सन्दर्भः अन्तर्राष्ट्रिय युवा दिवसः युवाहरूको एउटै स्वर– ‘अबको नेतृत्व युवाले गर्नुपर्छ’



आज अन्तर्राष्ट्रिय युुवा दिवस । नेपाललगायत विश्वभर विविध कार्यक्रमको आयोजना गरेर यो दिवस मनाइँदै छ । पछिल्लो समय युवाहरू रोजगारीका लागि विदेसिने क्रम बढ्दोे छ भने अर्कातर्फ यहाँ रहेका युवाहरूले देशमा विकास हुनुपर्छ भनेर लागिपरेका छन् । अहिलेका युवाहरूले स्वदेशमै रोजगारीको सिर्जना हुनुपर्ने भन्दै अब देशको नेतृत्व युवाले गर्नुपर्ने बताउँछन् ।

‘युवाहरूको अवस्था अहिले पीडादायी छ’


सुनिता हरिजन
अध्यक्ष, किशोरी अधिकार मञ्च, रुपन्देही

आज हामी अन्तर्राष्ट्रिय युवा दिवस विविध कार्यक्रमको आयोजना गरेर मनाउन लागेका छौँ । युवाहरू अहिले हरेक अधिकारबाट वञ्चित भएका छन् । आफ्नो अधिकार मागिरहेका छन् । तर, त्यहाँसम्म पुग्ने बाटो पाएका छैनन् । युवाहरू विदेशमा पलायन हुनुपर्ने बाध्यता छ । युवाहरूको अवस्था अहिले पीडादायी नै छ । सरकारले पनि यसतर्फ कुनै ध्यान दिएको छैन् । विभिन्न माध्यमबाट युवाहरूले आफ्नो अधिकार मागिरहेका छन् । युवामैत्री सरकार हुन सकेको छैन् ।

त्यसैले अब देशको नेतृत्व युवाले गर्नुपर्छ । मागेर मात्र होइन् लडेर भएपनि आफ्नो अधिकार प्राप्त गर्न सबै लाग्नुपर्छ । तीनै तहका सरकारले युवा दिवस मनाएपनि त्यसमा अर्थपूर्ण सहभागीता हुँदैन् । एकदिन कार्यक्रम मनाएर युवाहरूले अधिकार प्राप्त गर्न सक्दैनन् । एउटै व्यक्तिलाई प्रथामिकता दिने हुँदा ग्राउण्ड लेभलका युवाहरू पछि परेका छन् । युवाहरू नै अब राजनीतिमा आएर देशको नेतृत्व गर्नुका साथै देश चलाउनुपर्ने अवस्था आएको छ ।

‘युवाका हकहितका लागि सरकार गम्भीर बन्नुपर्छ’


विक्रम तिरुवा ‘सलिन’
सदस्य, कर्णाली प्रदेश युवा क्लब सञ्जाल, जुम्ला

युवाहरू स्वतन्त्रपूर्ण ढंगले आफ्नो कार्य गर्न चाहन्छन् । कुनै पनि राजनीति दलको आडमा रहेर राजनीतिक गर्न चाहँदैनन् । अहिलेको पुस्ताहरू विकास र समृद्ध चाहाने पुस्ता हुन् । जतिसक्दो छिटो अहिलेका युवाहरूले परिवर्तन खोजेका छन् ।

नेपाली राजनीति देखेर आम युवाहरू वाक्क दिक्क भइसके । तत्कालको लागि परिवर्तन चाहन्छन् । युवाहरूलाई विगतका ऐतिहासिक कुराहरू सिकाउन र सिक्न पाउनपाए अझ राम्रो हुने थियो । अन्य प्रदेशको हकमा मलाई थाहा भएन तर, कर्णाली प्रदेशको हकमा युवाहरूको हक र हितको लागि कुनै पनि पहलकदमी भएको देख्दिँन ।

