शुभाकर विश्वकर्मा, कोहलपुर
शिकार नगरी मरेका जनावरको मासु अर्थात् सिनो खाएर वातावरण स्वच्छ, सफा र सन्तुलित राख्ने प्रकृतिको कुचीकारका रूपमा परिचित छन्, गिद्ध । गिद्धहरु मरेको जनावरहरुको सिनो खाएर बाँच्ने पंक्षीहरु हुन् । यिनीहरुले आफैं शिकार गर्दैनन् । गिद्धले हानिकारक किटाणु भएको सडेको मासु पनि पचाउन सक्छन् । पृथ्वीमा गिद्धको उपस्थिति हुनु स्वच्छ वातावरण संकेत समेत हो । धार्मिक र सांस्कृतिक महत्वसमेत रहेको गिद्ध पछिल्लो दुई दशकयता संकटासन्न अवस्थामा पुगेको छ ।
सन १९९० पछि (वि.स. २०४७) सालसम्म नेपालमा गिद्धको संख्या ५ लाख थियो । ठिक त्यतिबेला दक्षिणी छिमेकी भारतमा १६ करोड गिद्ध थिए । द स्ट्याटस अफ नेप्लिज वर्ड ः नेशलन रेड लिष्ट सिरिज २०१६ का अनुसार हाल नेपालमा अनुमानित २० हजार गिद्ध मात्रै पाइन्छन् । नेपालमा पाइने ८८६ प्रजातिका चरामध्ये एक प्रजाति हो,गिद्ध ।
विश्वभर गिद्ध २३ प्रजाति पाइन्छन् । दक्षिण एसियामा ९ प्रजातिका गिद्ध छन् र ती सबै अर्थात नौवटै प्रजाति नेपालमा पनि पाइन्छन् । डंगर गिद्ध, सानो खैरो गिद्ध, लामो ठुडे गिद्ध, सुन गिद्ध, सेता गिद्ध, हिमाली गिद्ध, राज गिद्ध, हाडफोर गिद्ध र खेरो गिद्ध नेपालमा पाइने गिद्धका प्रजाति हुन् । नेपालमा पाइने मध्ये डंगर, सानो खैरो, लामो ढुंडे र सुन गिद्ध अति संकटासन्न अवस्थामा छन् ।
संख्यात्मक रुपमा अनुमानित एक हजार देखि २ हजारको संख्यामा डंगर गिद्ध, हिमाली गिद्ध एक हजार, सेतो गिद्ध ३ सयदेखि एक हजारको संख्यामा रहेको नेपाल पंक्षी संरक्षणले जनाएको छ । संघका अनुसार सुन गिद्ध २ सयदेखि ४ सय, राज गिद्ध ६० देखि १ सय, हाडफोर गिद्ध ५ सय र सानो खैरो गिद्ध ५० देखि ७५ को संख्यामा छन् ।
अहिलेसम्म लामो ठूडे गिद्ध र खैरो गिद्धको संख्या एकिन हुन सकेको छैन । नेपालमा गिद्ध संरक्षणका लागि पञ्चवर्षीय गिद्ध संरक्षण परियोजना अन्तर्गत पछिल्लो १५ वर्षको नेपाल र भारतमा सबैभन्दा बढी पाइने डंगर गिद्धको संख्या भारतमा ९९.९ प्रतिशत र नेपालमा ९१ प्रतिशतले ह्रास आएको देखिन्छ । नेपालमा पाइने अन्य गिद्ध समेत ९५ प्रतिशतले लोप भइरहेका छन् ।
दक्षिण एसियाका नेपाल, बंगलादेश, पाकिस्तान र भारतमा गरिएको वैज्ञानिक अनुसन्धानले गिद्ध ह्रास हुनुकाु प्रमुख कारण पशु उपचारमा प्रयोग गरिने डाइक्लोफेनेक नामक औषधि भएको पुष्टि भएको छ । अनुसन्धानबाट भारतमा पहिलोपटक सन २००४ मा ८५ प्रतिशत गिद्धहरुमा भिसरल गाउट्( भित्री अंगहरुमा युरिक एसिडका पत्थर जम्मा हुने) भएको, मिर्गौलाले काम गर्न छाडेको पाइएको थियो ।
यस्तै मरेका गिद्धहरुमा डाइक्लोफेनेक पाइयो, सिधै डाइक्लोफेनेक खुवाइ परीक्षणमा गर्दा र डाइक्लोफेनेक खुवाएको पशुको मासु खुवाई परीक्षण गर्दा समेत गिद्ध मरे । नेपाल पंक्षी संरक्षण संघका परियोजना अधिकृत भुपाल नेपाली गिद्धहरुको मृत्यु र लोप हुनुको प्रमुख कारण नै डाइक्लोफेनेक औषधिको अनधिकृत प्रयोग नै भएको बताउँछन् ।
नेपालमा यसरी गिद्धको संख्या घट्न थालेपछि डाइक्लोफेनेक प्रयोगमा प्रतिबन्ध लगाएको छ । नेपाल सरकारको औषधि व्यवस्था विभागले २०६३ जेष्ठ २३ गते देखि लागू हुनेगरी पशुको उपचारमा प्रयोग, उत्पादन, बिक्री वितरण तथा आयातमा प्रतिबन्ध लगाइसकेको छ । यसको प्रयोग गरेको पाइएमा ३ वर्ष कैद र २५ हजार जरिवाना तोकिने कानुनी व्यवस्था छ ।
यी हुन् नेपालले गरेका प्रयास
उनका अनुसार नेपाल सरकारले गिद्ध संरक्षण कार्ययोजना २०१५–२०१९ लागु गरिएको छ । डाइक्लोफेनेकलाई पशुको उपचारमा प्रयोग,उत्पादन, बिक्रि वितरण तथा आयातमा प्रतिबन्ध लगाइसकेको उनले जानकारी दिए । गिद्ध प्रजनन केन्द्र(कृत्रिम बच्चा कोरल्ने स्थान) चितवनमा स्थापना गरिएको छ । पशु उपचारमा डाइक्लोफेनेक प्रयोग मुक्त जिल्ला घोषणा गरिएको छ ।
यसैगरी गिद्धका गुँड अनुगमन र गिद्धमा सेटलाई टेकिङ र रिलिज कार्य गर्ने काम भइरहेको छ । जटायु रेष्टुरेण्ट (सुरक्षित आहार केन्द्र) स्थापना, भेटेरीनरी अनुगमन, गिद्ध दिवस मनाउने, छात्रवृत्ति सहयोग, बासस्थान संरक्षण, जनचेतनामुलक कार्यएक्रम सञ्चालन र समुदायमा आयमुलक कार्यक्रम सञ्चालन गरिएको उनले बताएका छन् । ‘नेपालमा गिद्ध संरक्षणको अभियान चलिरहेको छ ।
थुपै्र प्रयास भइरहेका छन् । केही सकारात्मक लक्षण देखिएका छन्’, उनले भने । उनका अनुसार अझै पनि गिद्ध संरक्षणका लागि थुपै्र चुनौती समेत रहेका छन् । मानव डाइक्लोफेनेक चोरी छिपी पशुहरुमा प्रयोग हुन सक्ने, विषादीको गैरकानुनी प्रयोग, खानाको कमी र अभाव, बाँसस्थान विनास र विद्युतीय तार गिद्ध संरक्षणका चुनौतीका रुपमा रहेका छन् ।









प्रतिक्रिया दिनुहोस्