बसन्त आचार्य र सुरेश आचार्यसँग परिचय भयो २०५१ सालमा । नेपालगन्जको दुई नम्बर छात्रावासमा बस्थे दुबै जना । बसन्त खलङ्गा जुम्ला र सुरेश सिंजा जुम्लाका रहेछन् । दुबै फूर्तिला थिए । पातलो जिउडालका थिए । उनीहरूको नामले तानेन मलाई । जुम्ला भन्ने ठाउँले भने तानिछाड्यो । । धेरै सुनेको नाम थियो जुम्ला । तर माफ गर्नु होला मन नपरेको नाम थियो जुम्ला । जतिबेलासम्म उनीहरूसङ्ग घुलमिल भएको थिएन । कसैलाई हेप्नु पर्यो भने ‘कस्तो जुम्ली जस्तो’ भनेको धेरै पटक सुनेको थिएँ मैले । दुर्गमका कुरा गर्दा जुम्लाकै नाम लिन्थे नेताहरूले पनि । दुर्गमको उदाहरणमा सधैं जुम्ला कै नाम लिन्थे गुरुहरू पनि । नेपालगन्जको बसपार्कमा होस् वा होटलहरूमा जुम्लीहरूप्रति आफूलाई सभ्य भानाउन रुचाउनेहरूका असभ्य व्यवाहारहरूले जुम्लीप्रतिको हेराइ निकै साँगुरो बनेको रहेछ मेरो । यो कुरा धेरै पछि मात्रै थाहा पाएँ मैले ।
हुन पनि मैले चिनेका जुम्ली मैला कपडा लगाएका मात्रै हुन्थे । पछाडि झोला बोकेर काला पहाड जाँदै गरेका मात्रै थिए । बसपार्कमा गाडीवालाले झोला तानातान परेर पीडित बनेका मात्रै थिए । टाङ्गावालाहरूसङ्ग ‘भारू दस कि नेपाली दस’ भनेर विवाद गर्नेहरू नै थिए । वसन्त र सुरेशसङ्ग हात मिलाउँदै गर्दा मेरो नजरमा उनीहरू नै घुमिरहे । धेरै दिनसम्म मैले पनि उनीहरूलाई त्यही नजरले हेरेँ । कुनै महत्व नै दिइन । औपचारिकतामा सीमित रह्यो हाम्रो मित्रता ।
हामी एउटै कक्षामा पढ्थ्यौं । हामीहरूले पढ्ने विषय पनि एउटै थियो । दुबै छात्रावासमा पस्थे । मेरो पनि छात्रावासको बसाइ थियो । साँझ, बिहान, दिउँसो नचाहेर पनि भेट भइरहन्थ्यो । भागेर कतिदिन भाग्न सक्थें र ? वसन्त र सुरेश आँखा वरिपरि रहिरहे । एकदिन दुईदिन गर्दा गर्दै निजिकिनु पर्ने वाध्यता बन्दै जान थाल्यो । आनिबानी, शील स्वभावसङ्ग परिचित हुन थालियो । जतिजति दिनहरू बित्दै जान थाले उतिउति मैले उनीहरूलाई गरेको वेवास्थाले गिज्जाउन थाल्यो ।
वसन्त राम्रो परिवारका सदस्य रहेछन् । बाबु शिक्षक, एउटा दाइ व्यपारी, अर्को दाइ बैंकर । घरमा स्याउका बगान भएका । राम्रो आम्दानी भएका । कुनै कुराको कमी रहेनछ । जुम्लामा गनिएको परिवार । अभावमा हुर्किएको मलाई उनको सम्पन्नता देखेर लोभ लाग्ने गर्दथ्यो ।
बसन्तले कहिलै घमण्डले देखाएनन् । सुरेसले कहिल्यै फूर्ति लगाएनन् । दुःख सुखका साथी भए नेपालगन्ज क्याम्पसमा पढ्दासम्म । बाबागंजदेखि गगनगंजसम्म सङ्गै घुम्न गयौं हामी । पछिपछि त खाना खाने भान्सा र सुत्ने बिस्तारा पनि एउटै बन्न थाल्यो हाम्रो ।
