27 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

बाँसगढी पिपलबोटको साधारण सभा,‘आर्थिक समृद्धिको आधार सहकारी’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, पुस १३, २०७६  

रावन बिश्वकर्मा, बाँसगढी ।

आर्थिक समृद्धिको आधार सहकारी भएको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । बर्दियाको बाँसगढीमा रहेको बाँसगढी पिपलबोट बचत तथा ऋण सहकारी संस्थाको ११ औँ बार्षिक साधारण सभामा बोल्ने वक्ताहरुले उक्त कुरामा जोड दिएका हुन् । शनिबार भएको साधारण सभामा बोल्ने सरोकारवालाहरुले अहिले आर्थिक समृद्धिको मुख्य आधार सहकारी भएकोमा जोड दिएका थिए । कार्यक्रममा बोल्दै संविधान सभा सदस्य निर्मल प्रकाश सुवेदीले आर्थिक समृद्धिको मुख्य आधार सहकारी भएको बताए । ‘निर्बाहका लागि मात्रै सहकारी होईन’ उनले भने, ‘सहकारीको माध्यमबाट पुँजीको विकास गरी कृषिमा आधुनिकिरण, व्यवसायीकरण र औद्योगिकरण सँगै राष्ट्रिय उत्पादनको लागि हुन जरुरी छ ।’

बाँसगढी नगरपालिकाका प्रमुख सालिकराम अधिकारीले राज्यले लिएको अर्थ नितिलाई अबलम्बन गर्दै सरकार र सहकारीको लगानी एउटै ठाँउमा लगाउन सके आर्थिक समृद्धिमा टेवा पुग्ने बताए । आर्थिक उन्नतीका लागी सहकारीले उत्पादन क्षेत्रमा लगानी गर्नु पर्ने र बिषयगत क्षेत्रका सहकारीहरु एउटै ठाँउमा आउने भावनाको विकास हुन आवश्यक रहेकोमा उनले जोड दिए । सहकारी संस्थाका अध्यक्ष नवराज अधिकारीले सहकारीले शेयर सदस्यलाई आय स्तर बृद्धि गर्ने कार्यक्रम सँगै उत्पादन मुलक कार्यमा जोड्न लक्ष्य सहित अगाढी बढेको जानकारी दिए ।

शेयर सदस्यहरुका लागि सहकारी शिक्षा अभिमुखिकरण, पशु व्यवस्थापन सम्बन्धी सिप विकास तालिमसँगै न्युन आय स्तर भएका व्यक्तिलाई उत्पादन मुलक कार्यमा प्रेरित गर्न तालिमको व्यवस्था गर्ने, सदस्यको सुविधाका लागि आन्तरिक चेक र एसएमएस सेवा उपलब्ध गराउने लक्ष्य राखिएको उनले बताए । नगर स्तरिय सहकारी सञ्जाल बाँसगढीका अध्यक्ष खड्क बहादुर खड्काले सहकारी प्रतिस्पर्धी नभई सहकार्यका साथ गरिबी न्युनिकरण गर्ने दिशा तर्फ अग्रसर हुनुपर्नेमा जोड दिए ।

बाँसगढी उद्योग वाणिज्य संघका अध्यक्ष रामसिंङ थारुले सहकारीले सफल व्यवसाय बन्न थप सहयोग पुर्याएको बताए । संस्थाले आर्थिक वर्ष २०७५÷०७६ मा १८ करोड ९४ लाख ३७ हजार ६ सय ७५ रुपैयाँ बराबरको कारोबार गरेको थियो । २९ लाख ३५ हजार ५ सय २४ रुपैयाँ खुद नाफा गर्न सफल भयो । त्यस्तै शेयर पुँजी १ करोड ५० लाख ३६ हजार ५ सय, कुल बचत ३ करोड ६८ लाख ४ सय ४५ र ६ करोड ८० लाख बढी लगानी गरेको छ । संस्थामा हाल ८ सय ६८ जना शेयर सदस्य रहेका छन् ।

प्रकाशित मितिः आइतवार, पुस १३, २०७६     11:49:10 AM  |