शुभाकर विश्वकर्मा/यानबी साहु । कोहलपुर
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ३ मदनचोकमा रहेको शंकर मन्दिर परिसरमा रामका भक्त हनुमानको पूर्ण कद्को शालिक निर्माण भइरहेको छ । एकजना व्यक्तिको व्यक्तिगत लगानीमा उक्त मुर्ति निर्माण भइरहेको हो । २ वर्ष अघिबाट सुरु भएको मुर्ति निर्माण कार्यको करिब ८५ प्रतिशत काम सम्पन्न भइरहेको छ । मदनचोकका स्थानीय समाजसेवी द्रोण प्रसाद जैशीको पहल तथा व्यक्तिगत लगानीमा मुर्ति निर्माण कार्य भइरहेको हो । जैशीले आफ्ना स्वार्गीय मातापिताको सम्झनामा मन्दिर परिसरमा हनुमानको पूर्णकद्को मुर्ति निर्माण गरिरहेको बताए । उनी शंकर भगवान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष समेत हुन् ।
जैशीका अनुसार मदनचोकको शंकर मन्दिरको परिसमा निर्माण भइरहेको मुर्ति नेपालको सबै भन्दा ठूलो हनुमानको मुर्ति समेत हो । यो मुर्ति ७५ फिट अग्लो छ । धार्मिक क्षेत्रको रुपमा रहेको यस क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने र आन्तरिक तथा बाह्य पर्यटक भित्र्र्याउने उद्देश्यले पनि निर्माण गरिएको उनको भनाई छ । मुर्ति निर्माण गर्दा १७ लाख लाग्ने स्टिमेट गरिएको भएपनि अहिले सम्म १९ लाख रुपैयाँ खर्च भइसकेको छ ।
अब बाँकि सम्पुर्ण काम सकिन कुल २३ लाख लागत लाग्ने उनको भनाई छ । ‘मूर्ति निर्माणको लागि अहिले सम्मको सम्पूर्ण खर्च मैले व्यहोरेको छु’ उनले भने, ‘व्यक्तिगत लगानीमा बनाउने भएकोले बाँकि काम सम्पन्न गर्न मैले नै लगानी गर्छु ।’ मातापिताको सम्झनामा निर्माण भइरहेको मुर्ति निर्माण भइसकेपछि यहाँको पर्यटन क्षेत्रमा सघाउ पुग्ने जैशीको विश्वास छ । जैशी भन्छन्, जीवनभर जती सम्पति कमाएपनि कम हुन्छ, आखिर मरी लानु के र ।
‘जिन्दगीभरी कमाएको रुपैयाँ धार्मिक क्षेत्रमा लगानी गरेमा पुण्य होला भनेर लगानी गरेको हुँ । सामाजिक स्वार्थ बाहेक अन्य कुनै पनि किसिमको स्वार्थ छैन ।’उक्त मुर्ति निर्माणको लागि ठूलो परिणाममा नरिवलको डोरी, सिमेन्ट,बालुवा,ढुंगा,माटो र इट्टाको प्रयोग भएको छ । मुर्तिको बाहिरी आवरण कलात्मक हुनेछ । केही महिनामा सम्पूर्ण निर्माण कार्य सम्पन्न हुने भएपनि मुल सडकबाट मुर्ति स्थल सम्म पुग्नको लागि भौतिक पूर्वाधार अभाव रहेको उनले बताए । करिब २० मिटरको बाटोमा अहिले कच्ची सडक छ ।
सडक पीच गर्नको लागि वडा कार्यालयसँग समन्वय भइरहेको जैशीले जानकारी दिएका छन् । तीन कट्ठा १३ धुर क्षेत्रफलमा फैलिएको शंकर भगवान मन्दिर पनि जैशीकै सक्रियतामा निर्माण कार्य सम्पन्न भएको थियो । उक्त जग्गा नन्दलाल कौशल स्वर्गीय हिरालाल कौशलले निःशुल्क मन्दिरको नाममा जग्गा प्रदान गरेका थिए ।२०६६ देखी २०७० साल सम्म मदनचोकमा रहेको जागृति आमा समूह मन्दिर निर्माणको लागि डि.वी.सी र पिल्लर खडा गर्ने काम गरेको थियो । समूहका महिलाहरुले कुल ४ लाख ८५ हजार रुपैयाँ संकलन गरी निर्माण कार्य शुरु गरेका थिए ।
पछि २०७० देखी ०७६ सम्म जैशी कै सक्रियतामा बाँकि मन्दिर निर्माण गर्ने काम सम्पन्न भएको शंकर भगवान मन्दिर समितिका सचिव छविलाल आचार्यले बताए । मन्दिरको कुल लागत २८ लाख ९८ हजार ९ सय ८४ रुपैैयाँको लागतमा मन्दिर निर्माण कार्य सम्पन्न भएको उनले जानकारी दिए । करिब ३ सय भन्दा बढि दाताहरुको सहयोग रकम २७ लाख ८२ हजार ५ सय ३१ रुपैयाँ छ । तिर्न बाँकी १ लाख २० हजार ४ सय ४६ रुपैयाँ छ । मन्दिर निर्माणको लागि पनि जैशीले व्यक्तिगत ३ लाख बढिदान गरेका छन् ।
भने मन्दिरका पुजारीको खर्च सबैले व्यहोरिरहेका छन् । मन्दिरको पर्खाल निर्माणको लागि कोहलपुर नगरपालिकाबाट ५ लाख सहयोग भएको सचिव आचार्य बताउँछन् । अहिले मन्दिरका अन्य संरचना तथा पुजारीको लागि बन्दोबस्त गर्नको लागि समस्या छ । हनुमानको मुर्ति निर्माणपछि यहाँको पर्यटकीय क्षेत्रमा सहयोग पुग्ने अपेक्षा उनीहरुको
छ ।









प्रतिक्रिया दिनुहोस्