18 September 2024  |   बुधबार, अशोज २, २०८१

व्यवसायीलाई एकताबद्ध बनाउन भूमिका खेल्छु : मातृका सापकोटा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, फाल्गुन २१, २०७७  

कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचन भोली हुँदैछ । आगामी कार्यकालका लागि साझा समावेशी व्यवसायी प्यानल र लोकतान्त्रिक समावेशी व्यवसायी चुनावी मैदानमा छन् । दुवै समूह अहिले व्यापक चुनावी अभियानमा सक्रिय रुपमा लागिरहेका छन् । यसपटकको चुनावमा लोकतान्त्रिक समावेशी व्यवसायी प्यानलको तर्फबाट महासचिवको उम्मेदवार मातृका सापकोटा रहेका छन् । आसन्न निर्वाचनको सेरफेरोमा केन्द्रीय रहेर  मिसन टुडे दैनिकका शुभाकर विश्वकर्माले गरेको कुराकानी :-

 १.लोकतान्त्रिक समूहले चुनावको तयारी कसरी गरिरहेको छ ?

कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनका लागि लोकतान्त्रिक प्यानलका तर्फबाट हामी सहभागी हुँदैछौ । अहिले निर्वाचनको लागि चुनावी प्रसार प्रचार भइरहेको छ । घरदैलो र भेटघाट चलिरहेको छ । हाम्रो प्यानलको नेतृत्व लक्ष्मण राज पौडेले गरिरहनु भएको छ । हाम्रो समूहमा आठ जना पदाधिकारी, १० जना सदस्य र दुई जना महिला सदस्य निर्वाचनमा होमिनु भएको जानकारी गराउन चाहन्छु । हामी सम्पूर्ण समूहलाई जिताउनको लागि सक्रिय रुपमा लागि परेका छौ । दैनिकी यसमा बितिरहेको छ ।

२.लोकतान्त्रिक समावेशी व्यवसायी समूहको प्रमुख चुनावी एजेण्डा के हो ?

अहिले व्यापार संघ र व्यवसायीहरुको दुरी टाढिएको छ । अहिले व्यापार संघमा किन जाने भन्ने प्रश्न मूल रुपमा देखा परेको अवस्था छ । कोहलपुर उद्योग वाणिज्य संघ नै यस क्षेत्रका व्यवसायीहरुको साझा संस्था हो, हक हितका लागि काम गर्ने संस्था हो । यसमा आवद्ध हुनुपर्छ भन्ने कुरा देखाउनको लागि हामी चुनावी अभियानमा सक्रिय रुपमा लागेका छौ । हाम्रो प्राथमिकता यसैमा छ । सम्पूर्ण व्यवसायीहरु जो मतदाता हुनुहुन्छ । उहाँहरुलाई यो कुरा बुझाउन खोजिरहेका छौ हामीले । सम्पूर्ण व्यवसायी संघमा आवद्ध हुनुपर्ने हाम्रो मान्यता हो । व्यवसायिक एकता नै अहिलेको अपरिहार्य आवश्यकता हो भनेर हामीले चुनावमा भाग लिएका छौ । हाम्रो समूह कोहलपुर क्षेत्रका व्यवसायीहरुलाई जोड्न सक्न भन्ने मान्यताका साथ अघि बढिरहेको छ । कोहलपुर क्षेत्रका व्यवसायीहरुका समस्या नै हाम्रो चुनावी एजेण्डा र प्राथमिकताहरु छन् ।

३.तपाई आफै पनि लोकतान्त्रिक समूहको महासचिवको पदको उम्मेदवार, तपाईको उम्मेदवारी के का लागि हो ?

कोहलपुरमा व्यवसायीहरुको एकता एक प्रमुख आवश्यकताको विषय बनेको छ । यही सम्बन्ध नजिक बनाउनको लागि भूमिका खेल्नको लागि मैले चुनावमा भाग लिएको हो । यस्तै व्यवसायीहरु व्यापार संघमा आवद्ध हुन जरुरी छ भन्ने मेरो मान्यता छ । कोहलपुर उद्योग वाणिज्य संघमा किन र के का लागि भन्ने मेरा स्पष्ट धारणा, नीति र योजनाहरु छन् । मैले जिते भने ती कुराहरु पुरा गर्ने प्रतिबद्धता समेत व्यक्त गर्न चाहन्छु । हामीले यस्तो संघको कल्पना गरेका छौ । की भोलि कुनै पनि व्यवसायीहरु संघमा अटाउन सकुन् । सम्पूर्णलाई एकसुत्रमा बाँध्नको लागि मेरो महासचिव पदमा उम्मेदवारी हो ।

४. लोकतान्त्रिक समूहलाई मतदाताले किन भोट गर्ने ? व्यवसायीहरुको लागि के फाइदा छ ?

