बाँकेमा दुई सातायता कोरोना संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ । अहिले यहाँका कतीपय कोरोना ‘फ्री’ भइसकेका पालिकाहरुमा समेत कोरोना संक्रमित भेटिरहेका छन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि पालिकाहरु गत चैत्र महिनादेखि नै लागि परेका छन् । गाउँपालिकामा कोरोना कहरकै बीच विकास निर्माणको काम, कोरोना रोकथाम तथा नियन्त्रणका लागि भएका प्रयास लगायतका विषयमा जानकी गाउँपालिकाका प्रशासकीय अधिकृत हरी बहादुर खत्रीसँग मिसन टुडे दैनिकका डिल्ली शाहीले गरेको कुराकानीको सम्पादित अशं ।
१. गाउँपालिकाको पछिल्लो अवस्था बताइदिनुहोस् न ?
अहिले गाउँपालिका सामान्य अवस्था रहेको छ । गाउँपालिकामा पहिले ८ वटा क्वारेन्टिनहरु रहेका थिए । अहिले गाउँपालिका ३ मा रहेको नेपाल राष्ट्रिय प्राथामिक विद्यालय मानपुरमा एक वटा मात्र क्वारेन्टिन छ । अहिले कृषि तालिम केन्द्र खजुरामा आइसोलेसन निर्माण गरेका छांै । अवस्था सामान्य नै छ । अन्य स्थानीय तहहरुले दुई तिन पटकसम्म पनि राहत वितरण गर्नुभएको थियो होला । तर हामीले एक पटक मात्र राहत वितरण गरेका हौं । हामीले गाउँपालिकामा रहेका सम्पूर्ण विपन्न गरिब, निम्न वर्गका घरधुरीलाई पहिलो चरणमा जम्मा ३ हजार १२ घरधुरीलाई राहत वितरण गरेका थियौं । वडाअध्यक्षहरुलाई बेरोजगार, हुने खाने वर्ग, गरिब विपन्न वर्गका व्यक्तिहरुलाई गाउँपालिकामा सिफारिसपछि राहत वितरण गर्ने भनी कमिटि बनाएका थियौं । सोही अनुसार राहत वितरण गरेका हौं । कोरोनाको उच्च जोखिममा भने गाउँपालिका अझै पनि रहेको छ । यो गाउँपालिका भारतको सिमाना जोडिएकोले समस्या हुने होकी भने डर चाँहि छ ।
२. कोरोना कहरका बीच गाउँपालिकाले कस्तो खालका योजनालाई प्राथमिकता दिएको छ ?
चालु आर्थिक वर्षमा स्वास्थ्यलाई प्राथामिकता राखेका छौं । ‘स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधार जानकी विकासको मुल आधार’ भन्ने मुल नारा समेत तय गरिएको छ । हामीले स्वास्थ्यलाई किन मुख्य प्राथामिकतामा राख्यौं भने गत आर्थिक वर्षबाट मात्र कोभिड १९ देखिएको हो । अझै पनि यसको प्रभाव देखिरहेको छ । फेरी अर्को महामारी आउने पनि हुनसक्छ । त्यसैले हामीले पूर्व योजनाका साथ गाउँपालिकाको नीति तथा कार्यक्रममा स्वास्थ्यलाई पहिलो प्राथामिकतामा राखेका हौं । गत आर्थिक वर्षमा बुहवर्षीय योजनाहरु पनि रहेका छन् । विगतमा गाउँपालिकाले पूर्वाधारलाई पहिलो प्राथामिकता राखेको थियो । अहिले क्रमश रुपमा स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधार राखेका छौं । अन्य नियमित कार्यक्रम त छदैछन् ।
३. भारत र तेस्रो मुलुकबाट आएका व्यक्तिहरु अहिले बेरोजगार बस्नुपरेको छ । गाउँपालिकाले रोजगारी सिर्जना गर्ने खालका कस्ता कार्यक्रम ल्याएको छ ?
