‘कोहलपुरमा बहुमतको दम्भ अति नै देखियो’



बाँके जिल्लामा समग्रमा कोरोना संक्रमण र त्रास घट्दै गइरहेको छ । केही समय अघिसम्म कोरोना संक्रमणको हटस्पट बनेको बाँकेमा पछिल्लो समय संक्रमण घट्दो क्रममा छ । आठ स्थानीय तह मध्ये कोहलपुर नगरपालिकामा सबै भन्दापछि मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । अहिलेसम्म कोहलपुरका १५ वडा मध्ये ५ वडामा संक्रमण पुष्टि भएको छ । अझै कोहलपुरमा कोरोना संक्रमणको समस्या केही लामो समयसम्म हुने देखिन्छ । यसैबीच कोहलपुर नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणको लागि गरिरहेको क्रियाकलाप, तीन वर्षको अवधिमा नगरपालिकाले गरेको विकास तथा प्रगति र राजनीतिक दलको भूमिका लगायतका विषयमा नेपाली काँग्रेस कोहलपुर नगर कमिटीका सभापति बलराम शर्मासँग मिसन टुडे दैनिकका शुभाकर विश्वकर्माले कुराकानी गरेको कुराकानी ।

१. कोरोना रोकथाम र नियन्त्रणको लागि नगरपालिकाले गरेको क्रियाकलापबारे काँगे्रसको धारणा के छ ?

अहिले कोरोना कहरको समय छ । नगरपालिकाले आफ्नो तर्फ बाट सकेजति काम गरिरहेको अवस्था छ । नेपाली काँग्रेसको तर्फबाट भन्नु पर्दा सबै भन्दा पहिले मैले सर्वदलीय बैठकमा प्रभावकारी रुपमा कोरोना कहरको रोकथामको लागि सक्रिय हुन आग्रह गरेको थिए । सबै भन्दा पहिला क्वारेन्टिन सम्बन्धित वडामा राखेर भारतबाट आएका नागरिकको उचित व्यवस्थापन गर्नु पर्ने हाम्रो भनाई थियो । निर्णय समेत भएको हो । पछि कोहलपुरका प्रमुख कै कमजोरीका कारण अन्य क्षेत्रका कोरोना संक्रमित यहाँ ल्याउने काम भयो । हामीले त्यस निर्णयको विरोध समेत गरेका थियौं । हाम्रो माग आफ्नै पालिकाका मानिसहरुलाई मात्रै राख्नु पर्ने थियो । दोस्रो पटक हामीले सर्वदलीय बैठकको निर्णय कार्यान्वयनको लागि नगरपालिकालाई दबाव दियौं । निकै पछि मात्रै नगरपालिकाले क्वारेन्टिन निर्माण कार्यान्वयनमा
ल्यायो । त्यति बेलासम्म धेरै मानिसहरु कोहलपुर आइसकेका थिए । खानाको व्यवस्था आफै गर्ने भन्ने समेत भयो । यसले गर्दा केही वडामा समस्या देखियो । त्यहाँका समस्या हामीसँग आउन थालेपनि मैले मेयरलाई नै भनेर नगर वा वडाबाट खाद्यान्न उपलब्ध गराउन आग्रह गरे । पछि त्यहाँ खाद्यान्न समेत पुग्यो । पछि फेरी हामीले पीसीआरको लागि पनि नरपालिकालाई ज्ञापन पत्र नै बुझायौं । समग्रमा अहिलेसम्मको नगरपालिकाको काम ठिकै छ ।

२. कोरोना रोकथामका लागि नगरपालिकाले सही रुपमा अघि बढिरहेको छ त ?