‘जुम्ली पनि यस्ता हुन्छन् र ?’ मैले धेरै पटक आफैलाई गरेको प्रश्न हो यो । बसन्तका दाइ र दिदीहरूसङ्ग भेट भयो । उनीहरूले पनि माया गरे । ‘जुम्ला आउनु है’ भने । स्याउ र ओखरहरू पटक पटक खुवाए । उनीहरूका सङ्गतले जुम्ला ‘जाऊँ जाऊँ’ जस्तो लाग्थ्यो तर मेरो लागि सम्भव थिएन । गाडी चढ्ना डराउनु पर्ने आर्थिक अवस्थाको मलाई जहाज चढ्ने कुरा कल्पनाभन्दा टाढाको कुरा थियो ।
मैले कल्पना गरेको जुम्लामा सँधै हिउँ पथ्र्याे । आगो तापिरहनु पथ्र्याे । नुहाउनु र कपडा धुने कुरा कल्पनाभन्दा टाढाको थियो । पाखा र गोरु घुम्न नमिल्ने गह्राहरू थिए । बसन्तले एलवम देखाए । जुम्लाको खलङ्गा र सिंजा देखाए । फोटोमा देखिने धुमिल सिंजा र खलङ्गा उपत्यकाले जुम्लाको आकृति फरक रहेछ भन्ने लाग्यो । वसन्त र सुरेशसङ्ग भेट नभएको भए मेरो जुम्लाप्रतिको धारणा लामो समयसम्म उस्तै रहन्थ्यो होला ।
जुम्ला बाइसे चौबिसे राज्यहरूमा एउटा शक्तिशाली राज्य थियो । यही शक्तिले कर्णाली प्रदेशको समग्र क्षेत्रलाई जुम्ला भनेर चिनाउन सफल भयो । कालीकोट होस् वा मुगु, डोल्पा होस् वा हुम्ला । सुर्खेत जाजरकोट र दैलेखलाई जुम्लाले आफ्नो कब्जामा राखेको छ अहिलेसम्म पनि । कर्णाली प्रदेशबाट झरेकाहरू सबै जुम्ली कहलिन्छन् अनयका लागि । एउटा सभ्यता बनेर बसेको छ जुम्ली सभ्यता ।
गोर्खाली, स्याङ्जाली, झापाली र अछामीहरू जिल्लागत परिचय बनाउन सफल भएका नागरिकहरू हुन् । यिनीहरूभन्दा झनै दह्रो उपस्थिति र परिचय छ जुम्लीको । आफ्नै मौलिकता बोकेको छ जुम्ली सभ्यताले । सिङ्गो कर्णाली प्रदेशलाई नेतृत्व दिएको छ जुम्लाले । अहिले लाग्छ जुम्लाका नागरिकले जुम्ली भनेर परिचय गर्दा गर्भ गर्न सक्नुपर्छ ।
मैले वसन्त र सुरेशलाई सम्झिरहेँ कर्णाली यात्रामा । उनीहरूकै गाउँ ठाउँ रमाउँदा कसरी बिर्सन सक्थें र उनीहरूलाई ? जुम्ला ‘जाऊ जाऊ’ बनाउने उनीहरू नै त थिए । ऊ बेला जान सकिएन र पो त । अहिले म जुम्ला क्षेत्रमा छु तर साथीहरू छैनन् । झण्डै तीन दसक पहिला भेटिएका साथीहरू यतिबेला मेरो सम्पर्कमा पनि छैनन् । कहाँ छन् ? के गर्दै छन् ? मलाई थाहा छैन । सायद उनीहरूलाई पनि मेरो बारेमा थाहा नहुनसक्छ । न त उनीहरूले खोजे, न त मैले नै । अहिले केवल सम्झनाहरूमा मात्रै छन् वसन्त र सुरेशहरूका । हुन सक्छ कुनै दिन पृथ्वीले धुमाउँदा घुमाउँदै हामीलाई एउटै स्थानमा भेट गराउने छ ।
एउटा सपना थियो जुम्ला पुग्ने, कर्णाली घुम्ने । राराको पानीलाई शिरमा लगाउने । केही सुनेर र केही पढेर जानेको जुम्ला । नेपाली भाषाको उद्गम स्थल । पहिलो ऐतिहासिक शिलालेख भएको क्षेत्र । ‘नेपाल चिन्न कर्णाली घुम्नु पर्छ’ भन्छन् । नेपाल चिन्नकै लागि कालिकोट जुम्ला हुँदै मुगु राराको यात्रामा जाने निर्णयमा पुगेका थियौं हामीले ।
