25 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

कोहलपुरबाट लागूऔषध कारोबारी पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, पुस ४, २०७७  

कोहलपुर ।

बाँकेको कोहलपुर क्षेत्रबाट प्रहरीले विभिन्न प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले एनटिभी रोड क्षेत्रबाट विभिन्न लागूऔषधसहित बुधबार दुई जनालाई पक्राउ गरेको हो । छुट्टा छुट्टै समयमा लागूऔषध चरेश र ब्राउनसुगरसहित दुई जना पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक सोमराज बमले १ किलो ९ सय ग्राम लागूऔषध चरेशसहित एक जना पक्राउ परेको जानकारी दिए । कोहलपुर– ११ मा रहेको एनटिभी नजिकैबाट लागूऔषध चरेश शरिरमा लुकाएर हिडिरहेको अवस्थामा खत्याड गाउँपालिका, २ मुगुका उमाकान्त कार्कीलाई पक्राउ गरिएको उनले बताए ।

‘शंका लागेर रातीको समयमा हिडिरहेका उनीलाई चेकजाँच गर्दा शरिरमा पोका पारेर बेरेरको अवस्थामा चरेश बरामद गरेका हौं’ उनले भने, ‘पहाडि जिल्लाबाट उनले चरेश भारत लिनको लागि ल्याएको खुल्न आएको छ ।’

त्यसैगरी बुधबार नै एनटिभी रोडबाट ठूलो परिमाणको लागूऔषध ब्राउनसुगरसहित प्रहरीले अर्का एक जनालाई पक्राउ गरेको छ । ४४ ग्राम ५२० मिलीग्राम लागूऔषध ब्राउनसुगरसहित एक पुरुष पक्राउ परेको प्रहरी निरीक्षक बमले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा कोहलपुर–१२ चप्परगौडिका ४५ वर्षिय इन्द्रमणी गौतम रहेका छन् ।

लागूऔषध ब्राउनसुगरको कारोबार भइरहेको गोप्य सूचनाको आधारमा पुगेको प्रहरीको लागूऔषध ब्यूरो र कोहलपुर प्रहरीको टोलीले उनीलाई ब्राउनसुगरसहित नियन्त्रणमा लिएको थियो । दुवैजनामाथि अदालतबाट म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

 

प्रकाशित मितिः शनिबार, पुस ४, २०७७     7:47:33 PM  |