सम्पूर्णलाई म के भन्न चाहन्छु भने, अहिले सम्म हामीले एक्लै व्यवसाय गर्दा, एकता नहुँदा व्यवसाय गर्न समस्या भइरहेको प्रत्यक्ष रुपमा बुझेको छौ । भोगेका पनि छौ । एकता र एकजुट नहुनको परिणाम । यहाँ रहेका तमाम समस्याहरुको समाधान गर्नै पर्नेछ । यी समस्याहरुको समाधान नगरी व्यापारीहरुलाई सुखै छैन । त्यसको लागि हामीलाई अवसर प्रदान गर्नुहोस भन्नका लागि भोट मागेका छौ । व्यवसाय गर्दा कुनै पनि कुरामा डर, भय र त्रासका बीच होइन । ढुक्क भएर व्यवसाय गर्ने वातावरण सिर्जना गर्नको लागि भोट दिने हामीलाई । त्यसको लागि हामीसँग स्पष्ट रोडम्याप समेत छ । हामी योजना अनुसार समय सापेक्ष काम गर्ने व्यवसायी हो । हामलाई मतदाताले अमूल्य भोट हालेर जिताउनु भयो भने, भोटको अवमुल्यन गर्ने छैनौ ।

५. कोहलपुरलाई व्यवस्थित सहरदेखि मिनी औद्यागिक पार्कसम्मका आस्वासन दिनु भएको छ ? यस्ता कुराहरु सम्भव छन् कोहलपुरमा ?

असम्भव भन्ने कुरा कुनै पनि छैन । काम गरियो भने सबै कुरा सम्भव हुन्छन् । अर्को कुरा उद्योग वाणिज्य संघले नै यो कुरा बनाउने होइन । हाम्रो पुँजीले पनि भ्याउँदैन । हामीले जित्यौ भने त्यसको लागि काम र प्रक्रिया अघि बढाउँछौ ।सरोकारवाला निकायसँग सहकार्य र सहमतिका साथ अघि बढ्ने छौ ।अवसर सिर्जना गर्नको लागि कोहलपुर उद्योग वाणिज्य संघले भूमिका खेल्नेछ । यसको लागि स्थानीय सरकार र उद्योग संघको सहकार्यमा पहल र काम गर्छौ । सम्पूर्ण व्यवसायीहरुलाई सफा, सुन्दर सहर हुनुपर्छ भन्ने हामी बनाउने छौ । त्यसको लागि हामीले बाचा पनि गरेका छौ ।

६. कोहलपुरमा व्यवसायीहरुका अनेकन समस्या छन्, यदि तपाईहरुले जितिहाल्नु भयो भने के गर्नुहुन्छ, योजना बनाउनु भएको छ ?

कोहलपुर नगरपालिका क्षेत्रमा मुख्य स्थानमा ठेलाहरु अव्यवस्थित छन् अहिले । कोहलपुरमा जसलाई जहाँ मन लाग्यो त्यही ठेला राखेर व्यवसाय गर्ने चलन छ । स्याउ, सुन्तला र केरा खायो त्यही फाल्यो हिड्यो । त्यसकारण कोहलपुर क्षेत्र दुर्गन्धित समेत हुँदै गएको छ । प्रत्येक चोटमाहरुमा निकै फोहोर हुने गरेको छ । हामीले संघमा जित्यौ भने त्यसको दीर्घकालीन उपायको खोजी गर्नेछौ । स्थानीय सरकारसँग सहकार्य र सहमति हुन्छ । त्यसको लागि हाम्रो पहल सधै हुनेछ । सहर समावेशी हुदाँ यहाँका नागरिक लाभान्वित हुन्छन् । अध्यक्षका उम्मेदवार लक्ष्मणराज पौडेलले भने झै हामीलाई यसपटक भरोसा गर्नुहोस । जितेर हामी काम गरेर देखाउनेछौ ।

७. अन्त्यमा लोकतान्त्रिक समूहलाई नै भोट हाल्नको लागि मतदाताहरुलाई के भन्न चाहनुहुन्छ ?

म अहिले पनि कोहलपुर उद्योग वाजिज्य संघको उप– महासचिवका रुपमा छु । अहिले भने महासचिवमा मेरो उम्मेदवारी परेको छ । मैले अघिल्ला वर्षहरुमा समेत उप–महासचिवको जिम्मेवारी पाउँदा व्यवासयीहरुको पक्षमा काम गरेको जानकारी गराउन चाहन्छु ।
व्यवसायीहरुका पीर मर्का म बुझनेछु । त्यसैले अझै पनि सक्रिय भएर व्यासायीहरुको पक्षमा काम गर्नको लागि म सम्पूर्णलाई भोटको लागि अपिल गर्दछु । लोकतान्त्रिक समावेशी व्यवसायी समूहलाई अमूल्य भोट दिएर जिताइदिनुस् । हामी तपाईहरुका लागि काम गरेको देखाउनेछौ । त्यसैले हाम्रो पक्षमा मतदान गर्नुहोस । निर्वाचन प्रक्रियामा सहभागिता जनाउन मेरो आग्रह र अपिल छ ।

प्रकाशित मितिः शुक्रबार, फाल्गुन २१, २०७७     10:01:59 AM  |