विश्व महामारीका रुपमा देखिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिदै गएपछि लागु गरिएको लकडाउनका कारण यातायात क्षेत्रको पछिल्लो अवस्था परेको असर, व्यवसायीहरुका समस्या र आगामी दिनमा यातायात व्यवसाय क्षेत्रलाई कसरी अगाडी बढाउने भन्ने विषयवस्तुमा केन्द्रित रहेर नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ बाँकेका संयोजक टंक बस्यालसँग गरिएको कुराकानीको सम्पादित अंश ।
१. यातायात व्यवसाय क्षेत्रको पछिल्लो अवस्था के छ ?
विश्व महामारीका रुपमा देखिएको कोरोना भाइरस (कोभिड–१९) का कारण मुलुकको सबै क्षेत्रमा असर परेको छ । यातायात व्यवसाय क्षेत्रमा त झनै असर नपर्ने कुरै भएन । यातायात क्षेत्रको कुरा गर्ने हो भने कोरोना संक्रमणका कारण नेपाल सरकारले गत चैत्र ११ देखि लागु लकडाउन जारी गरेदेखि नै यातायात क्षेत्र ठप्प भइरहेको अवस्था छ । आजको मितिसम्म पनि कुनै त्यस्तो सञ्चालन गर्ने निर्णय भएको छैन । व्यवसायीहरुले अर्बौ मुल्य हालेर किनेका सवारी साधनहरु घर तथा ग्यारेजमा थन्किरहेका छन् । यसरी अर्बौ मुल्य हालेर किनेका गाडीहरु सञ्चालन हुन नसकेर घर तथा ग्यारेजमै थन्किदा व्यवसायीहरुलाई एकदमै ठूलो मर्का परिरहेको छ । कयौँ व्यवसायीहरु यो क्षेत्रबाटै पलायन भइसकेका छन् भने अरु व्यवसायीहरुको अवस्था पनि त्यस्तै छ । अर्कोतर्फ गाडीहरु बैंकको नाममा छन्, ऋण तिर्न नसकिरहेको अवस्था छ । बैंकहरुले व्यवसायीहरुलाई टर्चर दिइरहेका छन् । कयौँ व्यवसायीहरुले ऋण तिर्न नसकेर, बैंकको टर्चरकै कारण आत्महत्या गरेका अवस्था छ । यसले गर्दा यातायात व्यवसाय नै धरापमा परेको छ । अझै केहि समय अहिलेकै अवस्था रहिरहे विकराल स्थिति उत्पन्न हुन सक्ने देखिन्छ ।
२. कोरोना कहरपछि लागू गरिएको लकडाउनले यातायात व्यवसाय क्षेत्रमा कस्तो असर पारेको छ ?
कोरोना कहरपछि जारी गरिएको करिव पाँच महिना लामो लकडाउनले विशेष गरेर सार्वजनिक यातायातमा झनै ठूलो असर परेको छ । अन्य पसल व्यवसाय, साना सवारी साधनहरु आंशिक रुपमा सञ्चालन भइरहेका छन् । तर सार्वजनिक यातायातका साधनहरु लकडाउनको करिब पाँच महिना पुरै समय ठप्प नै छन् । यसले गर्दा व्यवसायीहरु अर्को पटक उठ्नै नसक्ने अवस्थामा पुगेका छन् । कयौँ व्यवसायी पलायन नै हुने अवस्थामा पुगेका छन् । यस बारेमा अहिलेसम्म सरकारको तर्फबाट त्यस्तो कुनै सकारात्मक निर्णय भएको छैन । पछिल्लो समय केहि व्यवसायीहरुका समस्याहरु हल गर्न समिति÷उपमिति बन्ने भनिए पनि लागु हुन नसकिरहेको अवस्था छ । यसले गर्दा व्यवसायीहको अवस्था दैनिक नाजुक बन्दै गइरहेको अवस्था छ । दैनिक कमाएर खाने व्यवसायीहरुको अवस्था झनै जटिल बनिरहेको छ ।
३. अझै केहि महिना अहिलेकै अवस्था रहिरहे यातायात व्यवसायीहरुले धान्न सक्ने अवस्था रहन्छ ?
