सुर्खेत ।
रेड पाण्डाको छालासहित चार जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले नियन्त्रणमा लिएको छ । वीरेन्द्रनगर नगरपालिका– ८ खजुरास्थित होटल मानसरोवरको कोठा नम्बर ११५ बाट प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा कालिकोटको रास्कोट नगरपालिका– ८ का मनबहादुर बुढा, ठाँटिकाँध गाउँपालिका– १ का विष्णु रावत, नारायण नगरपालिका– १० का नरेन्द्र थापा र पूर्णबहादुर बस्नेत रहेका जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले बताए ।
‘सूचनाका आधारमा खानतलासी गर्दा खाटको सिरानीमुनि लुकाई छिपाई राखेको कालो रंगको हाते झोलाभित्र रातो खैरो रंगको रेड पाण्डाको छाला एक थान, मोबाइल ५ थान फेला परेको हो’ उनले भने ।
प्रारम्भिक अनुसन्धानमा चारैजनाले वीरेन्द्रनगरको एक स्थानबाट त्यहाँ ल्याएको र होटलसम्म ल्याएबापत जनही ५० हजार रुपैयाँ लिइसकेको अनुसन्धानबाट खुलेको छ । आवश्यक कारबाहीका लागि पक्राउ परेका सबै जनालाई डिभिजन वन कार्यालय सुर्खेतको जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्