तेस्रो मुलकबाट आउनेको संख्या कम रहेको छ । सबैभन्दा ठुलो संख्या भनेको भारतबाट आउनेको संख्या रहेको छ । अहिले पनि वडा नम्बर १ भनेको भारतीय सिमासँग जोडिएको छ । अहिले बेरोजगारमा बसिरहेको व्यक्तिहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत समेट्ने योजना रहेको छ । गाउँपालिकाको प्रोफाइलमा गरिब, विपन्न परिवार भनेर पहिचान गरेका छौं । सोही अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागि बनाउने लक्ष्य राखेका छौं । उहाँहरुलाई राहत दिएर एक दिन मात्र पुग्न सक्छ तर रोजगार दियौं भने उहाँहरुको जिविकोपार्जनमा पनि सहयोग पुग्ने हिसाबले यस कार्यक्रममा समेटेका हौं । तर पहिले राहत पाएका जुन ३ हजार १२ घुरधुरीलाई पनि यस प्रधानमन्त्री रोजगार कार्यक्रममा नै समेट्ने योजना बनाएका छौं । यस्तै अन्य व्यवसाय गर्नको लागि समेत बजेट विनियोजन भएको छ ।
४. गाउँपालिमाका रहेका विभिन्न राजनीतिक दलहरुको कस्तो सहयोग पाउनु भएको छ ?
गाउँपालिकामा रहेको विभिन्न राजनीतिक दलहरुले आ–आफ्नो क्षेत्रबाट निकै सहयोग गरिरहनुभएको छ । गाउँपालिकाको विभिन्न नीति तथा कार्यक्रम बनाउने क्रममा राजनीतिक दलको उल्लखेनीय सहभागिता रहन्छ । दलहरुसँग राम्रैसँग समन्वय र सहकार्य अनुसार काम भइरहेको छ । गाउँपालिकामा कुनै ठूला–ठूला योजना तथा निर्णय गर्नुपर्दा समेत सकभर सहमतिमा अघि बढ्ने गरिरहेको अवस्था छ । भविष्यमा पनि गरिरहनुहुनेछ भन्ने ठानेको छु । विशेष राजनीतिक दलको रचनात्मक र सिर्जनात्मक सहयोग प्रति आभारी छौं । उहाँहरुसँग औपचारिक अनौपचारिक रुपमा निरन्तर कामहरु भैरहेका छन् । कोरोनासँग लड्नका लागि सत्तापक्षको पार्टी र सत्ताका विपक्षमा रहेको पार्टीहरु एकजुट भएर लाग्नुभएको थियो र अहिले पनि कुनै विकासका कामहरुमा पुरा सहयोग र समर्थन रहेको छ ।
५. महामारीको समयमा यहाँको गाउँपालिकामा विकासका कामले निरन्तर पाएका छन् त ?
निकै राम्रो प्रश्न गर्नुभयो । यहाँको सञ्चार माध्यामबाट के भन्न चाहान्छु भने जानकी गाउँपालिकाले चैत्र ११ गतेदेखि नेपालले लकडाउन ग¥यो । त्यो दिनदेखि कुनै पनि दिन कार्यालय बन्द गरेको छैन । यहाँका कुनै पनि वडा कार्यालय र पालिकाकामा रहेका शाखाहरु कुनै पनि बन्द भएका छैनन् । सेनिटाइजर, मास्क, साबुन पानीको प्रयोग अनिवार्य गरिएको छ । यसलाई एस.एम.एस .फर्मुला भनिन्छ । यसले विकासमा कामले निरन्तरता पाएको छ । विकासमा काम गर्ने क्रममा सामाजिक दुरी कायम गरी काम निरन्तर गरिरहेका छौं । कुनै एउटा सडक बनाउने क्रममा मानिसहरुको धेरै भीड गरेर होइन सुरक्षा अपनाएर काम भइरहेको छ । त्यसमा मेसिनमार्फत काम गर्ने हो । कोरोना महामारी भएको समयमा स्थानीय प्रशासनसँग समन्वय विकासका कामलाई निरन्तरता दिनका लागि यहाँका उद्योग, व्यापारीहरुसँग सामग्रीहरु उपलब्ध गराउने भन्यौं । सोही अनुसार उहाँहरुले पनि सामग्रीहरु उपलब्ध गराउनुभयो । विकासमा निर्माणका कामहरुलाई कुनै पनि पनि अवरोध हुन दिएनौं ।
६. केही महिना अगाडि राहत कार्यक्रममार्फत खाद्यान्नका सामग्रीहरु वितरण गरिएको थियो तर फेरी राहत वितरण गर्नुहुन्छ ।