अहिले नै यातायात क्षेत्र र व्यवसायी धरापमा परिरहेको अवस्था छ । यो क्षेत्रबाटै पलायन हुने अवस्था आइसकेको छ । व्यवसायीहरुले भन्न थालिसक्नुभयो, हामीहरुलाई बाँच्न गाह्रो भइसक्यो, हामीले कसरी घरपरिवार चलाउने ? के खाने ? कसरी गुजारा चलाउने ? हाम्रा गाडीहरु के–के गर्नुपर्ने हो ? तपाइहरुले हेरिदिनुप¥यो, हामी पलायन हुने अवस्था पुगिसक्यौं भनिरहेको अवस्था छ । व्यवसायीहरु अहिले नै यो अवस्थामा पुगिसकेको अवस्थामा लकडाउन अझै पनि थपिदै गयो भने भएका व्यवसायीहरु पनि पलायन हुने पक्का छ । त्यसैले गर्दा अब पनि सम्बन्धित निकायले ध्यान दिएन भने झनै भयावह स्थिति आउन सक्छ । केहि महिना अहिलेकै अवस्था रह्यो भने यातायात क्षेत्र नै पुरै तहसनहस भएर जान सक्ने सम्भावना रहन्छ ।
४. सरकारले अनुमति दिएमा तोकेका स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सवारी साधन सञ्चालन गर्न सक्ने अवस्था छ कि छैन ?
यस विषयमा नेपाल सरकार, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र मजदुर संगठनहरु बीच पटक–पटक छलफल र बैठकहरु भएका छन् । सवारी सञ्चालन र व्यवस्थापन सम्बन्धमा सरकार र महासंघ बीच भएका पछिल्ला सकारात्मक छलफलले जटिल परिस्थितिलाई केहि सहजता हुन्छ कि ? अथवा व्यवसायीहरुलाई किस्ता, साँवा, ब्याज लगायतका कुराहरुमा केहि राहत मिल्छ कि भन्ने थियो । तर अहिलेसम्म केहि हुन सकेको छैन । सरकार महासंघ बीच भएका सम्झौताहरु पनि लागू हुन नसकिरहेको अवस्था छ । सरकारले अनुमति दियो भने तोकिएका स्वास्थ्य सुरक्षा मापदण्डहरु पालना गरेर हामी आफ्ना सवारीहरु सञ्चालन गर्न तयार छौँ । हामीहरु आफू पनि सुरक्षित रहेर अरुलाई पनि सुरक्षित रहने गरी आफ्ना सवारीहरु सञ्चालन गर्छौ । हामीले सरकारलाई पनि भनेका छौँ, हामी हाम्रा सवारी साधनहरुमा स्वास्थ्य सुरक्षा सामग्राहरुको व्यवस्था मिलाउँछौँ । त्यहि अनुसार यात्रुहरुलाई पनि नियम पालना गर्न र गराउन लगाउँछौँ । सरकारले हामीलाई हाम्रा सवारी सञ्चालन गर्ने व्यवस्था मिलाई दिनुप¥यो । हामी स्वास्थ्य सुरक्षा सावधानीका लागि सबै नियमहरु पालना गर्न गराउन तयार छौँ ।
५. यातायात व्यवसाय क्षेत्रका समस्याप्रति सरकार कतिको गम्भिर देखिएको छ ?
यातायात व्यवसायीहरुका समस्याहरुप्रति सरकार कत्ति जिम्मेवार देखिएको छैन । यथार्थ रुपमा भन्ने हो भने व्यवसायीहरुका कुनै पनि समस्याहरुका बारेमा सरकारले बोलेको छैन । उनीहरुका पक्षमा राम्रा निर्णयहरु पनि गरेको छैन । अहिलेको परिस्थितिले व्यवसायीहरुमा के समस्याहरु परेका छन् ? व्यवसायी र मजदुरको अवस्था कस्तो छ ? यसबाट राज्यलार्ई के घाटा हुन्छ भन्ने जस्ता कुराहरुमा सरकारलाई कुनै चासो छैन । व्यवसायीहरुले कयौँ समस्याहरु झेलिरहनु परेको छ । कयौं व्यवसायबाटै पलायन भइसकेको अवस्था छ । कोही अझै हुने अवस्थामा छन् । यसतर्फ राज्यले कुनै ध्यान दिन सकेको छैन । हामीले राज्यलाई समयमा कर तिरेकै छौँ । तर सरकारले यातायात व्यवसायी, मजदुर, कर्मचारीहरुका समस्याप्रति कुनै गम्भिरता देखाएको छैन । त्यसैले हामी राज्यप्रति असन्तुष्ट नै छौँ ।
६. यातायातका क्षेत्रमा काम गर्ने यातायात समिति, महासंघ, मजदुर संगठनहरुले व्यवसायीहरुको हकहितका लागि के–के गरिरहेका छन् ?
