्नो बस्ती बसालेका थिए ।

घना जंगल फडानी गर्दा खजुरो भन्ने किरा धेरै लाग्ने भएकाले पनि कतिपयहरू खजुरो किराका कारण खजुरो खजुरो भन्दै गर्दा खजुरा भएको बताउने गरेको खजुराका अग्रज पत्रकार शरण कर्माचार्य बताउँछन् । त्यहि घना जंगल फडानी गर्दा खजुरो किराले टोक्ने गरेका कारण कतिपयहरू त जंगल देखेपछि जग्गानै नलिएर फर्केको पनि केहि सञ्चार माध्यमले अनलाइनहरूमा लेखेको पाइन्छ ।

दिउसै जंगली जनावर भेटिने जंगल फडानी गरी बस्ती बसाल्दाको स्मरण गाउँलेहरूले मानसपटलमा अझै पनि ताजै छ । अहिले ‘खजुरो किरा’ खजुरामा भेटिँदैन । नयाँ पुस्ताले पहिले प्रसस्त पाइने ‘खजुरो किरा’ देख्न त के सुन्न पनि पाएका छैनन् । कहाँ गए त ति ‘खजुरो किरा’हरू भन्ने खोजको विषय बनेको छ । कस्तो कुन रंगको थियो थियो भन्ने नै कसैले एकिन गर्न मुस्किल छ ।

कस्ले खोज्ने ‘खजुर’ र ‘खजुरो’ लाई ?

खजुरा एक ऐतिहासिक स्थान हो । खजुरा अहिले पनि कृषि उत्पादनका दृष्टिकोणले जिल्लामै परिचित छ । यसको इतिहास पनि कृषिबाटै जोडिएको र वर्तमानमा पनि कृषि रहिरहेको महत्वपूर्ण स्थान नै खजुरा हो । खजुराको आफ्नै स्थानीय सरकार छ । स्थानीय सरकारले खजुरालाई चिनाउन थुप्रै काम पनि गरिरहेकै छ ।

इतिहास जोगाउन खजुराले ति पुराना जुन खजुराका लागि अति महत्व बोकेका छन् तिनिहरूको खोजी गरी खजुरामा स्थापित गर्न आवश्यक रहेको छ । खजुर फल खजुरामा हुन्छ भने, कहिबाट भए पनि खोजेर किनेर ल्याएर सडक छेउछाउमा लगाउँदा सुन्दरतामा निखार आउनका साथै खजुरा चिनाउने एक महत्वपूर्ण कडि हुने थियो । यसमा स्थानीय सरकारले नै अग्रसरता देखाउन आवश्यक छ । हुन त कतिपयले यो खजुर, खजुरो किन चाहियो भन्ने प्रश्न गर्ने गरेका छन् ।

आफ्नो ठाउँको इतिहासको खोजी गर्नु त्यस स्थानमा रहेको सरकार, नागरिक सबैको बराबर दायित्व रहने गरेको हुन्छ । खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति खजुराको पहिचान झल्कने, चिनाउने कुनै पनि वस्तुको संरक्षण गर्न पालिका कटिबद्ध रहेको बताउँछन् । अध्यक्ष कक्षपतिले खजुरा नाम रहन भूमिका खेल्ने किरा होस या फल यसको खोजीका लागि कसैले अग्रसर भएर लागेमा पालिकाले सहयोगी भूमिका निभाउने उल्लेख गरे ।

खजुरको विरुवा पाइए खजुरा बजारको मुख्य सडकमा यसलाई लगाइने पालिकाले जानकारी दिएको छ । खजुरालाई कृषिमा अघि बढाउनका साथै पर्यटकिय क्षेत्र बनाउन यसले महत्वपूर्ण भूमिका खेल्नेमा दुई मत नभएको खजुरा गाउँपालिका योजना अधिकृत दिलबहादुर केसी बताउँछन् ।

खजुरामा धेरै गर्मी हुने स्थानमा फल्ने नरिवल, सुपारी जस्ता फलहरू अझै पनि फलेको देख्न पाइने भएकाले खजुर पनि हुन सक्ने हुदाँ यसको विरुवा ल्याएर लगाउन सकिने कृषि विज्ञहरूले सुझाव दिएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ असोज १४ गते बिहीबार