27 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

चिसोका कारण दुई राउटे बालकको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, पुस १८, २०७६  

सुर्खेत ।

चिसोका कारण राउटे समुदायका दुई बालकको मृत्यु भएको छ । दैलेखको गुराँसे जंगलनजिकै बसोबास गर्दै आएका दुई राउटे बालकको चिसोको कारण मृत्यु भएको हो । दुई बालकको मृत्यु भएपछि राउटे बस्ती शोकमा डुबेको छ । मृत्यु हुनेमा १४ वर्षीय पीपल शाही र हर्कबहादुर शाहीको चार महिने छोरा जंगबहादुर रहेका छन् । दर्जनौं राउटे बिरामी भएका छन् । ‘साँझ सामान्य अवस्थामा पिपल सँगै सुतेका थिए,’ छिमेकी भरतबहादुर शाहीले भने, ‘बिहान मृत्यु भएछ ।’

अत्यधिक चिसोका कारण उनको सुतेको ठाउँमा नै ज्यान गएको हो । ४ महिने बालकको भने गत पुस ९ गते मृत्यु भएको थियो । उनीहरू अस्थायी टहरा बनाएर बस्ने गर्छन् । चिसोमा न्यानो कपडा र पोषिलो खाने कुरा नहुँदा उनीहरू चिसोबाट ज्यानसमेत गुमाउन बाध्य छन् । राउटे बालबालिकामा पोषण समस्या हुँदा पनि चिसोमा उनीहरूलाई झनै ठूलो समस्या हुने गरेको छ । सरकारले उनीहरूका लागि सुरक्षित बासको व्यवस्था गरिदिनु पर्ने राउटे लोपोन्मुख सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालकी केन्द्रीय अध्यक्ष सत्यादेवी खड्काले बताइन् । राउटे बस्तीमा अहिले रुघाखोकी, ज्वरोको प्रकोप देखिएको छ ।

‘उनीहरूको अस्थायी टहराले चिसो छल्दैन,’उनले भनिन्, ‘राउटे समुदायले लगाउने पोषाक पनि चिसो छल्नेखालका छैनन् ।’ अहिले यहाँबाट राउटे बस्ती सर्ने तयारी गरेको राउटे बस्तीका छिमेकी भरतबहादुर शाहीले जानकारी दिए । अत्यधिक चिसो भएपछि आगो ताप्दै गर्दा २२ वर्षीय कपिल शाही चार वर्ष अगाडि आगोमा पोलिएका थिए । ‘अत्यधिक चिसो हुँदा हामीलाई गाह्रो हुन्छ,’ आगो ताप्दा जलेका कपिलले भने, ‘न्यायो लगाउने, ओड्ने र ओछ्याउने नहुँदा समस्या छ ।’ हाल यहाँ ४६ घरपरिवार राउटे बस्ती छ । राउटे समुदायका अगुवाहरुले चिसोबाट बच्नको लागि न्यानो कपडाको व्यवस्था गरिदिन सरकारसँग माग गरेका छन् । चिसोको मारमा सबैभन्दा बढी महिला, बालबालिका र बृद्धबृद्धा परेका छन् ।

प्रकाशित मितिः शुक्रबार, पुस १८, २०७६     10:46:56 AM  |