22 May 2024  |   बिहिबार, जेष्ठ १०, २०८१

मृगौला पिडित भन्छन्, ‘बाँच्न मन छ तर छैन पैसा’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, मंसिर २८, २०७६  

कोहलपुर ।

रोगी शरिर, मलिन अनुहारमा टेकलाल केसीलाई घरको आँगनमा पल्टिरहेको देखेपछि सबै दंग पर्छन् । भन्छन्, तिमीलाई कस्तो छ । अह ठिकठिकै छ, प्रश्न सोध्ने जतिलाई उत्तर फर्काउन् उनी । बाँकेको कोहलपुर नगरपालिका वडा नं. १२ मा टेकलाल बस्दै आएको घरमा अहिले उनलाई भेट्नेहरुको भिड लाग्ने गर्छ । दुवै मृगौला फेल भएपछि उनी राम्ररी हिडडुल गर्न सक्दैनन् । घरमा भेट्ने आउनेहरुको सहानुभूतिमा जसोतसो बाँचिरहेका छन् उनी ।

२९ वर्षे टेकलालको दुवै मृगौला फेल भएको छ । सल्यानको कुमाख गाउँपालिकाका जन्मिएका उनको परिवार लामो समयदेखि कोहलपुर १२ चप्परगौढीमा बस्दै आएका छन् । विगत ९ वर्षदेखि औषधि सेवन गर्दै आएका टेकलालको रोग अझ बल्झिदै गएको छ ।

उपचारको लागि खर्च अभावमा दिनप्रतिदिन उनको रोग झन् झन् बढ्दै गईरहेको हो । ‘उपचारको लागि ३० लाख रुपैयाँ लाग्छ भनेको छ’ उनले भने, ‘यत्रो पैसा जुटाउन निकै हम्मेहम्मे परिरहेको छ ।’ उनी आफ्नो नियती सुनाउदै भन्छन्, ‘बाँच्ने मन भएर मात्रै हुँदो रैनछ बाँच्नको लागि त पैसा चाहिदो रहेछ । लाउलाउ खाउखाउ भन्ने उमेरमा मृगौला फेल हुँदाँको पिडा छदै थियो, झन पिडा त परिवारको दुःख देख्दा लाग्छ ।’ बुढी आमालाई सहयोग गर्ने उमेरमा उनकी आमाले टेकलालको स्याहार गरिरहेकी छन् ।

श्रीमती पनि श्रीमानको उपचारको पैसा जोहो गर्न संसार चहारी रहेकी छन् । टेकलालकी श्रीमती कमला कार्की भन्छिन्, सधै अरुको भनाई सोच्ने मेरो श्रीमानलाई कसको आँखा लाग्यो । ‘९ वर्षदेखि औषधि गर्दा गर्दै सम्पति सकियो’ आँखा भरी आँशु पार्दै उनीले भनिन्,‘ कृपया मेरो श्रीमानलाई बचाईदिनुस ।’ उनका अनुसार टेकलालको उपचार गर्दै गर्दा सबै जग्गा जमिन सकिएको छ । घर जग्गा धितो राखेर भएपनि श्रीमानको उपचारको तयारी गरिहेको उनले बताईन् । टेकलालको अहिले सिद्धार्थ सिटी हस्पिटल भैरहवामा उपचार भईरहेको छ । दुवै मृगौला प्रत्यारोपण गर्नु पर्ने डाक्टरले सुझाएका छन् ।

नेपालगञ्ज मेडिकल कलेजका मृगौला विशेषज्ञ सुबोध कुमार पाण्डेले चेकजाँच गरि औषधि सेवन गरेपनि निको हुनुको साटो झन् समस्या हुदैँ गएको बताए । उनका अनुसार अब अन्तिम विकल्प भनेको दुवै मृगौला प्रत्योरोपण नै हो । पछिल्लो समय भने टेकलालको जीवन रक्षाको लागि केही सहयोग जुटिरहेको छ । कोहलपुरमा रहेको गोल्डेन फ्यूचर एकेडेमी विद्यालयले टेकलालको उपचारको लागि १५ हजार सहयोग गरेको छ । विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र आचार्यले मृगौला पिडित केसीका जेठा छोराको पढाई खर्च पनि नलिने बताएका छन् । केसीका दुई जना छोरा छन् ।

उनका अनुसार विद्यालयको तर्फबाट ‘टेकलाल केसी बचाउ अभियान’ सञ्चालन गरिनेछ । मृगौला पिडित टेकलाललाई सहयोग गर्नेहरुले उनको मोबाइल नम्बर ९८४८०२१८८८ मा सम्पर्क गर्नसक्नेछन् । त्यसैगरी उनको नाममा एन आई सी एशिया बैंक कोहलपुर शाखामा रहेको खाता नम्बर ०५९८७५०६९५२४३००१ समेत पैसा जम्मा गर्न सकिनेछ ।

‘टेकलाल केसी बचाऔं अभियान’ समिति गठन

अहिले उनलाई बचाउनको लागि अभियान नै सञ्चालन गरिएको छ । विभिन्न संघ संस्था विद्यालयहरुले ‘टेकलाल केसी बचाऔं अभियान’ नै सञ्चालन गरेका हुन् । उनको उपचारको लागि सहजीकरण र सहयोग गर्नको लागि समिति गठन गरिएको हो । उनी बागेश्वरी बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सचिव समेत हुन् । समितिका संरक्षक बागेश्वरी बहुमुखी क्याम्पस प्रमुख शिशिर कुमार शर्माले टेकलालको जीवन रक्षाको लागि समिति नै गठन गरिएको बताए । उनले समितिले शैक्षिक संस्था, सहकारी, बैंक, उद्योगी, व्यापारी तथा विदेशमा रहेका विभिन्न नेपालीहरुलाई समेत सहयोगका लागि अपिल गर्नेछ ।

बागेश्वरी बहुमुखी क्याम्पसका पूर्व स्वतन्त्र विद्यार्थी संगठनका अध्यक्ष सुर्य रोकायको संयोजकत्वमा १५ जनाको समिति गठन भएको छ । यस्तै सल्लाहकार समिति नै गठन गरिएको छ । यस्तै आर्थिक समितिमा एकराज शर्माको संयोजकत्वमा कमिटि गठन भएको छ । संयोजक रोकायले देश तथा विदेशमा रहेका सहयोगी मनहरुबाट सहयोग संकलन गरिने बताए । निकै मिलनसार र सधै अरुको सेवामा खटिने टेकलालको जीवन रहेको लागि भरपुर सहयोग गरिने उनको भनाई छ । सबैलाई सहयोगको लागि समेत संयोजक रोकायले अपिल गरेका छन् ।

प्रकाशित मितिः शनिबार, मंसिर २८, २०७६     8:57:30 AM  |