26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

‘स्थानीय सरकारमा गम्भीरता देखिएन’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, साउन २७, २०७७  

विश्वले अहिले कोरोना महामारी भोगिरहेको छ । नेपालले समेत राजनीतिक र प्राकृतिक विपत्तिको सामना गरिरहेको छ । सत्तारुढ पार्टी बीचको विवाद र कोरोना महामारीले सिंगो देश गम्भीर मोड पुगेको छ । सत्ताधारी पार्टी बीचको विवादले कोरोना रोकथाम र नियन्त्रणको लागि सरकारले जुन किसिमले काम गर्न सक्नु पर्ने हो । त्यो काम हुन सकिरहेको छैन । अहिले पछिल्लो समय देशभर कोरोना संक्रमण दु्रत गतिमा फैलिरहेको छ । बाँके जिल्लामा समेत पछिल्लो दुईसाता यता कोरोना संक्रमणको दर डरलाग्दो अवस्थामा फैलिएको छ । यहाँ त समुदाय स्तरमै कोरोना संक्रमण फैलिसकेको छ । यहाँका स्थानीय तह, सरकारी कार्यालय र अस्पतालहरु सिल गर्नु पर्ने अवस्थामा पुगिरहेका छन् । निषेधाज्ञा जारी छ । यस्तो अवस्थामा राजनीतिक दलको समेत भूमिका महत्वपूर्ण हुने गरेको छ । अहिलेको समसामयिक सन्दर्भमा केन्द्रीत रहेर, देशभर र बाँकेमा कोरोना संक्रमणको अवस्था, कारण, न्युनिकरणको उपाय तथा सरकारका कामकाही र सत्ताधारी पार्टी नेकपाको शक्ति संघर्षका पेरीफेरीमा रहेर जनमोर्चा बाँकेका अध्यक्ष भीम प्रसाद देवकाटासँग मिसन टुडे दैनिकका शुभाकर विश्वकर्माले गरेको कुराकानीको सम्पादित अंश ।


१. कोरोना कहरलाई एक पार्टीको जिम्मेवार नेताका रुपमा कसरी हेरिरहनु भएको छ ?

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस जो छ । यसले विश्वव्यापी रुपमा भयावह अवस्था सिर्जना गरेको छ । यसको नराम्रो परिणाम हामी नेपालीले समेत भोगिरहेका छांै । यो भाइरस नेपालमा उब्जिएको होइन । यो पहिलो पटक चीन देखा परी विदेशबाट आएका व्यक्तिहरुको माध्यमबाट सरेको हो नेपालमा । बाँके जिल्लामा समेत यसको संक्रमण बढ्दो अवस्थामा रहेको छ । एक पार्टीको जिम्मेवार कार्यकर्ता र सचेत नागरिकका हिसाबले व्यक्तिगत तथा पार्टीगत रुपमा हामीले निरन्तर सुभाव दिदै आइरहेका छौं । बाँके जिल्लाको सन्दर्भको कुरा गर्नुहुन्छ भने, यहाँ ६ वटा सीमा नाका रहेका छन् । नाकाबाट आउनेहरु नै यहाँका जोखिमका कारक हुन् । यहाँका स्थानीय सरकारहरुमा निर्वाचित जनप्रतिनिधिहरु छन् । टोल समिति, पार्टीका कमिटि, युवा क्लब, महिला समूहहरु रहेका छन् । उनीहरुको प्रभावकारी परिचालनलाई जोड दिइयो भने कोरोना नियन्त्रणमा सघाउ पुग्ने थियो । समेच गराउनुपर्छ । राजनीतिकले सुझावको ग्रहण गर्ने परिपाटी अगाल्नुपर्छ । बाहिरबाट आउने नागरिकको नियन्त्रण नै आवश्यक रहेको छ ।

२. बाँकेमा कोरोना संक्रमण समुदाय स्तरमा फैलिनुको कारण हो जस्तो लाग्छ तपाईलाई ?