गोवाको भ्रमणमा रहेको बेला कृतिम आइसलेण्ड हेर्न पटक्कै मन लागेन । ‘सर्वोच्च हिमाल भएको देशको मान्छे हामी । कृतिम हिउँमा के खेल्नु ? कुनै बेला हिमाली क्षेत्रमा जाउँला र हिउँ खेलौला’ भनेर तर्किएका थियौँ उबेला । हिमाली क्षेत्रमा त पुग्ने भयौं तर हिउँ खेल्न पाइने नपाइने कुराको ज्ञान थिएन । हिउँ पर्छ थाहा थियो । हिउँ छ छैन थाहा थिएन हामीलाई ।
चैत्र मसाम्त २०७७ बिहान सात बजेबाट हाम्रो यात्रा कर्णालीतिर मोडियो । बर्दियाबाट आएको टिमसँग सुमित्रा न्यौपाने, म र छविलाल बराल कोहलपुर चौराहामा भेट भएका थियौँ । हामीसँग दुई वटा स्कार्पियो गाडीहरू थिए । गाडी चालक सहित सोह्र जनाको समूह थियो । एउटा गाडीका चालक कृष्ण बास्तोला थिए । अर्को गाडीका चालक जनक पौडेल ।
प्रत्येक वर्ष कतै न कतै घुम्न जाने कार्यक्रम बन्दै आएको थियो हाम्रो विद्यालयको । यसपटक कहाँ जाने सबै निर्णय भ्रमण समितिले गरोस् भन्ने चाहेका थियौँ । सजिलोको लागि तीन जनाको समिति थियो । कृष्ण पौडेललाई समितिको संयोजकमा चुनेका थियौँ । खप्तड, रारा वा पाथिभरा रोजाइमा परे । छलफलमा आए । एक हप्ताको समयको अनुमान गरियो । छब्बीस जना स्टाप रहेको हाम्रो विद्यालयका धेरै साथीहरू सुरुका दिनहरूमा भ्रमणका लागि तयार भए । जतिजति दिन नजिकिदै जान थाले भ्रमण जानेहरूको संख्या घट्दै गयो । कसैको के समस्या देखियो, कसैको के ।
तीनवटा गाडीको तयारी गरेका हामी झण्डै एउटा गाडीमा थन्किन पुगगेका थियौँ । फेरि सल्लाह भयो इच्छुकहरूले आ–आफ्नो परिवार लैजान सक्ने । अन्तिम दिनसम्म आइपुग्दा मसँगै मेडम सुमित्रा जाने भइन् । अर्जुन तिवारी सरसँग गीता तिवारी र छोरी एञ्जल तिवारी जाने भइन् । युवराज घिमिरे र इश्वरी घिमिरे तथा जितेन्द्र पौडेल र गीता पाठकको जोडी पनि तयार भयो । कृष्णप्रसाद पौडेल, कृष्णराज अधिकारी, प्रकाश अर्याल र छविलाल बरालले मेडमहरू नलाने भए । अनुज कुमार थारूले खै के गर्थे ? उनी कुमार नै थिए ।
‘एउटा गाडीमा जोडी भएकाहरू र अर्कोमा जोडी नभएकाहरू बस्ने’ योजना बनेको रहेछ । यो योजना प्रकाश अर्यालको रहेछ । सुरुमै उहाँहरूको योजना फेल खायो । म र सुमित्रा अलग अलग गाडीमा बस्यौँ । युवराज पौडेल पनि हामी बसेकै गाडीमा बस्नु भयो । यो गाडी महिलाबिहीन गाडी बन्यो । हुन त साथीहरूले सायद चाहेको पनि यस्तै थियो ।
युवराज घिमिरेको विषयमा लेख्न मलाई अलि गाह्रो भएको छ यतिबेला । यात्रामा सँगै थियौं हामी । नियात्रा लेख्दै गर्दा उहाँ हामी माझ हुनु हुदैन । चैत्र मसान्तमा हामी यात्रामा निस्किएका थियौं । वैशाख मसान्त कै दिन ठिक एक महिनामा उहाँलाई कोभिडले हामीबाट सधैंको लागि छुट्टाएर लग्यो । युवराज सरसँग बचेका भनेका यिनै स्मृतिहरू त हुन् अब । यो स्मृति अक्षरहरूमा कुदेर बस्ने छन् जीवनभर ।
