8 December 2021  |   बिहिबार, मंसिर २३, २०७८

राष्ट्रिय जनमोर्चाले भन्यो : बजेट असंवैधानिक र अप्रजातान्त्रिक

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, जेष्ठ १६, २०७८  

काठमाडौं:  राष्ट्रिय जनमोर्चाले संसद विघटन गरेर निर्वाचन तोकिसकेको सरकारले पूर्ण बजेट ल्याउनु असंवैधानिक र अप्रजातान्त्रिक भएको बताएको छ ।

यसरी बजेट ल्याउनुलाई सरकारको स्वेच्छाचारी शैली भन्दै राष्ट्रिय जनमोर्चाले यसले गणतन्त्र, संविधान, कानुन, प्रजातान्त्रिक विधि र प्रक्रियाको उपहास गरेको टिप्पणी गरेको छ ।

‘चुनाव गराउने भनेर तिथिमिति समेत तोकिसकेको सरकारले पूर्ण बजेट पेस गर्नु भनेको आफ्नो पक्षमा चुनावी आधार तयार पार्नु हो ।

त्यो राज्यको सम्पत्तिको दुरुपयोग हो । त्यस प्रकारको कार्य संविधान र कानुनको विरुद्ध छ । त्यसैले त्यो असंवैधानिक पनि हो’ अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यो बजेटबाट आफ्नो प्रतिगमनकारी कदमलाई सही सिद्ध गर्ने र उनको चुनावी आधार बलियो बनाउने उद्देश्य लिएको केसीले टिप्पणी गरे ।

अहिले प्रधानमन्त्री ओलीको कार्यशैली र कार्यविधि नै देशको राजनीतिमा समस्या पैदा गराउने प्रवृत्ति बनेको भन्दै अध्यक्ष केसीले यसले जनआन्दोलन र जनसंघर्षले स्थापना गरेका मूल्य र उपलब्धिमाथि समेत गम्भीर संकट पैदा गराएको बताए ।

प्रकाशित मितिः आइतवार, जेष्ठ १६, २०७८     8:56:46 PM  |