यसका कारणका धेरै छन् । ती मध्ये अहिलेको अवस्था सिर्जना गर्ने माध्यम भनेको स्थानीय तह हुन् । पहिला जुन भारतबाट आएका नागरिकलाई आरडीटी परीक्षण मात्रै गरेर मानिसहरुलाई घर पठाइयो । पीसीआर परीक्षण नगराउँनुको कारण हो । अहिलेको अवस्था सिर्जना हुनु भनेको । सरकार र स्थानीय तहको कमजोरीको मार अहिले नागरिकले भोगिरहेका छन् । अहिले रोग प्रतिरोधात्मक क्षमता भएकाहरु संक्रमित देखिएका छन् । अब हेर्दै जानुहोला, केही समयपछि मानिस मर्न थाल्छन् यही कारणले । लुकिछिपी घरमा आएका बसेकाहरुबाट समेत संक्रमण फैलिएको छ । अर्को भनेको भारतीय बजारबाट तरकारी ओसारपसार भइरहेको छ । मानिस समेत आवातजावत गरिरहेका छन् । अहिलेको अवस्थाका सिर्जना हुनुको अर्काे कारण हो यो । यहाँको प्रशासनले टायल बिछ्याउने, राइस कुकर बनाउने, सरसफाई, ईट्टा भट्टा र उद्योगमा काम गर्ने भारतीय नागरिकले समेत जोखिम निम्याएका छन् । उनीहरुलाई रोक्नुपर्छ । सरोकारवालाले उचित ध्यान दिनुपर्छ भने स्थानीयले समेत सरोकारवालालाई सहयोग गर्नुपर्छ ।

३. बाँकेमा पछिल्लो अवस्था सिर्जना हुनुमा स्थानीय सरकारलाई कतिको दोषि देख्नुहुन्छ ?

स्थानीय सरकारले कोरोना नियन्त्रण गर्न त खोजिरहेका छन् । उनीहरुले काम पनि गरिरहेका छन् । तर उनीहरुको जुन किसिमको भूमिका हुनुपर्ने हो । त्यसो हुन सकिरहेको अवस्था छैन । उदाहरणका लागि, कोहलपुरमा १५ वडा रहेका छन् । अध्यक्ष, सदस्यहरु रहेका छन् । बेला बेलामा नगरपालिकाले बैठक समेत राख्ने गरेको छ । ती बैठकमा जनप्रतिनिधि खास वडा अध्यक्षहरुको उपस्थिति अत्यन्तै न्युन हुने गरेको हामीले देख्छौं । मुस्किलले ५ जनासम्म अध्यक्षहरुको उपस्थिति हुने गरेको छ । जबकी उनीहरुको आवश्यकता बढी हुन्छ कार्यक्रममा । यसमा जनप्रतिनिधिको गैरजिम्मेवार पूर्ण कार्यशैली समेत कारक छ । जुन किसिमले काम हुनु पर्ने हो त्यो भएको छैन । जनप्रतिनिधिहरुको काम जनताको सेवा गर्ने भन्दा पनि अर्कै छ । जसको मार जनतामा परिरहेको छ । जनप्रतिनिधिहरुले गम्भीर चासोका साथ नलिएका कारण यस्तो भइरहेको छ । उनीहरु त सरकारको प्रतिनिधि हो नी । जनताको रक्षा उनीहरुको पहिलो प्राथमिकता हुनुपर्छ । होइन भने खै केको अवस्था रहेको छ । उनीहरुले नै राजनीतिक दलका प्रतिनिधि, सामाजिक क्षेत्रका अगुवाहरुसँग छलफल, तथा अन्तरक्रिया गर्नु पर्ने हो । नगरपालिकाले मात्रै कहिले काँही बोलाउँछ । वडा अध्यक्षहरुसँग त्यस्तो अहिलेसम्म पनि भएको छैन । टोल, छिमेकहरुमा जानकारी गराउनु प¥यो नि । हाम्रो पार्टीको कुरा गर्नु हुन्छ भने सबै तहमा कार्यकर्ता परिचालन गरिरहेका छौं । सबैले पूर्ण रुपमा सहयोग गर्नु पर्छ भन्ने हेतुले देशमा आइपरेको समस्या समाधानको लागि दबाव दिइरहेका छौं । सरकारसँग साझेदारी आवश्यक छ ।

४. कोरोना रोकथाम तथा नियन्त्रणको लागि संघीय सरकारले चालिरहेको कदम प्रति कत्तिको विस्वस्त हुनुहुन्छ ?