युवाहरूको क्षेत्रमा व्यापक रुपमा निती, नियमहरू बन्नुपर्ने र बनेका पनि कार्यान्वय भएको देखिँदैन । युवाको सवालमा तीनै तहको सरकारले सम्बोधन गर्न सकेको छैन् । युवाहरू जिम्मेवार भएर नेपालमा बसेर परिवर्तन गर्न आवश्यक छ । अबको नेतृत्व युवाहरूले गर्नुपर्छ । आर्थिक, सामाजिक र पारिवारिक अवस्थाका कारण युवा विदेसिन बाध्य छन् । युवाहरूले विदेशमा गर्ने लगानी नेपालमा गरे केही गर्न सकिन्छ ।

‘संविधानका भएका व्यवस्थाहरू व्यवहारमा लागु हुनुपर्छ’


रमेश वर
अध्यक्ष, नगरस्तरीय युवा क्लब सञ्जाल कोहलपुर

हामीसँग एकदम सुन्दर संविधान छ । त्यसमा पनि युवाहरू सम्बन्धित कुराहरू समेटिएका छन् । त्यसमा नेपालले विभिन्न ठुला मञ्चहरूमा सहभागिता जनाएको पनि छ । तर, त्यसमा भएका कुराहरू लागु हुन सकेका छैनन् । कार्यान्वयन तहमा कमजोरी हुनु, भ्रष्टाचारका कुराहरू बढ्दै गए ।

तल्ला तहका युवा वर्गहरूको सहभागिता हुनुपर्ने हो । तर, त्यो तहका युवाहरूलाई विभिन्न बाहानामा रोकियो । त्यो तहसम्म पुग्न दिइएन । जसका कारण उनीहरूको अधिकार कुण्ठित भएको हो । शिक्षा, स्वास्थ्य, गासबास लगातका सबै विषयहरूमा युवाहरूको अर्थपूर्ण सहभागीता हुनुपर्ने हुन्छ ।

अहिलेको परिस्थितिमा युवाहरूलाई अर्थपूर्ण अवसरको खाँचो छ । संविधान बन्यो तर, अहिलेसम्म कति जना युवाहरूले अधिकार प्रत्याभूति गर्न पाए ? स्वदेशमा बस्न चाहने कति जना युवाहरूले रोजगारी पाए ? कति जना युवाहरूले सोचेअनुरुप काम गर्न पाए । अब यसमा समीक्षा गर्न आवश्यक छ । सबै क्षेत्रमा अर्थपूर्ण सहभागिता, समावेश र त्यसपश्चात् परिणाम कस्तो आयो भनेर मूल्यांकन गर्न पनि जरुरी छ ।

‘युवाहरूको अर्थपूर्ण सहभागिताको खाँचो छ’

अस्मिता गिरी
केन्द्रीय उपाध्यक्ष, समाजवादी प्रेस संगठन

लोकतन्त्र प्राप्तिपश्चात् बनेको नेपालको अन्तरिम संविधान २०६३ ले नीतिगत रुपमा धारा ३५ को २० मा युुवाहरूको जनशक्तिलाई देश विकासमा परिचालन गर्ने राज्यले विशेष नीति अवलम्बन गरेको व्यवस्था छ । तर, जुन व्यवस्था छ त्यसअनुसार युवाहरूले आफ्नो हक, अधिकार र सहभागिता पाउन सकेका छैनन् ।

त्यसकारणले युवाहरूको शक्ति र ऊर्जा आफ्नै देशमा परिचालन गर्न चाहन्छन् । तर, देशमा शिक्षा, स्वास्थ्य र रोगजारी लगायतका समस्याहरूले युवाहरू विदेसिनु परेको छ । अब युवाहरू नेतृत्वमा आउनुपर्छ । युवाहरू भविष्यका कर्णधार मात्र नभई देश परिवर्तनका सम्वाहक पनि हुन् । त्यसकारण युवाहरू नेतृत्वमा आउन खाँचो छ । अहिलेका पुस्ताले पुराना पुस्ताका विचार र सिद्धान्त बुझेर अवलम्बन गर्न नसक्ने पुरानो पुस्ता युवाहरूको विचार र सिद्धान्त बुझ्न नसक्ने समस्या छ ।