बार्दिया राष्ट्रिय निकुञ्जको चिसापानी चेकपोष्ट पार गरेसँगै हामी उकालियौं पहाडतिर । बर्दिया र बाँके राष्ट्रिय निकुञ्जको सिमाना हुँदै हिडेको थियो हाम्रो बाटो पनि । चैत्रको महिना प्रायः डढेलोले वन सखाप बनाउने महिना । जङ्गलभरि डढेलो लागेर कुरुप बनाएको रहेछ वातावरणलाई । डढेलो रोक्नलाई ठूलै रकम निकासा हुन्छ होला सायद प्रतेक वर्ष । डढेलोले वन सखाप नबनाएको कुनै वर्ष हुदैन । सधैं हुन्छ वन विनाश । सधैं हताहत हुन्छन् जङ्गली जनावरहरू । समस्या समस्यामै रहन्छ समाधान कहिल्यै भएन ।
बबई पुग्दा आठ बजेको थियो । छिन्चुमा पुगेर चिया नास्ता खाने कुरा थियो । हाम्रो अगाडि हिडेको गाडी खोइ किन रोकियो ? हामीलाई थाहा भएन । सायद दिशा पिसावका लागि पनि हुन सक्थ्यो । हामीले सोच्यौं चिया नास्ता खाने सोच भएछ । कतै अडर थिएन । एउटै होटलमा भिडभाड र ढिला होला भन्ने पनि लाग्यो । प्रकाश, अनुज, जितेन्द्र र म प्रधान होटलमा छि¥यौंँ । शरण प्रधान राम्रो गजलकार थिए । चिनेजानेका गजलकार । परलोक भएको पनि पाँच सात वर्ष भइसकेछ । छोरा बुहारीले चलाएका रहेछन् प्रधान होटेल । पुडी तरकारी खायौँ । अरु साथीहरूले पूर्ववत सल्लाहलाई नै सिरोधार्य गर्नु भएछ । सुर्खेतको छिन्चु कुरेर बस्नु भएछ । तर छिन्चुमा नास्ता खाने मेसो नै मिलेन । भोकभोकै बिरेन्द्रनगर पुगे साथीहरू । ‘जसले हान्यो उसले जान्यो’ भने जस्तो भयो । हामीले नास्ता खाएर ठिक गरेछौं । बाटामा कतै मौका नै मिलेन नास्ता खान । एक बजेसम्म साथीहरू भोकले आकुलव्याकुल भइसकेका थिए । खाना खान हामी दैलेखको तल्लो डुङ्गेश्वर लोहरे खोलाको तिरमा पुगेका थियौं ।
खाना तयारी हुँदै रहेछ । हामी केही अगाडि पुग्यौं । गाडी राम्रो हो कि चालक राम्रा हामीलाई थाहा थिएन । हामी चढेको गाडीको गति तिब्र थियो । कृष्ण बास्तोला थिए चालक । धावक नामले जिल्लाभरि चिनिएका । पुराना आर्मी । जागिर छोडेर व्यवसायी बनेका । धावक नाम समाजले राखेको नाम थियो । २०५७ सालमा २१ वर्षको उमेरमा महाकालीको पानी बोकेर मेची नदीमा दौडेर मिसाएका थिए उनले । एउटा साहसिक व्यक्ति थिए उनी । त्यही समयदेखि धावक नामले परिचित थिए उनी । आर्मीमा भर्ती भए पछि दुई चारवटा राष्ट्रिय दौड प्रतियोगितामा भाग लिएर पुरस्कार पनि पाएका थिए । दुई दुई पटक शान्ति सेनामा परेपछि जागिरको अवधि नपुग्दै जागिर छोडेर पैसा कमाउने धन्दामा लागेका थिए । तीन चारवटा व्यवसाय आफै गर्थे । राष्ट्रिय खेलाडीलाई राष्ट्रले परिचालन गर्न सकेको भए पनि हुन्थ्यो भन्ने लाग्यो । खेलमा भविष्य देखेनन् । जागिरमा भविष्य देखेनन् र आए नाम कटाएर । थाले आफ्नै व्यवसाय । पैसा कमाउने धन्दा ।
