हरेक वर्ष प्रदेशको राजधानीमा मात्र धेरै संख्यामा नयाँ कुष्ठरोगीहरू मात्र फेला पर्नु र प्रदेशका हिमाली जिल्लाहरूमा भने कम संख्यामा
नयाँ कुष्ठरोगीहरू फेला पर्नुले कुष्ठरोगबाट पीडितहरु सजिलैसँग स्वास्थ्य संस्थाको पहुँचसम्म पुग्न नसकेको देखिन्छ ।
चेत नारायण पाण्डेय । सुर्खेत ।
कर्णाली प्रदेशमा कुष्ठरोगका बिरामीहरु बढ्दै गइरहेको पाइएको छ । एक तथ्यांक अनुसार प्रदेशका १० वटै जिल्लाहरुमा कुष्ठरोगका बिरामीहरु बढ्दै गएको पाइएको हो । तथ्यांक अनुसार प्रदेशभर कुष्ठरोग संक्रमण भएका नयाँ बिरामी फेला पर्ने दर ५ दशमलव ०.०३ प्रतिशत रहेको छ । गत आर्थिक वर्ष २०७५÷०७६ को तथ्यांक अनुसार प्रति १ लाख जनसंख्यामा ५ जना भन्दा धेरै नयाँ कुष्ठरोगी भेटिएका छन् । आर्थिक वर्ष २०७३/०७४ मा कर्णाली प्रदेशभर १ सय १५ जना नयाँ कुष्ठरोगी फेला परेका थिए । उक्त आर्थिक वर्षमा दैलेखमा ५, जाजरकोटमा ३२, जुम्लामा ६, कालिकोटमा १०, मुगुमा ३, रुकुम पश्चिममा १०, सल्यानमा १६ र सुर्खेतमा ३३ जना फेला परे भने हुम्लामा नयाँ कुष्ठरोगी बिरामी फेला परेनन् । त्यस्तै आर्थिक वर्ष २०७४÷०७५ मा दैलेखमा १०, जाजरकोटमा १४, कालिकोटमा ५, मुगुमा ३, रुकुम पश्चिममा २१, सल्यानमा ३२ र सुर्खेतमा ३० जना नयाँ कुष्ठरोगी फेला परेका थिए । तथ्यांक अध्ययन गर्दा कर्णालीका दुर्गम जिल्लाहरूमा नयाँ कुष्ठरोग बिरामीहरु रोग लुकाएर बस्ने गरेका छन् ।
हरेक वर्ष प्रदेशको राजधानीमा मात्र धेरै संख्यामा नयाँ कुष्ठरोगीहरू मात्र फेला पर्नु र प्रदेशका हिमाली जिल्लाहरूमा भने कम संख्यामा नयाँ कुष्ठरोगीहरू फेला पर्नुले कुष्ठरोगबाट पीडितहरु सजिलैसँग स्वास्थ्य संस्थाको पहुँचसम्म पुग्न नसकेको देखिन्छ । तीन आर्थिक वर्षलाई तुलना गर्ने हो भने डोल्पामा सबैभन्दा कम संख्यामा नयाँ कुष्ठरोगी फेला पर्ने गरेका छन् । तीन आर्थिक वर्षमा जम्मा तीन जना नयाँ कुष्ठरोगी फेला परेको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतको तथ्यांकमा छ । कर्णालीका जिल्लाहरू मध्ये जाजरकोटमा नयाँ कुष्ठरोगीहरू अन्य जिल्लाका तुलनामा धेरै संख्यामा भेटिएका छन् । जिल्लामा हरेक वर्ष करिब २० जना नयाँ कुष्ठरोगीहरू भेटिएका छन् । गत आर्थिक वर्ष २०७५÷०७६ मा भने कर्णाली प्रदेशभर ८९ जनाको संख्यामा नयाँ कुष्ठरोगी फेला परे । दैलेखमा ९, डोल्पामा २, हुम्लामा २, जाजरकोटमा १९, जुम्लामा ५, कालिकोटमा ७, मुगुमा ५, रुकुम पश्चिममा ७, सल्यानमा ११ र सुर्खेतमा २२ जना नयाँ कुष्ठरोगी फेला परेका हुन् ।
स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतकी निर्देशक रीता भण्डारीले भनिन्, ‘कर्णाली प्रदेशमा कुष्ठरोगलाई लुकाएर घरमा बस्नेको संख्या धेरै देखिएको छ । घरमा लुकाएर बस्नुको साटो स्वास्थ्य संस्थामा उपचारका लागि आए कुष्ठरोग कर्णाली प्रदेशमा निर्मुल पार्न सकिन्छ ।’ उनका अनुसार अझैपनि हाम्रो समाजमा कुष्ठरोग संक्रमण भएको बारे घरका अन्य परिवारलाई पनि जानकारी दिइदैन । यस्तो अवस्थामा अन्य व्यक्तिलाई पनि संक्रमण हुन सक्ने खतरा हुने उनको भनाई छ । कुष्ठरोग निर्मुल पार्ने अभियान अन्र्तगत एक जना मात्र भएपछि नयाँ कुष्ठरोगी फेला पार्नु भनेको महत्वपूर्ण रहेको भन्दै स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका निर्देशक पदमबहादुर केसीले उपचार नपाएका कुष्ठरोगीहरूको पहिचान गरी उपचारमा ल्याउन प्रयासमा स्वास्थ्य सेवा निर्देशनालय लागेको बताए ।
यसैगरी सुर्खेतमा कुष्ठरोग उन्मुलन अभियानमा काम गरिरहेको साइनिङ्ग अस्पताल सुर्खेतले समेत अघिल्लो आर्थिक वर्ष २०७५/०७६ मा ५६ जना नयाँ कुष्ठरोगीको उपचारमा गरेको जनाएको छ । अस्पतालका प्रमुख मंगल थारुका अनुसार गत आर्थिक वर्षमा सोझै अस्पतालमा आएका तथा स्थानीय स्तरमा आयोजित स्वास्थ्य शिविर कार्यक्रम मार्फत ५६ जना नयाँ कुष्ठरोगीहरूको उपचार गरिएको थियो । अस्पतालमा उपचारका लागि आएकाहरू मध्ये जाजरकोटका १४ जना, सुर्खेतका ११, दैलेखका ९, सल्यानका २, रुकुमका २, जुम्लाका १, कालिकोटका ७ र अन्य प्रदेशका १० जना कृष्ठरोगीहरूको अस्पतालमा उपचार गरिएको उनले बताए । जाजरकोटमा धेरै मात्रामा कुष्ठरोगी भएको उनले बताएका छन्् । प्रदेश सरकार र स्वास्थ्य सेवा निर्देशनालयले सहयोग गरे जाजरकोट सदरमुकाममै स्पास्थ्य सिबिर राखेर नै सबै जनताको स्वास्थ्य परिक्षण गर्न सके कुष्ठरोगी समाजको डरले लुकेर नबस्ने बताए ।








प्रतिक्रिया दिनुहोस्