सबै युवाहरूलाई मिलाएर अगाडि बढ्नका लागि युवा नेतृत्व हुन आवश्यक छ । राज्यको नीति र निर्माण प्रक्रियामा युवाहरूको अर्थपूर्ण सहभागी हुन सकेको छैन् । युवा दिवसलाई सार्थकता दिन र हकअधिकार सुनिश्चत गर्नु अहिलेको आवश्यता हो ।

‘युवा भविष्यको कर्णधार मात्र होइनन्, अहिलेका साझेदार हुन्’

भरत कठायत
युवा अभियन्ता, कैलाली

अब देशलाई युवाको खाँचो छ । जसले देशको भविष्य देखेको छ । देशलाई परिवर्तन गर्छु र मुहार फेर्छु भन्ने युवाहरूलाई अघि बढाउनु पर्छ । युवा भविष्यको कर्णधार मात्र नभई अहिलेको साझेदार पनि हो । युवा नेतृत्व अबको आवश्यकता हो । तीन तहका सरकार भए तर, पिछडिएका वर्गमा रहेका युवाहरूसम्म सरकार पुग्न सकेको छैन् । केही मात्रामा पुगे तापनि राजनीतिक र पहुँचवालासम्म मात्रै पुगेको छ । पार्टी र नेताको पछि लागेमात्रै युवा सुरक्षित हुने र नत्र आफ्नो हक अधिकार प्राप्त गर्न कठिनाइ हुने अवस्था छ ।

तीन तहका सरकार आएपनि युवाहरूले आफ्नो हकअधिकारको प्रत्याभूति गर्न पाएका छैनन् । स्वदेशमा रोजगारी सिर्जना होस् । युवाहरू विदेसिन नपरोस् । अब आउने युवा नीतिमा पुरानो नीतिलाई परिमार्जन गरी स्वदेशमा युवा बस्ने वातावरण सिर्जना गर्न आवश्यक छ । युवालाई शिक्षित बनाउन र दक्ष बनाउन तालिमको पनि आवश्यक छ । साथै अन्तर्राष्ट्रिय युवा दिवसको सबैलाई हार्दिक शुभकामना ।

‘युवाहरूले कागजमा मात्र अधिकार पाएका छन्’


रामदत मेहता
स्ववियु सदस्य, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, मोरङ

अहिलेका अधिकांश युवाहरूको एउटै चाहाना हो, स्वदेशमा रोजगारी । रोजगारी नहुँदा युवाहरू विदेसिनु पर्ने बाध्यता छ । स्वदेशमा रोजगारी सिर्जना भए युवाहरू विदेशका विभिन्न सहरमा भौँतारिनुपर्ने अवस्था हुन्थेन । नेपालको संविधानमा लेखेका कुराहरू समेत लागु हुन सकेका छैनन् । युवाहरूले अहिले पनि आफ्नो अधिकार प्राप्तिका लागि लडिरहनु परेको छ । युवाहरूले कागजमा मात्र अधिकार पाएका छन् । व्यवहारमा लागु भएको छैन् ।

अहिलेका युवाहरूले आफूले सक्दो गर्नुपर्छ । अरुको मुख ताक्ने बानी हटाउन जरुरी छ । जुन अहिलेको राजनीतिक अवस्था छ । अबको नेतृत्व बुढा नेताहरू नभइ युवाहरू हुनुपर्छ । युवाहरूको अर्थपूर्ण सहभागिता र युवामैत्री नीति ल्याउन पनि जरुरी छ । युवामैत्री वातावरण सिर्जना नहुँदा युवाहरू विदेसिनु परेको छ । यसलाई रोक्न आफ्नो ठाउँबाट जागरुक हुन आवश्यक छ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन २७ गते मंगलबार