हामी राहत वितरण गर्ने पक्षमा छैनौं । विपन्न परिवारलाई राहत होइन आहात उपलब्ध गराउँछ की भनेर हामीले राहत वितरण नगर्ने भनेका छौं । किनभने हामीले दिएको २÷४ किलो चामलले २÷४ किलो दालले उहाँहरुको जिवीकोपार्जन चल्दैन । त्यसकारण हामीले राहत वितरण नगरी योजना बनाएका छौं । मैले अघि पनि भनेको छु हामीले राहत वितरण गर्ने वर्ग जो हुने खाने वर्ग छन् उनीहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत उहाँको चाहाना पुरा गर्दछौं । नेपाल सरकारले तोकेका रकम उहाँहरुलाई दिन र उहाँको आफ्ना आवश्यकताहरु पनि पूर्ति गर्नु सक्नुहुन्छ । अहिले प्रधानमन्त्री रोजगार कार्यक्रममा ठूलो मात्रामा बजेट आएको छ । उहाँहरुलाई रोजगार पनि भयो र उहाँहरुले खानको लागि अन्य राहतको पनि आवश्यकता परेन । जुन ३ हजार १२ घरघुरी रहेका छन उहाँहरु सबैलाई यस कार्यक्रममा समावेश गर्ने गाउँपालिकाको योजना ल्याएको सबैलाई जानकारी गराउँदछु । त्यसकारण हामीले फेरी पनि राहत वितरण गर्ने पक्षमा छैनौं ।
७. कयौं स्थानीय तहहरुमा जनप्रतिनिधि र कर्मचारीहरुको समन्वय र सहकार्य हुन नसकेको गुनासाहरु आउने गरेका छन् । तर यहाँको गाउँपालिकामा कस्तो छ ?
स्थानीय तहमा ब्यूरोक्रायाटिक लेबल र पोलिटिसियन बीच तालमेल नभएको भन्ने मैले पनि सुनेको र पढेको पनि छु । विकासका काममा अवरोध हुनेका धेरै घटना दिनहुँ आइरहन्छन् । जनताले पाउनुपर्ने सेवा सुविधा नपाउने । विकासका निर्माण हुने काममा विभिन्न समस्या भयो भन्ने मैले पनि मिडिया मार्फत जानकारी पाएको पनि छु । तर हामी कहाँ जनताले सेवा नपाएको र विकास निर्माणका काममा अवरोध हुने क्रियाकलाप कुनै पनि भएको छैन । हिजो जस्तो स्थानीय तह जस्तो स्थानीय तह होइन । अहिले कानूनले नै कसको काम के भन्ने कुरा प्रष्ट लेखिएको छ र अन्य कामहरु गर्ने पाइदैंन । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा प्रमुख प्रशासकीय अधिकृतको काम र कर्तव्य र अधिकार भनेर छुट्याएको छ । यस्तै प्रमुखको काम यो हो उप–प्रमुखको काम यो हो भनेर छुट्याइदिएको छ । जनप्रनितिधिले गर्ने काम र प्रशासनले गर्ने काम र राजनितिक दलले गर्ने काम के हो भनेर प्रष्ट रुपमा स्थानीय सञ्चालन ऐन २०७४ मा प्रष्टै छ । नेपाल सरकारले बनाएको नियम अनुसार काम गर्ने सहज र सरल हुन्छ । नेपाल सरकारले दिएको अधिकारलाई प्रयोग गरी काम गर्दा त्यहाँ कुनै विवाद हुने, असमझदारी हुने र आफ्नो जिम्मेवारी पुरा ग¥यौं भने कुनै समस्या आउने म देख्दिन् । जानकी गाउँपालिकामा २०७६ साल कार्तिक १८ गते हाजिर भएको हुँ । त्यो समयदेखि अहिलेसम्म गाउँपालिका अध्यक्ष उपाध्यक्ष, कार्यपालिका सदस्यहरुको बीचमा कुनै नीतिगत निर्णय गर्नुपर्दा लामो हिसाबले बहस होला तर उहाँहरुको व्यक्तिगत रुपमा कुनै समस्या आएको मैले महशुस गरेको छैन ।
९. जनताबाट निर्वाचित जनप्रनितिहरुले कर्मचारीतन्त्रले काम गरेन भयो भन्ने गुनासो गरिरहेका हुन्छन् तर यहाँहरुको गाउँपालिकामा यस्तो समस्या छ र ?