हामी साथीहरूलाई कुरेर बसेका थियौं । त्यस्तै दस एघार वर्षका तीन जना नेपाली थर भएका केटाहरू हाम्रो अगाडि आए । गीत गाउन सुरु गरिहाले । माग्ने केटाहरूको चाला भन्ने लाग्यो । पैसा निकाल्ने बेलासम्म त सुन्नै पथ्र्यो मन नपरे पनि । स्वर मीठो थियो । नारायण गोपालको गीत पाए । उसो त नारायण गोपालका गीत मलाई खुब मन पर्छन् । एकछिन सुन्न मन लाग्यो । राम्रै लाग्यो । दस रुपियाँ निकालेको थिएँ । मन पग्ल्यो । बीस रुपिया थपिदिएँ । तीन जनालाई दश दश भाग लगाउन पनि सजिलो । केटाहरूले नाँच्ने र गाउने दुबै गरे । युवराज सरलेले साथमा साथ दिइरहनु भएको थियो । रमाउनु हुदो रहेछ सङ्गीतमा । कम्मर मर्काइ मर्काइ ताली बजाउनु भयो ।
बाटोभरि रमाइलो गर्नु भयो युवराज सरले । प्रकाश सर आफै गाउनुहुन्थ्यो । स्वर मीठो छ प्रकाश सरको । धावकको त कुरै गर्नु परेन । लोक गीतका पारखी नै थिए उनी । लोकगीतको भिडियोमा अभिनय गरिसकेका थिए । उनले अभिनय गरेको गीतले चर्चा पाएको थियो । लाख बढी दर्शक हेरिसकेका थिए । रमाइलो टिम थियो यो गाडीमा । हाँसी मजाक पनि चलिहाल्ने । गीत पनि गाइहाल्ने । जोकहरू पनि सुनाइ हाल्ने गरिरहेका थिए साथीहरू । अर्को गाडीमा यो सुविधा थिएन । अर्जुन सर र जितेन्द्र सर नाताले ज्वाइँ जेठान । ज्वाइँ जेठान के मजाक गर्नु ? के जोक हाल्नु ? मेडमहरू पनि सरहरू भएको ठाउँमा के ठट्टा गर्नु ? लाग्छ यात्राको मजा अर्को गाडीमा बस्ने सर मेडमहरूले लिनै पाउनु भएन ।
जनकको गाडी आउने बेलासम्म हामी गीतमा रमाइरहेका थियौं । केटाहरूले राम्रै गाए । मलाई गायक रामकृष्ण ढकालको याद आयो । सडक पेटीमा गाउने मान्छे ……. को फेला परेपछि कहाँबाट कहाँ पुगे । अर्को….. जन्मिएको भए यिनीहरुको प्रतिभाले पनि ठाउँ पाउथ्यो भन्ने लाग्यो । हुनत पछिल्लो समयमा युट्युवे पत्रकारहरूले कुनै कुनै ठाउँमा राम्रै गरेका छन् । सचिन, कमला, प्रिन्स, रविना जस्ता बाल कलाकारहरूलाई स्थापित गराइदिएका छन् । यिनीहरू पनि कसैको नजरमा परे भने कलाकार बन्न सक्थे भन्ने लाग्यो । हामीले भिडियो बनाएको देखेर भन्दै थिए ‘सर हामीलाई माथिसम्म पठाइदिनु ।’ उनीहरूको माथि सायद काठमाडौं भन्ने नै थियो ।
एक बजिसकेको थियो । भोक मज्जाले लागेको थियो । पुर्नेल गुराँस होटल डुङ्गेश्वरमा खाना खाना खायौं । हामी पुग्नु पर्ने नाङ्मा थियो । ‘नाग्मा त खोई मान्मासम्म त पुग्नु हुन्छ’ होटलवाला साहुले भने । त्यसैले पनि हामी हतारियौं । लोहरे खोलाको पुल तरेर रारा जाने मुख्य बाटो समात्यौं । कर्णाली प्रदेश घुम्न हिडेका हामी कर्णालीको तिरैतिर उकालिरह्यौं ।