अहिलेसम्मको स्थितिमा हेर्ने हो भने नगरपालिकाले कोरोना कहर रोकथामका लागि गरिरहेका क्रियाकलाप नियमित मात्रै हुन् । खास्सै प्रभावकारी र सिर्जनशिलता देखिएका छैनन् । यसमा सफलता असफलताका विषय यकातिर छन् । सबै भन्दा ठूलो समस्यामा त यहाँका जनप्रतिनिधिहरुमा छ । वडाका अध्यक्षदेखि प्रमुख तथा सरोकारवालासँग जुन किसिमको समन्वय र सहकार्य गर्नु पर्ने हो त्यसको खडेरी नै छ । कतिपय अवस्थामा काँग्रेसलाई भोट हालेको हो काँग्रेस नै गर्छ भन्ने जस्ता कुरा समेत हुने गरेका छन् । जनता भनेका त सबैका हुन् । यस्तो विपत्तिको समयमा यो तेरो यो मेरो भन्ने कुरा गर्नु नै हुँदैन । जुन अन्य पार्टीका साथीहरुमा त्यस्ता दम्भहरु देखाउने गर्छन् । काँग्रेसको जोड भनेकै बाँचौ र बचायौँ भन्ने रहेको छ । केही कुरामा समस्या छन् है सुधार गरौ भनेर मैले बारम्बार भन्दै आएको छु । हाम्रो बारम्बारको दबाव, ज्ञापन पत्रका कारण केही कुरा सुध्रिएर आएका छन् । विपत्तिमा समेत पहुँचका कुरा हावी देखिएकोले केही समस्याहरु भने छन् । पूर्ण रुपमा सही रुपमा चलिरहेको त छैन । कोरोना रोकथामको लागि नगरपालिकाले गरेका कुरालाई सकारात्मक रुपमा लिन सकिन्छ ।

३. त्यसो भए विपत्ति र विकासमा समेत तीव्र राजनीतिकरण भयो भन्ने हो ?

विपत् र बजेट फरक कुरा हुन् । अहिले भने विपत्तिको समयमा विपत् व्यवस्थापनको लागि बजेट नै चाहिन्छ । बजेट विनियोजनका सम्बन्धमा सन्तुलन भएको मैले पाएको छु । कोरोनालाई प्राथमिकता दिइएको छ । पहुँचको आधारमा बजेट छुट्याइने गरेकोले कही बढी बजेट गएको छ । कही कम बजेट गएको छ । अर्कातिर विकास समेत गुणस्तरीय हुन सकेका छैनन् । नगरपालिकाले बनाएका धेरै बाटाहरु गुणस्तरीय छैनन् । कोरोना कहर मात्रै होइन पहिले देखिनै यहाँ थूप्रै प्रकारका समस्या रहेका छन् नगरपालिकामा । विनियोजित बजेटमा सबै समूह वा वर्गहरु छुट्नु भएन भन्ने हो । मैले जानकारी पाएसम्म अहिलेसम्म एक वडामा २५ लाख भन्दा माथिका योजना गएका छैनन् । बजेट थूप्रो छ । एक वडामा कम्तिमा पनि ८० लाखसम्म जानु पर्ने हो । नगरपालिकाको बजेटको आकार हेर्दा । यसमा नगरपालिकाले बदमासी गरेको छ । विषयगत समितिहरु पनि अमुक व्यक्तिका अन्डरमा चल्नु पर्ने अवस्था रहेको छ । एउटै विषयगत समितिमा ६ करोड छुट्याउने, तर वडालाई बजेट नदिने । यो कुरा गम्भीर छ । कोहलपुरको विकास नै गर्ने हो भने सहकार्य नै अहिलेको आवश्यकता हो । सिस्टम अनुसार काम
हुनुपर्छ । आफू खाने र आफ्ना मान्छेलाई पोस्याउने काम मात्रै भएको छ ।

४. काँग्रेसले बेला–बेलामा नगरपालिकामा हुने गरेका बेथितिको विरोध गर्दै आइरहेको छ, तपाईहरुका माग कत्तिको कार्यान्वयन हुन्छन् नी ?