कर्मचारीहरुलाई नेपाल सरकारले तोकेको समयभित्र हाजिरी गर्ने सिस्टम हुन्छ । सोही अनुसार तलब भत्ता, सेवा सुविधा आफ्नो ठाउँमा रहिहाल्यो । तर जनप्रनितिधिहरुको पनि पहिले पारिश्रमिक दिने भनेको थियो । तर पछि सम्मानित अदालतबाट संविधानसँग बाँझिएको भनेर त्यसलाई खारेज गरेको थियो । फेरी प्रदेश सरकारहरुले सेवा सुविधा उपलब्ध गराएको छ । जनप्रनितिधिको सेवा सुविधाको लागि गाउँपालिकाको एक तह माथिको प्रदेश सरकार हो । सोहि प्रदेश सरकारले बनाएको नियम, कानून अनुासार हामीले भूक्तानी दिएका छौं । हामीले दिन व्यक्तिगत रुपमा केही पनि होइन । स्थानीय तहका जनप्रनिनिधिहरुले प्रदेश सरकारले तोके बमोजिम हुनेछ भने अनुसार उहाँहरुलाई भूत्तानी दिएको अवस्था हो ।
१०. अन्त्यमा गाउँपालिकाबासीहरुलाई के भन्न चाहनुहुन्छ ?
विशेष गरेर जानकी गाउँपालिकाका आदरणीय दाजुभाई, दिदिबहिनी, आमाबुवालाई विनम्रका साथ के भन्न चाहान्छु भने नेपालगञ्ज उप–महानगरपालिकासँग जोडिएको र भारतीय सिमानासँग जोडिएको गाउँपालिका भएको हिसाबले हाम्रो गाउँपालिका उच्च जोखिमा रहेको छ । त्यसकारणले एसएमएस विधि प्रयोग गर्ने अनुरोध गर्दछौं । नेपालमा समेत दिनानुदिन बढ्दै गइरहेको अवस्थामा छ । संक्रमित समेत बढिरहेको अवस्थामा हामी सचेत रहनुको विकल्प छैन । सबैले आफूलाई सुरक्षित राख्नको लागि व्यक्तिगत सरसफाईमा ध्यान दिन आवश्यक ठान्दछु । आवश्यक स्वास्थ्य सुरक्षा अपनाऔं । गाउँपालिकाबाट दिइने सेवा सुविधा, वडाबाट दिइने सेवा सुविधा, गाउँपालिकाका शाखाहरुबाट दिइने सेवा सुविधामा कुनै समस्या आयो भने मलाई सिधै फोन गर्नु सकिनेछ । प्रमुख प्रशासकीय अधिकृतको नाताले जनताका गुनासाहरुलाई समाधान गर्ने तर्फ मेरो पहिलो प्राथामिकता रहनेछ भन्ने पूर्ण विश्वास दिलाउन चाहान्छु । यस गाउँपालिकामा भए गरेका विकासका कामहरुमा काहि कतै गल्ती कमजोरी भएको छ मलाई भन्न अनुरोध गर्दछु । निर्माण व्यवसायी, उपभोक्ता समिति तथा गाउँपालिकामा भैरहेका कामकाजहरुमा कुनै कमजोरी भेटाएको खण्डमा समास्याको समाधानका लागि निरन्तर लागि रहनेछु । यहाँ जस्ता मिडिया र स्थानीय जनताले पनि खबदारी गर्ने र कुनै स्थानमा भ्रष्टाचारी भएको जस्तो देखिएमा पनि जानकारी दिएपछि तुरुन्त कारबाही गर्नेछौं । त्यसकारणले यहाँका आदरणीय बासीहरुलाई हार्दिक अपिल समेत गर्दछु । साथै यस्तो महामारीको समयमा गाउँपालिकाको बारेमा विचार राख्ने अवसरका लागि मिसन टुडे राष्ट्रिय दैनिकलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।








प्रतिक्रिया दिनुहोस्