कोहलपुर/ सञ्चारकर्मी अनुपासिंह राजवंशीको असामयिक निधन भएको छ । रेडियो हुँदै टेलिभिजन पत्रकारितामा सक्रिय अनुपाको सोमबार राति निधन भएको हो ।
पछिल्लो समय अनुपा उद्घोषण र मोडलिङ क्षेत्रमा पनि सक्रिय थिइन् । अनुपाको निधनसँगै बाँकेका सञ्चारकर्मीले सामाजिक सञ्जालमा स्तब्धता व्यक्त गरेका छन् । उनलाई श्रद्धाञ्जली दिनेहरुले घटनालाई अकल्पनीय, असामयिक भन्दै चीरशान्तिको कामना गरेका छन् ।
अनुपा केही समय अघि मात्रै वैवाहिक बन्धनमा बाँधिएकी थिइन् । सोमबार राति नेपालगन्ज नर्सिङ होम पु¥याइएकी अनुपालाई डाक्टरले मृत घोषणा गरेका थिए ।
अनुपाको शवलाई नेपालगन्जको भेरी अञ्चल अस्पतालमा पोष्टर्माटमपछि पुनः नेपालगन्ज मेडिकल कलेजमै राखिएको छ । उनका बाबु वैदेशिक रोजगारमा भएकाले बाबु नआउन्जेलसम्म शव मेडिकल कलेजमै रहने पारिवारिक स्रोतले जनाएको छ ।
यसैबीच नेपाल पत्रकार महासंघ बाँकेको टोलीले बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीलाई भेटेर अनुपाको निधन शंकास्पद रहेकाले अनुसन्धानको दायरा बढाउन अनुरोध गरेको छ ।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारुले राजबंशीको निधन शंकास्पद देखिएकोले अनुसन्धानको दायरालाई बढाएर लैजान प्रमुख जिल्ला अधिकारीसमक्ष अनुरोध गरे ।
जिल्ला प्रहरी कार्यालय बाँकेले अनुपाको मृत्युको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको जनाएको छ । अनुसन्धानको क्रममा केही व्यक्तिहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख टेकबहादुर तामाङले बताए ।









प्रतिक्रिया दिनुहोस्