3 December 2020  |   बिहिबार, मंसिर १८, २०७७

पुस्तक समीक्षा : कुटी भित्र पस्दा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, अशोज १३, २०७७  


– मणि शर्मा
युरेका पब्लिकेशन प्रा । लि । घट्टेकुलो ,काठमाण्डूको नौलो प्रकाशन बाँके निवासी मणि अर्यालको कुटी हाम्रा वरीपरीको घटनाक्रमहरुको पठनयोग्य कृति हो । ८६ पानाको एघारवटा निबन्ध संग्रह रहेको कुटीको मुल्य हो रु. १७५ । निबन्ध संग्रह पढ्न बस्दा नसिद्धाए सम्म उठ्न मन लाग्दैन ।

मणि अर्याल एउटा यायावर प्रकृतिका लेखक हुन । आफ्नो यो यायावरी जीवनमा उनले देखेका र भोगेका संस्मरण हो कुटी । कुटीको जन्ममा उनको परिवारको महत्वपूर्ण योगदान र प्रेरणा रहेको उनको भनाई छ । हुन पनि , उनको बाँके – बर्दिया सीमामा अवस्थित घर जो कोहीलाई पनि प्राचीन कुटीको झझल्को दिलाउँछ । उनको घर पनि रामायण भन्दा कम छैन ।

गुरु भेट निबन्धमा उनी आफू विद्यालय सञ्चालक समितिको अध्यक्ष हुँदा आफूले विद्यालय भित्र देखे भोगेका स्मरणको विवरण छ । अचेलका विद्यार्थी र शिक्षकको मनोविज्ञानको विवेचना गरेकाछन् । सरकारी विद्यालयहरुको शिक्षकको आफ्नो पेशा प्रतिको गैरजिम्मेवारीपनाको उनले राम्रो विश्लेषण गरेकाछन् ।

दोश्रा निबन्ध हो होटल हाईवे , जसमा उनी र उनका साथीले भोगेको साहुको व्यवहारको सटिक चित्रण गरेकाछन् । हाईवेका होटलहरु कस्ता छन् , त्यहाँका साहुहरुले ग्राहकसंग गर्ने व्यवहार र खानाको गुणस्तर वारे जीवन्त चित्रण गरी रहेकाछन् ।
तेश्रो निबन्ध मधुशालामा उनले मधुशाला भित्रको गतिविधिहरु र त्यहाँ काम गर्ने बारगर्लको वारेमा लेखेकाछन् । बारगर्ल बन्नु पर्ने वाध्यता वारे उनले मार्मिक चित्रण गरेकाछन् ।

चौथो निबन्ध मेरो गाउँमा उनले नेता र पत्रकार वारे चित्रण गरेकाछन् । कसैले सही समाचार पत्रकारलाई जानकारी गराए कसरी पत्रकारले त्यो समाचारलाई लिएर संबन्धित व्यक्ति कहाँ पुगेर सौदाबाजी गरेर फाईदा लिन्छन् र त्यो अपराधिक व्यक्तिको वारेमा राम्रो छमाचार छाप्छन् भन्ने देखाएछ । मोफस्सलका लेखकले मोफस्सलकै समस्या देखाउँछ । मोफस्सलका अधिकांश सकृय पत्रकारहरुको पत्रकार हुनु पूर्व र वर्तमानको आर्थिक अवस्था दाँज्ने हो भने ऊ कति इमान्दार छ छर्लंग हुन्छ ।

पाँचौं निबन्ध मित्र संवादमा लेखक बन्नेहरुका लागि उपयुक्त सुझाव छ । तर यसलाई यति मीठो तरिकाले लेिखएको छ कि विषयवस्तुले दिक्क पार्दैन बरु रोमाञ्चित पार्छ ।

छैंठो तर महत्जपूर्ण निबन्ध कुटीमा उनले आफ्नो कुटी जस्तो घर , त्यहाँको एकान्त र सुरम्य वातावरण तथा रामायणको जस्तो परिवारको विवेचना गरेकाछन् । वास्तवमा उनको घर जसलाई उनले कुटी भन्न रुचाउँछन् प्राकृतिकरुपमा पनि कुटी भन्न योग्य छ र परिवार त रामायणकै जस्तै छ । शहरको कोलाहलपूर्ण तथा स्वार्थजन्य परिवेश भन्दा ग्रामीण , स्वच्छ तथा मायालु वातावरण आजको मानवको आवश्यकता हो ।

मैथिलीशरण गुप्तको एउटा कविता र्छ :

अहा ग्राम्य जीवन भी क्या है ,
क्यों न इसे सबका मन चाहे,
थोडे में निर्वाह यहाँ है ,
ऐसी सूविधा और कहाँ है,
अपनी अपनी घात नहीं है
आडम्बर का नाम नहीं है
अनाचार का नाम नहीं है …..

