विद्यालय भवनमा नगरपालिका कार्यालय



चेत नारायण पाण्डेय । सुर्खेत ।

दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकाले एक सामुदायिक विद्यालयको भवनमा नगरपालिका कार्यालय सञ्चालन गरिरहेको छ । चामुण्डा बिन्द्रासैनी नगरपालिका–६ स्थित जयदेव उच्च माध्यमिक विद्यालय भवनको ११ ओटा कोठा नगरपालिकाले प्रयोग गर्दै आईरहेको हो । विद्यालयसँग कूल पाँच वटा भवन रहेका छन् । ८ कोठे भवन नगरपालिकालाई भाडामा प्रयोग गर्न दिइएको हो ।

आर्थिक वर्ष २०७३÷७४ मा निर्माण सम्पन्न भएको ८ कोठे नयाँ भवन नगरपालिकालाई कार्यालय सञ्चालन प्रयोजनका लागि भाडामा दिइएको छ । मासिक ३० हजार रुपैयाँ (करबाहेक) विद्यालयलाई उपलब्ध गराउने गरी नगरपालिकाले भवन भाडामा लिएको नगरपालिका प्रमुख सुर्य बहादुर शाहीले जानकारी दिए । नयाँ भवन नगरपालिकालाई भाडामा दिइएपछि ६ देखि १२ कक्षासम्म अध्यापन हुने विद्यालयले आफ्नो शैक्षिक गतिविधि पुराना संरचनामै सञ्चालन गरिरहेको उनले बताए ।

कूल ५ सय ३८ जना विद्यार्थीका लागि विद्यालयमा ९ वटा कक्षाकोठा छुट्याइएको छ । भने दुई कोठालाई विद्यालयको प्रशासनिक कार्यका लागि छुट्याइएको छ । विद्यालयले पक्की भवन नगरपालिकालाई भाडामा दिएपछि विद्यार्थीहरूले पुरानो कच्ची भवनको कक्षाकोठामै अध्ययन गर्न बाध्य भएको गुनासो गरेका छन् । ‘एकातिर नयाँ भवन नगरपालिकालाई दिएर पुराना संरचनामा विद्यार्थी राखिएको छ’ स्थानीय ईश्वर विष्टले भने, ‘अर्कोतिर विद्यालयको भवन नगरपालिकालाई दिँदा विद्यालयको शैक्षिक गुणस्तर राम्रो भएको छैन ।’

विद्यालय छेउमै नगरपालिकाले आफ्नो दैनिक प्रशासनिक कामकाजका लागि कार्यालय स्थापना गर्नुले विद्यालयलाई बालमैत्री हुनबाट रोकेको उनको भनाई रहेको छ । नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रम, सेमिनार तथा गोष्ठीले विद्यालयको शान्त शैक्षिक वातावरणमा खलल् पारेको भन्दै बारम्बार नगरपालिका कार्यालय अन्तै सार्न आग्रह गर्द समेत सुनुवाई नभएको स्थानीय बिष्टले बताए । यसअघि अन्य नागरिकको भवन भाडामा लिएर नगरपालिकाले कार्यालय सञ्चालन गरेको थियो । तर, उक्त भवन सानो भएको बताउँदै नगरपालिकाले विद्यालयसँग भाडामा भवन लिएको हो ।

विद्यालयका प्राध्यानाध्यापक तिलकप्रसाद शर्माले े नगर कार्यपालिकाले निर्णय गरेरै भवन उपलब्ध गराउन भनेपछि विद्यालयले भवन भाडामा दिएको बताए । २०७५ माघदेखि २०७७ माघसम्मका लागि भवन भाडामा उपलब्ध गराइएको विद्यालयले जनाएको छ । त्यो बेलासम्म नगरपालिकाले पनि आफ्नो व्यवस्थापन गरी सक्नेछ । ‘नगरपालिकाको कार्यालय विद्यालयको भवनबाट सञ्चालन हुँदा शैक्षिक गतिविधिमा असर परेको छैन’ उनले भने,‘ विद्यालयको अर्को भवन अलि उचाईमा छ, नगरपालिकाको होहल्ला कक्षाकोठासम्म आउँदैन ।’

शिक्षा विकास निर्देशनालय सुर्खेतका निमित्त निर्देशक भक्तबहादुर ढकालले स्थानीय तहलाई शिक्षा क्षेत्रको व्यवस्थापकीय जिम्मेवारी गइसकेको बताउँदै नयाँ भवन नगरपालिकाले प्रयोग गरी पुरानामा विद्यार्थीलाई राख्न नमिल्ने बताए । ‘त्यसो गरिएको भए पुरानो भवनमा नगरपालिकाको कार्यालय सारेरै भएपनि नयाँ भवनमा बिद्यार्थीहरु राखेर अध्ययन गराइनुपर्छ’ उनले भने ।

  • No tags available
प्रकाशित मिति : २०७६ पुस २९ गते मंगलबार