प्रदेशस्तरीय औद्योगीक क्षेत्रको लागी जग्गाको खोजी



चेत नारायण पाण्डेय । सुर्खेत ।

कर्णालीमा प्रदेशस्तरीय औद्योगिक क्षेत्र स्थापनाका लागि बाटो खुलेसँगै जग्गाको खोजी भइरहेको छ । प्रदेशस्तरीय औद्योगीक क्षेत्र भनिए पनी संघिय सरकारको पहलमा स्थापना हुनेछ । यसअघि स्थापना गर्ने भनिएको जग्गा उपयुक्त नभएपछि पुनः नयाँ ठाउँमा जग्गाको लागि सम्भाव्यता अध्ययन गर्न लागिएको छ ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले सुर्खेतको लेकवेशी नगरपालिका–९ चौरासेमा औद्योगिक क्षेत्रका लागि सम्भाव्यता अध्ययन गर्न लागेको हो । यसअघि लेकवेशी नगरपालिकामै पर्ने रानीचौतारी र खाँडदेवी सामुदायिक वनको जग्गामा औद्योगिक क्षेत्र स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिएको थियो । तर सुरुवातमा छनौट गरिएको स्थानमा भौगोलिक जटिलता देखिएकाले पुनःनयाँ ठाउँमा सम्भाव्यता गर्न लागिएको हो ।

पछिल्लो पटक लेकवेशी नगरपालिकाको वडा नम्बर ९ को माथिल्लो तिल्खे, दमार, रानीचौतारी र रानीमत्ते तथा वडा नम्बर १० को पोखरीचौरमा रहेको ६ प्लट जग्गामा सम्भाव्यता अध्ययन गर्न लागिएको छ । यो जग्गा शाँणदेवी, पोखरीचौर र रानीचौतारी सामुदायिक वन क्षेत्रमा पर्दछ । सम्भाव्यता अध्ययन र वातावरण प्रभाव मुल्यांकनको काम चालु आर्थिक वर्षमै सक्नेगरी प्रक्रिया अघि बढाइएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले जानकारी दिए । ‘लामो समय पहिलाको स्थानमा अध्ययन गर्दागर्दै खर्चियौँ’ उनले भने, ‘ त्यहाँ भौगोलिक विकटता र वनक्षेत्र धेरै भएकाले खर्च बढ्ने भयो, त्यसकारण त्यो ठाउँलाई छाडेर हामीले अब नयाँ ठाउँमा सम्भाव्यता अध्ययनको काम थाल्दैछौं ।’

चौरासेमा स्थलगत अनुगमनका क्रममा धेरै जग्गा फेला परिसकेको बस्नेतले उल्लेख गरे । लिमिटेडले योजना विभागबाट इन्जिनियर, अर्थ विज्ञसहितको पाँच सदस्यीय टोली सुर्खेत आउन लागेको उनले जानकारी दिए । औद्योगिक क्षेत्रका लागि हाल अध्ययन गर्न लागिएको स्थानमा पर्याप्त पानीको स्रोत, सडक र विद्युतको सहज विस्तार गर्न सकिने क्षेत्र रहेको उनले दाबी गरे । सम्भाव्यता अध्ययनको प्रतिवेदन सकारात्मक आए आगामी वर्षदेखी नै निर्माणको काम शुरु गरिने अध्यक्ष बस्नेतले बताए ।

गतवर्ष भौर्गभिक तथा सम्भाव्यता अध्ययन गर्न उद्योग मन्त्रालयको प्राविधिक टोली सुर्खेत आएको थियो । तर औद्योगिक क्षेत्र निर्माणका लागि एक हजार विगाह जग्गाको खोजी गरिए पनि प्राविधिक टोलीले एक सय ५० विगाहा मात्रै जग्गा भेटाएको थियो । त्यसबेला औद्योगिक क्षेत्रका लागि पश्चिममा झुप्रा खोला, उत्तरमा भेडावारी सडक, दक्षिणमा भेरी नदी र पूर्वमा चिङगाड खोलाको बीचमा रहेको जग्गा प्रस्ताव गरिएको थियो । तर त्यहाँ मैदानभन्दा भिरालो जमिन बढी रहेकाले नयाँ ठाउँमा औद्योगिक क्षेत्र बनाउन प्राविधिक टोलीले लिमिटेडलाई सुझाव दिएको थियो ।

सोही सुझावका आधारमा अब नयाँ स्थानमा अध्ययन गर्न लागिएको हो । त्यस्तै सुर्खेतका सामुदायीक वनहरुले बैशाखमा नै लिमिटेडको टोली औद्योगिक क्षेत्रको प्रस्तावित जग्गाको स्थलगत अध्ययन गर्न आएको बेला जग्गा उपलव्ध गराउने निर्णय गरिसकेका थिए । लेकवेशी नगरपालिकाका जनप्रतिनीधि, सामुदायिक वनका पदाधिकारी र स्थानीयबासीहरुले वनको जग्गा दिने निर्णय गरेको खाँणदेवी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष टिकाराम छन्तेलले बताए । ‘चौरासेमा औद्योगिक क्षेत्र निर्माण हुनु भनेकै यहाँको विकासको लागि हो’ छन्तेलले भने, ‘सकारात्मक रुपमा काम अघि बढाउन स्थानीय स्तरबाट रचनात्मक सहयोग गर्नेछौं ।’

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर २ गते सोमबार