पक्कै पनि अहिलेको यो असहज परिस्थितिमा यातायात व्यवसायी, मजदुर एकदमै मारमा परिरहेको अवस्था छ । यो अवस्थालाई मध्यनजर गर्दै हामीले मजदुरहरुलाई राहतस्वरुप सामान्य सेवा सुविधाहरु दिइरहेका छौँ । उनीहरुलाई यातायात क्षेत्रसँग सम्बन्धित संघ–संस्थाहरुबाट सक्ने जति सहयोग भइरहेको छ । व्यवसायीहरुलाई पनि विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न वा भइहालेको अवस्थामा स्वास्थ्य उपचारको लागि स्वास्थ्य बीमा लगायतका सेवा सुविधाहरु उपलब्ध गराइएको छ । म स्वयं नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ बाँकेको संयोजक भएको नाताले पनि जिल्लाका व्यवसायीहरुका समस्याहरुका बारेमा पटक–पटक छलफल गरेका छौँ । उहाँहरुका सक्ने खालका समस्याहरु पनि समाधान गर्दै आइरहेका छौँ । तर राज्य पक्षबाट अहिलेसम्म कुनै पनि कुनै सहयोग भएको छैन ।
७. यातायात क्षेत्रमा आबद्ध मजदुरहरुको अवस्था के छ ?
यातायात व्यवसायीहरुका समस्याहरु जस्तै यातायात क्षेत्रमा आबद्ध, मजदुर, कर्मचारीहरुका समस्याहरु पनि उस्तै छन् । सवारी साधनहरु नचलेपछि चालक, सह–चालक, मजुदरहरु घरमै बस्न बाध्य भएका छन् । उनीहरुलाई झनै समस्या भइरहेको छ । दैनिक कमाई गरेर खाने उनीहरुलाई लकडाउनका कारण सवारी साधनहरु ठप्प भएपछि छाक टार्न नै मुस्किल भइरहेको छ । आफ्नो बालबच्चा, परिवार पाल्न गाह्रो भएको छ । यातायातका क्षेत्रमा काम गर्ने कर्मचारीहरु कोही आधा तलबमा काम गर्न बाध्य छन् भने कयौँ बेरोजगार भएर बस्न बाध्य छन् । लकडाउनकै कारण महासंघका कामकाजहरु ठप्प छन् । यसले गर्दा यातायातका क्षेत्रमा काम व्यक्ति, व्यवसायी, मजदुर संघसंस्था सबैमा उत्तिकै असर गरेको छ ।
८. कयौँ व्यवसायीका सवारी साधनहरु बैंकको लोनबाट पनि चलिरहेका होलान् । तर ती सवारी साधनहरु लकडाउनपछि बन्द हुँदा आउने आम्दानीको माध्यम बन्द छ । यस्तो अवस्थामा सरकारले लोन अथवा ब्याजमा कुनै सहुलियत दिएको छ ?
बैंकसँग कारोबार नभएका कुनै व्यवसायीहरु छैन । सयमा करिव १० प्रतिशत होलान । अन्य सबैको बैंकहरुमा कारोबार छ । धेरै व्यवसायीका गाडीहरु लोनकै कारण बैंकका नाममा छन् । उनीहरुले ब्याज, साँवा, लोन लगायतमा कुनै पनि सहुलियत पाएका छैनन् । राज्यले केहि सहज वातावरण बनाएपनि बैंकहरुले लागु नगरेको अवस्था छ । करिव ९० प्रतिशत व्यवसायीहरुका गाडी लोनबाटै सञ्चालन भइरहेका छन् । बंंैकबाट पाउने सुविधाहरु व्यवसायीहरुले नपाएपछि हामीहरु पटक–पटक सम्बन्धित निकायमा जाँदा समेत ती सुविधाहरु नपाएको अवस्था छ । त्यसकारण हामीले अहिले पनि अहिलेको यो विषम परिस्थितिमा व्यवसायी, मजदुरहरुलाई राहत हुने खालका कार्यक्रमहरु ल्याउन सरकारसँग पटक–पटक आग्रह गर्दै आइरहेका पनि छौँ ।
९. लकडाउनका कारण थलिएको यातायात व्यवसाय क्षेत्र पहिले कै अवस्थामा आउन कति समय लाग्न सक्छ ?