सरकारले पहिलेदेखि नै यो समस्या देखिन वित्तिकै कफ्र्यु लगाउनु पर्ने थियो नी त्यो हुन सकेन । अहिले पनि खुल्ला रुपमा आवातजावात भइरहेको छ । गाडी, सवारीहरु चलिरहेको छन् । यो नियन्त्रण गर्न सरकारले सकिरहेको छैन । बीचमा अलिकति नियन्त्रण भएको थियो, त्यति बेला सरकारले ध्यान दिएर अझै कडा नियमहरु लागु गरेको भए अहिले अवस्था आउने थिएन । अनिवार्य पीसीआरको विकल्प नै छैन । कोरोनामुक्त भएका जिल्लामा पनि कडाई गर्ने केही समय । बाहिरबाट आउनेहरुलाई नियन्त्रण गर्ने । त्यसपछि चाही हवाईजहाजबाट आउनेहरुको नियन्त्रणमा ध्यान दिने गर्नुपर्छ । सरकारले यी काम गर्न सकेको छैन । नाकालाई नियन्त्रण गर्न सकियो भने आधा संक्रमण घट्छ । जनचेतनामुलक कार्यक्रम गर्न लगाउनुपर्छ । जनप्रतिनिधि स्वयम्ले झन् सक्रियता देखाउनु पर्ने आवश्यकता रहेको छ । हाम्रो पार्टीले विभिन्न माध्यमबाट सरकारलाई आग्रह गरेको थियो, अनिवार्य पीसीआर परिक्षण गर भनेर । हामीले पहिला जे भनेका थियांै, त्यही कुरा अहिले आवश्यक भइरहेको छ । समय मै सचेत भइएन भने भोली भयावह स्थिति हुन सक्छ है भनेको हो । सरकारले अरुका कुरा सुन्दैन । अहिलेको अवस्था भनेको पहिलेको कमजोरीका कारण भएको हो । अब सरकारले पहिला कमजोरी गरेकै हो, फेरी पनि कर्तव्य पनि सरकार कै हुन जान्छ । पहिलेको कमजोरी सच्याएर अघि बढौं । यसलाई नियन्त्रण गर्न सकिन्छ । संक्रमण दर घटाउन सकिन्छ ।

५. महामारीको समयमा सत्ताधारी पार्टीमा देखिएको शक्ति संघर्षलाई कसरी लिनु भएको छ नी ?

अब कस्तो छ भने पछि, अमेरिकी सिआइए र भारतीय रअले नेपाल माथि गिद्धेनजर लगाइरहेको छ । उनीहरुको स्वार्थ शक्ति नेताहरुमा हालीमुहाली गरिरहेको छ । उनीहरु अहिलेको नेपाल सरकार आफ्नो पक्षमा रहेको, आफ्नो स्वार्थ अनुकुल रुपमा हुनुपर्ने चाहन्छन् । दुवै देशका आ–आफ्नै रणनीति र स्वार्थ छन् । विश्व शक्ति राष्ट्रको रुपमा रहेको अमेरिका कोरोनाका कारण निकै थलिएको छ । यो महामारीमा झन् कमजोर सावित भएको छ । चीनले एकपछि अर्को शक्ति आफ्नो उपस्थिति विश्वस्तरमा जबरजस्त बढाइरहेको छ । यो अमेरिकाको लागि पाच्य विषय होइन । अहिले पनि चिनियाँ ७० प्रतिशत उत्पादनको बजार अमेरिका हो । दुई राष्ट्र बीच शीतयुद्ध समेत चलिरहेको छ । अमेरिका दोस्रो स्तरमा झर्न लागिरहेको बेला चीन निरन्तर अघि बढ्दैछ । त्यसैले अमेरिकाले एमसीसीको माध्यम नेपालमा छिराएर चीनलाई हान्न चाहन्छ । तिब्बतलाई चीन बिरुद्ध बोल्न लगाइरहेको छ अमेरिकाले । अहिलेको नेकपा विवादको एउटा जरो अमेरिका हो । अर्कातिर भारतले केपी ओलीको सरकारलाई ढाल्न चाहेको छ । आफ्नो स्वार्थ पुरा गर्ने मान्छे उसले ल्याउन चाहेको छ । पूर्व माओवादी र पूर्व एमालेका केन्द्रीय तहका नेतासम्म पुगेर उसले चलखेल गरिरहेको अवस्था हो । यो नेकपाको आन्तरिक लडाइँ होइन । शक्ति राष्ट्रहरुद्धारा चलिरहेको नाटक हो । नेपालको दुई पार्टीको एकता पनि एक आपसमा निल्ने उद्देश्यले भएको हो । दुवै पूर्व पार्टीका नेता एक अर्कालाई कमजोर बनाएर आफ्नो स्वार्थ पुरा गर्न भारतले खोजिरहेको छ । महामारीको समयमा समेत सरकार बचाउने की ढाल्ने नाटक चल्नु राम्रो कुरा होइन । यो त गम्भीर कुरा हो । जबसम्म भारत र अमेरिकाको पक्षमा बहुमत हुन्छ । तब मात्रै मिल्छ विवाद । त्यतिकै सुल्झिने वाला छैन नेकपाको विवाद । उनीहरु ती देशका गोटि बनेकै कारण यस्तो अवस्था देखा परेको हो । माइनस प्लसको हिसाबकिताब भइरहेको छ ।

६. प्रधानमन्त्रीका एकपछि अर्को विवादस्पद अभिव्यक्ति आइरहेका छन्, यसले नेपालको भलो गरिरहेको छ की छैन ?