हामीले कतिपय अवस्थामा नगरपालिकाका राम्रो काममा सहयोगीको रुपमा पनि काम गरेका छौं । कतिपय अवस्थामा नराम्रा कामको विरोध गर्ने पनि हामीले गरिरहेको अवस्था हो । हाम्रो खबरदारी निरन्तर जारी छ । नगरपालिका विधि संम्बद रुपमा चलोस भन्ने हाम्रो उद्देश्य हो । कोरोना कहरका बीचमा समेत हामीले दुई पटक नगरपालिकालाई ज्ञापन पत्रका साथै ध्यानाकर्षण पनि गराएका थियांै । खासगरि आरडीटी बन्द गर्न र पीसीआर परीक्षण अनिवार्य गर्नको लागि । यो पटक भने नगरपालिकाले हाम्रो मागको केही हदसम्म सुनुवाई गरेको अवस्था छ । हामीले माग गरेको ठाउँमा करिब ८० जना जतिको पीसीआर भयो । भारतबाट जति जना आएका छन् । सबैको पीसीआरको विकल्प छैन । नगरप्रमुख र स्वास्थ्य प्रमुखसँग पनि मेरो कुराकानी भइरहन्छ । उहाँहरुले अनिवार्य पीसीआर परिक्षणको लागि काम भइरहेको बताउनु भएको छ । मेसिन नै खरिद गर्ने प्रक्रिया शुरु भएको मैले पाएको छु । यो चाही निकै राम्रो काम हो । हाम्रो तर्फबाट कसरी सहयोग हुन्छ तयार छांै । म के पनि भन्न चाहन्छु भने नगरपालिकाले अहिलेसम्म विगतका नीति छोड्दै नयाँ ल्याउदै गरेको छ । निरन्तरता दिनको लागि अनुरोध गर्दछु । त्यसो गरियो भने हामी हाम्रो लक्ष्य अनुसार अघि बढ्न सक्दैनौं । बजेट र नीति तथा कार्यक्रम अनुसार नै अघि बढ्नु पर्छ भन्ने हाम्रो धारणा हो ।

५. काँगे्रसको नजरमा संघीयतापछि कोहलपुरले गरेका र गर्न नसकेका काम के–के हुन् ?

विकास भनेको प्रक्रियागत हुने हो । विकासलाई म अवसर समेत हो भन्न चाहन्छु । कुनै पनि सरकार, व्यक्तिले चाहने भने केही वर्षमा देखिने गरि विकास गर्न सकिन्छ । यो चलिरहन्छ पनि । समग्रमा नगरपालिका दु्रत गतिको विकासमा अघि बढ्न सकेको छैन । यहाँ त भिजन अगाडि बढाउने अनि निरन्ता दिन नसक्ने चलन जस्तै भइरहेको छ । विकासका हकमा यहाँ निरन्तरताको समस्या हामीले देखेका छौं । वधशाला बनाउने, शवदाह गृह बनाउने तटबन्धन गराउने देखिने खालका काम अघि बढ्न सकेका छैनन् । प्राविधिक रुपमा समेत यहाँको प्रणाली राम्रो छैन भन्ने कुरा स्पष्ट छ । कम्तिमा केही पनि काम गर्दा दीर्घकालिन रुपमा सोच्नु पर्ने हो भन्न चाहन्छु । आफूहरुले अहिलेसम्म के–के राम्रा काम भए भन्ने उहाँहरुलाई सोध्दा पनि भन्न सक्नु हुँदैन होला । नराम्रा काम त कुरै नगरौं । समग्रमा नेपाली काँग्रेसकोे नजरमा नगरपालिकाले यो राम्रो काम भयो है भन्ने कुरा देखेको छैन ।

६. नगरपालिका कुनै पनि कुरामा सफल भएन भन्नु भयो, काँग्रेसले पनि नगरपालिकालाई प्रभावकारी रुपमा खबरदारी गर्नुपथ्र्यो होला ? त्यसो त हुन सकिरहेको देखिदैन ?

