कोहलपुर ।
शान्ति सु–व्यवस्था कायम गर्नको लागि नेपाल प्रहरीको भूमिका पूर्वाग्राही हुन नहुनेमा सरोकारवालाले जोड दिएका छन् । समाजमा हुने गरेका चोरी डकैती, अनैतिक र अपराधिक कार्य नियन्त्रण र नियमन गर्नको लागि प्रहरीको भूमिका निष्पक्ष र तठस्थ हुनु पर्नेमा उनीहरुले जोड दिएका हुन् । तीन प्रदेशको ट्रान्जिट प्वाईन्टको रुपमा रहेको बाँके कोहलपुरलाई अपराधिक क्रियाकलापको थलो बनाउने गरेको पाईएको भन्दै यसमा प्रहरी प्रशासन गम्भिर हुनुपर्ने उनीहरुको जोड दिएका थिए ।
कानुन विपरित काम गर्नेलाई राजनितिक दबाव तथा पूर्वाग्रह र पहुँचमा नपरेर प्रहरीलाई काम गर्न सरोकारवालाहरुले सुझाव दिए । मंगलबार कोहलपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कुलदिप चन्दको कार्यक्रममा उपस्थित भएका यहाँका सरोकारवालाहरुले समुदाय र प्रहरीको साझेदारीलाई मजबुत बनाउनको लागि गम्भिर हुनुपर्ने बताए । नेपाल कम्युनिष्ट पार्टी ‐नेकपा) प्रदेश पाँच सदस्य नरेन्द्र न्यौपानेले कोहलपुर अपराध गर्नेहरुको अखडा भन्दै गएको भन्दै अपराधिलाई राजनितिक दल र प्रहरीको संरक्षण हुन नहुनेमा जोड दिएका थिए । समाजमा शान्ति सु– व्यवस्था कायम गर्नको लागि प्रहरी, समुदाय तथा सरोकारवालाहरुको सहकार्य आवश्यक रहेको उनले
बताए ।
नेपाली काँग्रेसका नगर सभापति बलराम शर्माले शान्ति, सुरक्षा, अमनचयन, सुरक्षाको प्रत्याभूतिको आभास हुनको लागि राजनितिक दल, नागरिक समाज, प्रहरी र समाजको सहकार्य र एकता आवश्यक हुनेमा जोड दिए । आफ्नो पार्टीको तर्फबाट ‘शान्त कोहलपुर, समृद्ध कोहलपुर’को लागि सधै सक्रिय रहने प्रतिबद्धता उनले जनाए । नेपाल कम्युनिष्ट पार्टी ‐नेकपा) बाँके सचिव अशोक कोइरालाले पनि समाजमा विश्सनिय सेवा दिन सन्दर्भमा प्रहरीको भूमिका निष्पक्ष, पारदर्शी हुनुपर्ने बताएका थिए । ‘कतिपय घटनामा आग्रह पुर्वाग्रहमा प्रहरीले मुद्धा नै दर्तामा समस्या देखिएको छ’ उनले भने, ‘प्रहरी फौजदारी र अपराधिक मुद्धामा निर्मम् हुनु आवश्यक छ ।’
कार्यक्रममा बोल्दै यातायात व्यवसायी नमप्रसाद आचार्यले मानिसको अत्यधिक भिड हुने स्थानमा प्रहरीको सहभागिता न्युन देखिएको
बताए । ‘मानिसको अत्यधिक भिडभाड हुने स्थान बसपार्क क्षेत्र, चौराहा लगायतका क्षेत्रमा अपराधिक क्रियाकलाप बढि हुने गर्दछ’ उनले भने, ‘त्यस्ता क्षेत्रमा नागरिकहरु असुरक्षित, चोरी र झै झगडा हुने भएकोले त्यस्ता क्षेत्रमा नो पार्किङ र आवागमनमा सहजताको वातावरण प्रहरीले सिर्जना गरोस् ।’ अधिकारकर्मी मिना सिग्देलले व्यवसायका नाममा महिलालाई यौनदासीका रुपमा सलंग्नता हुने गरेको भन्दै प्रहरीले यस्ता खाले गतिविधिमा विशेष निगरानी राख्न आवश्यक रहेकोमा जोड दिईन् ।
‘हिंसामा परेका महिला प्रहरी कार्यालयमा समेत हिंसामा पर्ने समस्या छ’ उनले भनिन्, ‘अहिले पनि महिलाहरु विभिन्न बाहनामा हिंसामा
छन् । महिला माथि हुने हिंसाका विषयमा गम्भिर रुपमा लाग्न आग्रह गर्दछु ।’ राष्ट्रिय प्रजातन्त्र पार्टी कोहलपुर कमिटि अध्यक्ष सरिता शाहीले पनि महिला हिंसा, दुव्र्यवहार, बलात्कार लगायतका घटनामा दोषिलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताइन् । कार्यक्रममा सहभागि पत्रकारहरुले समेत प्रहरी प्रशासनबाट सूचना प्रवाहमा कमि भएको बताएका थिए । आगामी दिनमा प्रहरी र पत्रकार बीचको सम्बन्धलाई नजिक बनाउन आवश्यक रहेको उनीहरुको भनाई रहेको थियो । सरोकारवालाहरुका सल्लाह तथा सुझावलाई मागदर्शक गरेर अघि बढ्ने कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक चन्दले बताएका थिए ।
‘प्रहरीको भूमिकालाई सधै शंकाको दृष्टिले हेर्ने अवस्था छ’ उनले भने, ‘आगामी दिनमा त्यो अवस्थाको परिवर्तन हुने वातावरण बन्ने विश्वास लिएको छु ।’ नागरिक र प्रहरी बीचको सम्बन्ध सधै सुमधुर बनाउन आफू लागि पर्ने उनले प्रतिबद्धता व्यक्त गरेका थिए । ‘अपराध जन्मिन्छ समाजबाटै लुक्छ समाजबाटै’ प्रहरी नायब उपरीक्षक चन्दले भने, ‘कतिपय अवस्थामा विभिन्न खाले दबावका बीच नेपाल प्रहरी आफ्नो कर्म र निष्ठामा दृढ छ ।’ नागरिक पनि बिना बर्दीका प्रहरी भएकोले प्रहरीलाई आवश्यक सहयोग गर्नु उनीहरुको कर्तव्य हुने उनको भनाई थियो । उनले प्रहरीलाई दलगत आँखाबाट नहेरिदिन समेत सबैलाई आग्रह गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्