मन्त्रालयका सचिवलाई आशय करणीको आरोप



चेत नारायण पाण्डेय । सुर्खेत ।

कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव राम आधार शाहलाई एक महिलाले आशय करणीको आरोप लगाएकी
छन् । मन्त्रालयमा कार्यालय सहयोगी पदमा कार्यरत एक महिलाले क्वाटर बोलाएको तर आफू नगएपछि सचिवले जागिरबाट निकालेको भन्दै जबर्जस्ती आशय करणीको आरोप लगाएकी हुन् । ‘सचिवको कार्यकक्षमा चिया पु¥याउन जाँदा पाँच बजेपछि कार्यालय र क्वाटर आउनु भन्नुभएको थियो’ ति महिलाले भनिन्, ‘सचिवको माग पूरा नगरेकै कारण मलाई जागिरबाट निकालेर थप पिडाबोध भएको छ ।’

पटक–पटक सचिव शाहले आफूलाई जिस्काउने गरेको पनि पीडित महिलाको आरोप छ । करार सेवामा नियुक्त भएकी महिलाको समयावधी आगामी पुस मसान्तसम्म छ । महिलाका अनुसार आफ्नो स्वभाव त्यस्तो नभएकाले सचिव शाहको प्रस्ताव स्विकार गर्न नसकेको बताइन् । ‘सचिव ज्यूको कार्यकक्षमा सबै हुँदा मात्रै चिया पु¥याउन जान्थे, एक्लै भएको बेला खाली गिलास ल्याउन सक्ने आँट आउँदैन्थ्यो’ पीडित ति महिलाले आफ्नो दुःख सुनाउदैँ भनिन्, ‘न्यायका लागि प्रहरी कार्यालय सम्म पुग्दा समेत सुनुवाई भएन् ।’ यता मन्त्रालयका सचिव शाहले आफूमाथि लागेको आरोप निराधार भएको बताएका छन् । प्रदेश सरकारले कर्मचारी संगठन तथा व्यवस्थापन (ओएण्डएम) गरेपछि एक दरबन्दी कम गरेपछि उनलाई जागिरबाट बिदाई गरेको बताए ।

‘म चिया नै खादैन् उनलाई कसरी जिस्काउनु’ सचिव शाहले भने, ‘उनले ममाथि लगाएको आरोप सबै गलत हो, मलाई फसाउन खोजिएको हो ।’ मन्त्रालय स्रोतका अनुसार महिलालाई जिस्काएको बारेमा थाहा नभएपनि उनलाई हटाउनु पर्ने कारण नभएकाले उनी पीडित नभएको बतायो । ‘सचिव ज्यूले रातारात दैलेख दरबन्दी भएका एक व्यक्तिलाई काजमा सुर्खेतमा सरुवा गर्नुभएको छ’ स्रोतले भन्यो, ‘उनी मन्त्रालय आउने क्रममा केही महिना पहिला दुर्घटनामा परेकाले अलि अस्वस्थ थिइन्, तिनलाई हटाएर अर्की महिला राख्ने तयारी थियो तर महिलाले धेरै प्रेसर दिएपछि काजमा सरुवा गराएर सुर्खेत ल्याउनु भएको सत्य हो ।’

सोही मन्त्रालयमा कार्यालय सहायक पदमा कार्यरत ती महिलाले सचिव शाहले आफूमाथि बारम्बार यौन दुव्र्यवहार गरेको आरोप लगाएकी छन् । त्यही घटनामा न्याय माग्दै उजुरी दिन पुगेकी उनलाई बुधबार प्रहरीले उजुरी दर्ता नगरी फिर्ता पठाएको हो । भने हाल सम्म उनको उजुरी दर्ता भएको छैन । सचिवले आफूमाथि गरेका सबै क्रियाकलाप सत्य भएको दाबि गरेकी महिलाले प्रहरीबाट घटना दबाउन खोजिएको बताइन् । ‘न्यायका लागि प्रहरी समक्ष पुग्दा झन पिडा दिने काम भएको छ’ ती महिलाले भनिन्, ‘भोग्ने स्वयम् प्रमाण आफू भएकाले कतैबाट न्याय पाउन सकिन, उल्टै दल र सांसदबाट घटना किन बाहिर ल्याएको भन्दै धम्की आएको छ ।’

चौतर्फी आएको दबाबले झन् पीडाबोध गराएको ती महिलाको भनाई छ । यसैबीच जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी डिल्लीराज पन्तले सचिवमाथि लगाइएको आरोप निराधार भएको भन्दै बचाउ गरे । ‘महिलाले लगाएको आरोप सत्य नदेखिएकाले उजुरी दर्ता नगरेको हो’ पन्तले भने । २०६९ सालमा सचिव शाह नेपाल गुणस्तर तथा नापतौल विभागमा कार्यरत हुँदा पनि एक युवतीले आफूलाई जवरजस्ती करणी गरेको आरोप सहितको समाचार बाहिरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७६ कात्तिक २९ गते शुक्रबार