तर अचेल त्यो ग्राम्य जीवन कहाँ छ र ? शहरिया दुषित हावाले ग्राम्य जीवनलाई छोई सकेको छ । आधुनिक विकासले ग्राम्य जीवनलाई विषाक्त बनाउँदै लगी रहेकोछ । तर लेखकले आफ्नो कुटीको वारेमा मैथिलीशरण गुप्तको जस्तो परिवेश भएकोले त्यसको व्याख्या गरेकाछन् सुन्दर शैलीमा ।

सातौं निबन्ध नेपालगंजमा त्यहाँको साहित्यिक गतिविधि र साहित्यकारहरुको वारेमा सरस तरिकाले जानकारी दिएकाछन् । तर कतिपय पुराना स्मृतिहरु त्यसमा समावेश हुन छुटेको छ । त्यसको लागि उनले अझ बढी प्रयास गर्नु पथ्र्यो । कतिपय साहित्यिक व्यक्तित्व रोजगारीको सिलसिलामा नेपालगंज आएर त्यहाँको साहित्यिक फाँटमा सिञ्चाई गरेका थिए , ती गुमनामहरुको वारेमा आएन ।

आाठौं निबन्ध प्यान्थर जो परिवार नियोजनको साधन हो । परिवार नियोजन वारे विभिन्न एनजिओहरुले वेला वेलामा प्रशिक्षण दिने गरेकाछन् । तर त्यसको दुरुपयोग कसरी हुन्छ यस वारेमा आफू माथी घटेको सत्य घटना उनले उजागर गरेकाछन् । ह्ुन पनि हो , डलरवादीको काम डलर तर लगाउने हो , त्यसको प्रतिफल के आयो त्यस वारे चिन्ता हुँदैन ।

ग्ुालरियामा पनि यसरि नै केही वर्ष अगाडि एउटा एनजिओले परिवार नियोजनको साधन वारे युवा युवतीहरुलाई प्रशिक्षण दिएको थियो । त्यसको केही महिना पछि मैले एनजओिका साथीलाई प्रशिक्षणले के प्रतिफल दियो भनेर सोध्दा उनले ज जसलाई प्रशिक्षण दिएका थियौं , तिनीहरुले त आफू आफू मै प्रयोग गरेछन् भनेका थिए ।

पसिनाको स्वाद नवौं निबन्धमा एउटा सुकुम्वासी किसानको व्यथा र नेताको झुठो आश्वासनको कथा छ । सुकुम्वासी आयोगले कस्ता कस्तालाई जग्गा वितरण गर्छ र वास्तविक सुकुम्वासी आज पनि जग्गाविहीन भएको यथार्थताको वास्तविक घटनाको वर्णन छ ।
रिस दशौं निबन्धमा रिस खा आफू र बुद्धि खा अरु भन्ने भनाई चरितार्थ गर्दै रिस नराम्रो हो भन्ने उदाहरण आफ्नै बूढीलाई पात्र बनाएर लेखेकाछन । आफ्नो घरायसी कुरालाई पनि रोचकरुपमा प्रस्तुति गर्न उनी सफल भएकाछन् ।

अन्तिम निबन्ध हो ,सम्झनामा ईन्द्र बहादुर राई । दार्जिलिंग पुगेर साहित्यकार इन्द्र बहादुर राईलाई भेट्दाको क्षणको घटनाक्रमलाई साहित्यिकरुपमा प्रस्तुत गर्न लेखक सफल भएकाछन् ।

कुटी निबन्ध संग्रह एउटा पठनीय , हाम्रो परिवेशहरु , हामीले भोगेका र देखेका यथार्थ कुराहरुको सुमधुर ढंगले सलल बग्ने गरी लेखिएको लेखकको प्रथम कृति हो । यसको आकर्षक कवर जस्तो निबन्ध संग्रह पनि आकर्षक छन् । आगामी दिनहरुमा पाठकहरुले अझै उत्कृष्ट कृतिहरु ल्ोखकवाट पढ्न पाउनेछन् भन्ने आशा गर्दै लेखकलाई बधाई तथा शुभकामना ।

 

प्रकाशित मितिः मङ्लबार, अशोज १३, २०७७     10:47:12 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *