19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

टेलिकमको ‘डाइरेक्ट कल ट्रान्सफर’ सेवा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, साउन ७, २०७७  

काठमाडौं ।

नेपाल टेलिकमले एउटा नम्बरमा आउने कल सीधै अर्को नम्बरमा ट्रान्सफर गर्ने (डाइरेक्ट कल ट्रान्सफर) सुविधा सुरू गरेको छ । नेपाल टेलिकमका तारवाला टेलिफोनमा आउने फोन कलहरू अर्को मोबाइल नम्बर, सीडीएमए नम्बर वा तारवाला टेलिफोनमा ट्रान्सफर गर्न सकिने टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिए । नेपाल टेलिकमले यी सुविधाहरू देशभरका ल्याण्डलाइन नम्बरहरुमा उपलब्ध गराएको छ ।

‘सबै आगमन कललाई सीधै, फोन व्यस्त भएमा मात्र वा फोन नउठेको अवस्थामा नेपाल टेलिकमकै अर्को नम्बरमा ग्राहक आफैंले कल ट्रान्सफर गर्न सक्छन् । यो सुविधाको प्रयोगले कार्यालयमा कोही नभएका समयमा आउने टेलिफोन कलहरू नछुटाई अर्को फोनमा उठाउन सकिन्छ, जोशीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

ग्राहकले नजिकैको नेपाल टेलिकमको कार्यालयमा गई निःशुल्क रूपमा यो सेवा सुरू गराउन सक्नेछन् । सेवा प्राप्त भएपश्चात ग्राहक स्वयंले नै चार अंकको लक कोड नम्बर आवश्यकता बमोजिम प्रयोग गरी डाइरेक्ट ट्रान्सफर हुने व्यवस्था मिलाउन सक्छन् ।

कल गरिएको नम्बर व्यस्त भएमा ‘बिजी ट्रान्सफर’ अर्थात् व्यस्त हुँदा तत्काल अर्को नम्बरमा ट्रान्सफर हुने तथा ‘नो एन्सर ट्रान्सफर’मा चार पटकसम्म घण्टी बज्दा पनि फोन नउठेमा सो कल अर्को नम्बरमा ट्रान्सफर हुने सुविधा आवश्यकता बमोजिम उपयोग गर्न सकिनेछ ।

प्रकाशित मितिः बुधबार, साउन ७, २०७७     10:03:03 AM  |