खबरदारी त धेरै पटक गरिसकेका छांै । जस्तो माथिको दुई तिहाईको सरकारले कुरै सुन्दैनन् नी । त्यो अवस्थामा नगरपालिकामा पनि भयो । हामीले कुरा उठाउने उनीहरुले यस्तै छ हो भन्ने । मतलब नै नगर्ने भइरहेको छ । उनीहरुले कुरा नसुने कै कारण हामीले दुई पटक तालाबन्दी नै गर्नु नै परेको थियो । यिनीहरुको मनपरी र एकाधिकार बढ्ता भयो । विकास नै भएको छैन । मेयरलाई नै गुम्माहामा राखेर काम गरिरहेको अवस्था छ । यस्ता जनप्रतिनिधि छन् वडाले एक योजना छानेको हुन्छ । उनीहरु आफू अनुकुलको योजना बनाउँने वातावरण छ । प्रदेश तथा संघीय सरकार र माननीयहरुबाट आउने बजेटमा केही व्यक्तिको मनपरी छ । उदाहरणका लागि तपाईलाई जानकारी दिन चाहन्छु । ३ नम्बर वडामा मानिसहरु हिलोमा हिडिरहेका छन् । मान्छे नै नभएको ठाउँमा ग्राभेल भइरहेको छ । कोही वडा अध्यक्ष दलाल जस्ता भए । आफ्नो जग्गा जहाँ छ त्यतैं बाटा बनाउने र जग्गा बेच्ने खालका पनि छन् त्यहाँ । गाउँले हिलैमा हिडुन् भन्ने यिनीहरुको इच्छा भएको जस्तो स्थिति छ । कोहलपुरले विकास गर्नको लागि मेयरले जबसम्म टाइट गर्न सक्नुहुन्न । तवसम्म गाह्रो देखिराछु । केही त कस्ता देखिए भने आफू मात्रै खाउ र आफू मात्रै लाउ भन्ने झुण्डहरु देखिए । खासमा यहाँ जनता लक्षित बजेट नै आउँदैन । फेरी पनि भन्छु । नगरपालिका सफल देखिएको छैन । गौरवका योजना भनिएका आयोजना भरी सबै अलपत्र अवस्थामा छन् । अझ मैले कोहलपुरमा तीन वटा बेलिबिज्र बनाउ भनेको थिए । हाम्रो कुरा कहिल्यै पनि सुनुवाई हुँदैन । कहाँ खान सकिन्छ । त्यही मात्रै जोड हुन्छ । जनताको आवश्यकताको कुनै पनि मतलब नै छैन ।

७. नगरपालिकाले मनोमानी रुपमा अघि बढ्ने, तपार्इंहरु विरोधका लागि मात्रै विरोध गरेको जस्तो देखियो । काँग्रेस पार्टी र जनप्रतिनिधि हस्तक्षेपकारी रुपमा अघि बढ्न सक्नुको कारण के हो ?

कारण के हो भने हाम्रा जुन ६ जना वडा अध्यक्ष छन् नी । एक जना मात्रै अलि चलाख भए । अरु बोल्न नै नसक्ने भए । त्यहाँ विरोध गर्ने भनेको प्रतिनिधिले नै हो । कार्यपालिकामा उनीहरु नै हुन्छन् । हामीले बाहिर मात्रै विरोध गर्ने हो । उहाँले जति सक्दो प्रतिवाद गरिहनु भएको छ । कति सफल हुने हुन् । संविधान मै बहुमतको निर्णय मान्ने हुने भन्ने छ । कार्यपालिकामा कुनै पनि कुराको विरोध भएमा जम्मा सदस्यको बहुमत भयो भने निर्णय हुने भन्ने भयो । उनीहरुको बहुमत भएकै कारण आफ्नै हिसाबमा निर्णय गरिहाल्छन् । हामी बहुमत र दुईतिहाईको मारमा छौ । हरेक कुरामा सहकार्य र समन्वय हुनु पर्ने हो । त्यो कोहलपुरमा त्यसो देखिएन ।

८. अन्त्यमा कोहलपुरमा अझै केही समय कोरोना कहर रहने देखिन्छ कसरी अघि बढ्नु पर्ला ?

धेरै विकल्प छन् । नाकामा कडाई गरिनुपर्छ । क्वारेन्टिन व्यवस्थापन गर्नु प¥यो । व्यवसाय सञ्चालन गर्दा सामाजिक दुरी कायम गर्दा सुरक्षित हुन्छ । हामी आफै पनि सुरक्षित रहनु पर्छ । पछिल्लो समय कोहलपुरमा लकडाउनको पूर्ण पालना भएको देखिदैन । यहाँ धेरै नै छाडा भइसक्यो । त्यसैले सचेत रहनुको विकल्प छैन । सरकारले पनि विकल्प दिन सकेन । लकडाउन मात्रै थपिरह्यो । कोहलपुरमा संक्रमित बढिरहेका छन् । संयमता अपनाउनै पर्छ । भोली समुदाय स्तरमा फैलियो भने ठूलो क्षति हुन सकेन । अन्त्यमा मिसन टुडेलाई अवसरको लागि धन्यावाद ।

  • No tags available
प्रकाशित मिति : २०७७ असार २३ गते मंगलबार