बाटोको रमाइला दृश्यहरूले मन लोभ्याइरहेका थिए । कर्णालीको परिपट्टि अछाम पथ्र्याे सुदुर पश्चिम प्रदेश । हामी दैलेखमा थियौं । शुभ छेडामा । दैलेख हुँदै कालिकोट पुग्नु थियो । कर्णालीको तिरैतिर । पादुका खोला तरेर अगाडि बढेका थियौं । गाडीमा तेल सकिदै गरेको सङ्केत भयो । राकम पुगेर तेल राखौँला भन्ने थियो भएन । कर्णाली आयल स्टोर पादुकामा तेल हाल्यौं । हामी अघिअघि थियौं अर्को गाडी पछिपछि ।
राकम पुग्दासम्म तीन बजिसकेको थियो । बाटोमा देखिएका राता चट्टान र रातो माटोको विषयमा कुरा भयो । मकै छर्नलाई तयार पारिएका थिए बारीहरू । मलाई सानो छँदाको सम्झना भयो । डाँडाबारी भन्ने जग्गा थियो हाम्रो स्याङ्जा पञ्चमुलमा । अहिले त आफ्नो भन्न मिल्दैन । माटो पूरै रातो । मल हालेर कालो बनाए पनि अर्को साल राताको रातै हुन्थ्यो । जहाँ मकै र कोदो राम्रो हुन्थ्यो । तर मकै मुस्किलले बच्थ्यो । मकैले सुत्लो छोड्न थालेबाटै बाँदरहरू हुत्तैसी खेल्न आइपुग्थे । जोगाउनै कठिन । जे जति बचाएर ल्याउन सकिन्थ्यो नछिप्पिदै ल्याइन्थ्यो । पोल्यो, भुट्यो वा उसिन्यो जे गरे पनि हुने । काँचै खान पनि सकिने । चिनी जस्तै गुलिया । अति स्वादिष्ट । दैलेखको रातो माटोले गुलियो मकै दिन्छ कि दिदैन थाहा भएन ।
कर्णाली नदीले बनाएका राकमका सुन्दर फाँटहरूले हाम्रो मन लोभ्यायो । खोलाको किनार । पानी र घाँस दाउराको सहजता । खेतीपाती हुने फाँटहरू । नजिकै बजार । विद्यालय र अस्पताल जस्ता कुराहरूको सुविधा हुन्छ भने मानिसले किन गथ्र्याे र बसाइँसराइ ? राकामका मानिसहरू रहर गरेर सुर्खेत नझरे हुन्छ । कोहलपुर र नेपालगन्ज नपुगे हुन्छ जस्तो लाग्यो हामीलाई । राकमको आत्मियता र हावापानी कहाँ पाइएला सुर्खेत, कोहलपु र नेपालगन्जमा ?
कर्णाली एक तमासले सुसाइरहेको सुनियो । सायद सास फेरेको होला । हिमालका खबरहरू बोकेर तराई हिडे जस्तो । कर्णाली आपैmमा एउटा सभ्यता हो । कर्णालीबाट बिस्तारित भएको छ नेपाली भाषा र साहित्य । कला र संस्कृति । ब्राह्मण र क्षेत्रीहरूको पूर्खौली थलो यही कर्णालीको आसपास भएको इतिहासले बताउँछ । सुन्दरताको हिसावले मनमोहन छ कर्णाली । घुम्न र हेर्नु पर्ने स्थानहरू थुप्रै छन् कर्णालीमा । रारा ताल, शे–फोक्सुण्डो, नेपाली भाषा र सभ्यताको उद्गमस्थल जुम्लाको सिंजा उपत्यका, कालिकोटको रास्कोट, जुम्लाको पाण्डवगुफा, पञ्चदेवल, विश्वकै अग्लो मानिएको पाताल छहरा, डोल्पोको सदरमुकाम दुनै, कालिकोटको मान्मा बजार, जुम्लाको खलङ्गा, मुगुको गमगढी, हुम्लाको श्रीनगर, लिमी, हिमाली पठार क्षेत्र हिल्सा आदि । कर्णालीका प्रमुख पर्यटकीय स्थल हुन् यी ठाउँहरू । त्रमशः अर्काे हप्ता
प्रकाशित मिति : २०७८ जेठ २२ गते शनिबार
प्रतिक्रिया दिनुहोस्