यो महामारीको बेला हो । संकटको अवस्था हो । सरकार र पार्टी बीच को सम्बन्ध, अन्य देशसँगको सहकार्य बलियो बनाउन तर्फ सरकार लगातार चुकिरहेको छ । शक्ति राष्ट्रहरु त यस्तो बेलामा कमजोर देखि खेल्न चाहन्छन् । यो त उनीहरुको रणनीति नै हो । जहाँसम्म प्रधानमन्त्रीको अभिव्यक्तिको प्रसंग छ । देशको कार्यकारी पदमा रहेको व्यक्तिको शब्दले निकै ठूलो अर्थ राख्दछ । तर केपि ओलीको कुरा सुन्दा उनी प्रधानमन्त्री देखिदैनन् । उनका अभिव्यक्ति कुण्ठा र बेप्रवाह किसिमका छन् । उनी आफ्नै बोलीका कारण बारम्बार समस्यामा आइरहने नेता हुन् । कोरोनाको बेला कोरोना जित्न बेसार पानी खानु पर्ने बोलीले उनलाई गिरायो । भ्रष्टाचार गर्दिन भन्छन्, खुलेयाम उनीहरु कै प्रसंशा गर्छन् । भारतले सरकार ढाल्ने खोज्यो भने । उनी अहिले गम्भीर संकटमा छन् । उनको राजिनामा समेत मागियो । न पार्टी न सरकार राम्रोसँग चल्न सकेको छैन । देशको हालत कहालीलाग्दो अवस्थामा छ । अहिलेको विवादको जरो उनै हुन् ।

७. कोरोना कहर बढ्दो अवस्थामा रहेको छ । यसको रोकथामको लागि के गर्नु पर्ला त अब ?

अहिलेको नियन्त्रण गर्ने पद्धति छ त्यो बदल्नुपर्छ । अहिले सरकारले लागु गरेको कोरोना रोकथाम तथा नियन्त्रण विधिले काम गरेको छैन । पहिलो भनेको एयरपोर्टमा कडा निगरानी, दोस्रो भने नाकामा कडाई, तेस्रो चोरी नाकाबाट आवातजावत रोक्ने र त्यसपछि ६० दिनको पुरा कफ्र्यु गर्ने अनिपछि आन्तरिक रुपमा खुल्ला गर्ने । सीमाबाट आवातजावातलाई कडाईका साथ लागु गर्ने । देशमा आर्थिक क्षेत्र खुल्ला गरेपनि जोखिम हँुदैन । यी कुरा हामीले बारम्बार केन्द्रदेखि स्थानीय स्तरमा हिजो पनि उठाएका थियौं । हाज पनि उठाउन चाहन्छौं । हाम्रो जोडदार माग पनि छ । देशमा निषेधाज्ञा जारी गरौं । फेरी लकडाउन गरांै, होइन भने यहाँको स्थिति भोली नाजुक हुन्छ । पहिलो अवस्थामा लकडाउन गर्दाका कमजोरीबाट सिकांै ।

८. अन्त्य बाँकेमा बढ्दो संक्रमण रोक्नको लागि नेता, कार्यकर्ता र सर्वसाधारण जनतालाई के भन्न चाहनुहुन्छ ?

पक्कै पनि अब सचेत हुनुपर्ने बेला आएको छ । म सबैलाई के भन्न चाहन्छु भने सुरक्षित बनांै, समेत रहांै । पार्टीहरुले आफ्नो तल्ला कमिटिलाई कडा निर्देशन जारी गरौं, सरकारले लागु गरेका नीति तथा नियमहरुको पालनाका निम्ति । चेतना फैलाउने काम गरांै । जो जसले जहाँबाट हुन्छ । सचेतना फैलाउने कुरालाई लागु गरांै । जस्तो हामीले हाम्रो पार्टीका सबै संगठन, समिति, कमिटि सबैमा निर्देशन जारी गरेका छांै । सबै जना कोरोनाबाट बच्नको लागि सचेत रहन अपिल गरौं । मास्क लगाउ, सेनिटाइजर प्रयोग गरांै, कोरोना भगाऔं । आफू सुरक्षित बनांै, अरुलाई सुरक्षित रहन आग्रह गरौं । अन्त्यमा मिसन टुडेलाई मेरा विचार राख्ने अवसर दिनु भएकोमा धन्यावाद ।
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

प्रकाशित मितिः मङ्लबार, साउन २७, २०७७     10:29:54 AM  |