अहिलेको यो लकडाउन खुलिसकेपछि पनि यातायात व्यवसाय पहिलेकै अवस्थामा आउन दुई वर्ष वा त्यो भन्दा बढी पनि
लाग्नसक्छ । किनकी अहिलेको करिव ५÷६ महिनाको अवधिमा यातायात क्षेत्र एकदमै नाजुक बनिसकेको छ । अबको समयमा सवारी साधन निरन्तर सञ्चालन भएपनि पहिलेको अवस्थामा फर्कन अझै कम्तीमा पनि दुई वर्ष लाग्छ । लकडाउन खुलिसकेपछि पनि गाडी सञ्चालनका लागि मर्मत गर्नुपर्ने हुन्छ, पाटपुर्जाहरु खिया लागेको हुन्छ । तिनको मर्मत सम्भार गर्नुपर्ने हँुदा गाडी सडकमा गुडाउने बनाउन करिब २÷३ लाख रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । त्यो पैसा व्यवसायीहरुले कहाँबाट ल्याउने भन्ने जस्ता थुप्रै समस्याहरु छन् । यसले गर्दा यातायात क्षेत्रलाई पुनःपहिलेकै अवस्थामा फर्किन समय लाग्छ । सरकारले व्यवसायीहरुका समस्याहरुलाई बुझेर राहतका कार्यक्रमहरु ल्यायो भने सहज रुपमा अगाडी बढ्न सकिन्छ ।
१०. आगामी दिनमा यातायात व्यवसायलाई कसरी अगाडी बढाउने भन्ने यहाँहरुको योजना के छ ?
यातायात क्षेत्रलाई आगामी दिनमा कसरी अगाडी लैजाने भन्ने कुरा अझै पनि अन्यौलमै छ । किनकी कोरोना भाइसरको संक्रमण दिन प्रतिदिन बढिरहेको अवस्था छ । यसले गर्दा यो असहज अवस्था कहिले सहज हुन्छ भन्ने अन्यौल नै छ । यसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि हामी सबै लाग्नु पर्छ । अर्को कुरा राज्यलाई हामीले पटक–पटक के भन्ने गरेका छौँ, भने जुनसुकै क्षेत्रमा पनि नियूक्ति गर्दा त्यो सम्वन्धी ज्ञान भएको विज्ञ नियूक्ति गर्नुपर्छ । यातायात क्षेत्रमा नियूक्त गर्दा यातायात व्यवसायीहरुका समस्या बुझ्ने खालको व्यक्ति नियूक्त गर्नुप¥यो । यस्तो नहुँदा यातायात क्षेत्रमा समस्या हुने गरेको छ । अहिलेको समयमा कोरोनाका कारणले समस्या देखिएपनि हिजोको कुरा गर्ने हो भने यातायात सञ्चालनको विधि, पद्धति र प्रक्रिया, निति नियमका बारेमा नबुझेका मान्छेलाई जिम्मा दिँदा यस्तो समस्या आएको हो । अहिले यातायातको क्षेत्र ठप्प छ । राज्यलाई करोडौँको नोक्सानी भएको छ । यसले गर्दा राज्यले पनि यो विषयमा ध्यान दिन जरुरी छ ।
११. अन्त्यमा के भन्न चाहनु हुन्छ ?
साँच्चीकै सरकारले यातायात क्षेत्रलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने हो, अगाडी बढाउने हो भने एउटा अनुभवी टिम बनाएर अघि
बढ्नुपर्छ । यसमा हामी सरकारलाई सहयोग गर्न तयार छौँ । राज्यले व्यवसायीहरुलाई सहज वातावरण बनाई दियो भने अहिलेको कोरोना महामारीको अवस्था रहिरह्यो भने यसको नियन्त्रणका लागि पनि हामी अझै एक वर्षसम्म पनि आफ्ना सवारी सञ्चालन बन्द गर्न सक्छौँ । व्यवसायीहरुको अवस्था दयनिय भइसकेकोले सरकारको त्यसतर्फ ध्यान जाओस् । हामी सरकारलाई सहयोग गर्न तयार छौँ । यातायात क्षेत्र देशको अर्थतन्त्रको मेरुदण्ड हो । देशको अर्थतन्त्रलाई हामी सबैले बचाउनुपर्छ । अहिलेको कोरोना महामारी नियन्त्रणमा सबैले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरौँ । सरकारले लागू गरेका स्वास्थ्य सुरक्षा सम्वन्धी नियमहरुलाई पूर्ण रुपमा पालना गरौँ, भिडभाडमा नजाऔँ, सुरक्षित रुपमा घरभित्रै बसौँ, आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ । धन्यवाद !
प्रस्तुती : यानबी साहु
प्रतिक्रिया दिनुहोस्