19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

अर्थमन्त्री पौडेल भन्छन् : जेट सुनाउन मात्र ल्याएको होइन, कार्यान्वयन हुन्छ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, जेष्ठ १६, २०७८  

काठमाडौं : अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८र७९ को बजेट कार्यान्वयन हुनेमा शंका नगर्न आग्रह गरेका छन् ।

आगामी आर्थिक वर्ष २०७८र७९ का लागि सरकारले ल्याएको अनुमानित आय–व्यय बजेटका सम्बन्धमा आइतबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले कार्यान्वयन गर्ने योजना, प्रतिबद्धता र संकल्पका साथ बजेट आएको दाबी गरे ।

‘यो बजेट केवल सुनाउनका लागि होइन, कार्यान्वयन गर्नका लागि, बजेटमा उल्लेख गरिएका लक्ष्य हासिल गर्नका लागि ल्याइएको हो भन्ने म विश्वास दिलाउन चाहन्छु ।

कोभिड महामारीको नियत्रण रोकथाम र उपचारमा नै केन्द्रित हुनुपथ्र्यो र त्यसै अनुरुप बजेट केन्द्रित गरिएको छ । कोभिड १९ संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि प्रस्तुत गरिएका योजना कार्यक्रम कार्यान्वयन गर्छौं,’ उनले भने ।

मन्त्री पौडेलले अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने विषयमा बजेट केन्द्रित भएको र ती समस्या समाधानका लागि स्पष्ट योजना र दृष्टिकोणका साथ प्रस्तुत भएको बताए ।

आर्थिक क्षेत्रमा देखिएका चुनौतीको सामना गर्दै अर्थतन्त्रलाई पुरानै लयमा फर्काएर अर्थतन्त्र चलायमान बनाउदै समृद्धिको सपना साकार पार्ने प्रतिबद्धता पनि उनले जनाए ।

मन्त्री पौडेलले भोलिदेखि नै बजेट कार्यान्वयनका विषयमा छलफल अघि बढाउने र कार्यान्वयनको अभियानलाई तीव्रता दिएर अघि बढ्ने बताए । ‘यो सरकारले बजेट कार्यान्वयन गर्छ । यसमा दुविधा राख्नुपर्ने छैन,’ उनले भने ।

अर्थमन्त्री पौडेलले सरकारले चुनावका लागि आवश्यक बजेट विनियोजन गरेको र स्वतन्त्र निष्पक्ष ढंगले निर्वाचन सम्पन्न गर्न सम्पूर्ण सामथ्र्य परिचालन गरिने बताए । ‘निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष ढंगले सम्पन्न गर्न सम्पूर्ण सामर्थ्य परिचालन गरिनेछ । निर्वाचनका लागि यथेष्ट महत्व दिएर आवश्यक बजेट विनियोजन गरिएको छ,’ उनले भने ।

सरकारले महामारी नबिर्सिएको र मुख्य चुनौतीको रुपमा स्वीकार गरेर सोही अनुरुप राजश्वका नीति र कार्यक्रमका साथमा बजेट आएको अर्थमन्त्री पौडेलले बताए ।

प्रकाशित मितिः आइतवार, जेष्ठ १६, २०७८     6:11:23 PM  |