कोहलपुर ।
बाँकेको कोहलपुरमा क्रिसा रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७६ को ११ औं संस्करण सुरु भएको छ । कोहलपुरमा विगत १० वर्षदेखि सञ्चालन हुँदै आएको प्रतियोगिताको ११ औं संस्करण बुधबारबाट सुरु भएको हो । कोहलपुर क्षेत्र संस्थागत विद्यालय संगठन ‐क्रिसा) को आयोजना भएको प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बिच प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले गरेका थिए । उनले यस्ता खेलकूद प्रतियोगिताले विद्यार्थीहरुको क्षमता विकासको लागि निकै ठूलो भूमिका खेल्ने बताए । ‘प्रदेशमा खेलकूद क्षेत्रको विकासमा निजि क्षेत्रबाट आयोजना हुने प्रतियोगिताको योगदान हुन्छ’ मन्त्री बरालले भने, ‘खेलाडीहरु राष्ट्रका गहना भएकोले खेलाडी उत्पादन गर्न विद्यालय स्तरबाट पहल आवश्यक छ ।’
क्रिसाले हरेक वर्ष आयोजना गर्ने यो प्रतियोगिताले विद्यालय स्तरबाट नै खेलाडी उत्पादन गर्नेमा केही भएपनी सहयोग पु¥याउने उनले बताए । ‘खेलाडी उत्पादनको लागि प्रदेश सरकार सबै निकायसँय सहकार्य गर्न तयार छ’ मन्त्री बरालले भने । उद्घाटन समारोहमा बोल्दै कोहलपुर नगरपालिकाका कार्यबहाक प्रमुख सञ्जुकुमारी चौधरीले यो प्रतियोगिता कोहलपुरको खेलकूद विकासको लागि कोसेढुंगा सावित हुने बताइन् ।
‘निजि विद्यालयहरुको शैक्षिक र खेलकूद क्षेत्र निकै राम्रो रहेको छ’ उनले भनिन्, ‘कोहलपुर नगरपालिकाले समेत खेलकूद क्षेत्रको विकासको लागि विभिन्न प्रतियोगिता गर्दै आएको छ ।’ नगरपालिकाले अहिले मेयर र उपमेयर कप प्रतियोगिता सञ्चालन गर्दैै आएको कार्यबहाक नगर प्रमुख चौधरीले जानकारी दिइन् । ‘खेलकूद क्षेत्रको विकासको लागि बजेट विनियोजन गरेका छौं’ उनले भनिन्, ‘स्थानीय सरकारले समेत खेलाडी उत्पादनको लागि जोड दिन्छ ।’ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ५ का सदस्य नरेन्द्र न्यौपानेले कोहलपुरका क्षेत्रका निजि र सामुदायिक विद्यालय क्षेत्रको अवस्था निकै फरक रहेको बताए । ‘यस क्षेत्रका संस्थागत विद्यालय हरेक हिसाबले अघि छन’ उनले भने, ‘सामुदायिक विद्यालयहरु तुलनात्मक रुपमा कमजोर देखिन्छन् ।
कोहलपुरलाई खेलकूदको हब बनाउनको लागि संस्थागत र सामुदायिक विद्यालयहरु बीच समन्वय आवश्यक छ ।’ कोहलपुर क्षेत्र संस्थागत विद्यालय संगठन ‐क्रिसा)का अध्यक्ष शिव प्रसाद डाँगीले विद्यालय बीच भाईचाराको सम्बन्ध विस्तार तथा खेलकूद विकासका लागि प्रतियोगिता आयोजना गर्दै आएको बताए । उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधी, शिक्षक विद्यार्थी लगायतको उपस्थिती रहेको थियो । प्रतियोगिता उद्घाटन पछि विभिन्न विद्यालयका विदार्थीहरुले मार्चपास समेत गरेका थिए । प्रतियोगिताको ११ औं संस्करणमा कोहलपुर नगरपालिका राप्तीसोनारी र बैजनाथ गाउँपालिकाका रहेका ३३ वटा विद्यालयहरुले सहभागिता जनाएका छन् । बुधबारबाट सुरु भएको प्रतियोगिता शुक्रबार समापन हुने आयोजकले जनाएको छ ।
११ खेल समावेश
११ औं क्रिसा रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता अन्तरर्गत बुधबार विभिन्न खेलहरु भएका छन् । पहिलो दिन केटा र केटी तर्फ रिले हिट, १ सय मिटर रिले दौड सम्पन्न भएका थिए । आधारभुत तह तर्फ फाईभ ए साईड फुटबल अन्तरर्गत ११ वटा केटा र ४ वटा केटीका खेल भएको कोहलपुर क्षेत्र सस्थागत विद्यालय संगठनका सचिव नवकिरण शाहले जानकारी दिए । उनका अनुसार पहिलो दिन बुधबार आधारभुत तह कै केटाकेटी तर्फ १ सय मिटर दौड समेत भएको थियो । प्रतियोगिता अवधिभर आधारभुत तथा माध्यामिक तहका गरी कुल ११ खेल हुनेछन् । ति मध्ये सात वटा खेल माध्यमिक तह र चार वटा आधारभुत तहका हुने आयोजकले जनाएको छ । जसमध्ये चार ईन्टु सय रिले दौड, चार ईन्टु चार सय रिले दौड, लमजम, १ सय मिटर दौड, १५ सय मिटर दौड, भलिबल र सटफुट खेलमा माध्यमिक तहका सहभागीले प्रतिष्पर्धा गर्नेछन् । यस्तै आधारभूत तहका चार वटा खेलमा फाईभ ए साईट फुटबल, म्युजिकल चियर, सय मिटर दौड र चार ईन्टु सय रिले दौड रहेका छन् । प्रतियोगिता अन्तर्गत दोस्रो दिन आज विहान सात बजे देखि नै खेल सुरु हुने आयोजकले जानकारी दिएको छ ।








प्रतिक्रिया दिनुहोस्