जंगल नजान निकुञ्जको आग्रह



कोहलपुर ।

निकुञ्जबाट मध्यवर्ती क्षेत्रमा प्रवेश गरेर केही दिनयता पाटे बाघले मानिसको ज्यान लिन थालेपछि बाँके राष्ट्रिय निकुञ्जले सबैलाई सचेत रहन आग्रह गरेको छ । ४० घण्टाको अवधीमा दुई महिलाको पाटे बाघले आक्रमण गरेर ज्यान लिएपछि निकुञ्जले मध्यवर्ती क्षेत्रका बासिन्दाहरुलाई सचेत रहन आग्रह गरेको हो । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले मान्छे खान सुरु गरेको बाघले जतीबेला पनी मानिसहरुलाई आक्रमण गर्ने भएकाले सबैलाई सचेत रहेर बस्न आग्रह गरे ।

‘निकुञ्जबाट मध्यवर्ती क्षेत्रमा प्रवेश गरेर पाटे बाघले आक्रमण गरिरहेको अवस्था छ’ मंगलबार राती मिसन टुडेसँग कुरा गर्दै उनले भने, ‘तपाईको मिडियामार्फत म निकुञ्ज मध्यवर्ती क्षेत्रका बासिन्दाहरुलाई सुरक्षित रहेर बस्न आग्रह गर्दछु ।’ बालापुर, ढकेरी, चिसापानी र खड्कवार मध्यवर्ती क्षेत्रका मानिसहरुलाई सचेत रहेर बस्न प्रमुख संरक्षण अधिकृत भट्टराईले आग्रह गरे । निकुञ्जले केही समयसम्म मध्यवर्ती क्षेत्रका मानिसहरुलाई सकेसम्म जंगल क्षेत्रमा नजान, जानैपरे बफर जोनको कोर एरियामा नजान सुझाव दिएको छ ।

मध्यवर्ती क्षेत्रका बासिन्दाहरुलाई निकुञ्जले जंगल जानैपरे सकेसम्म समुहमा घाँस दाउरा गर्न जान सुझाएको छ । ‘अहिले बालापुरमा मानिसलाई खाएको बाघले भोली चिसापानी गएर मानिसलाई आक्रमण गर्ने सभ्भावना हुन्छ’ प्रमुख संरक्षण अधिकृत भट्टराईले भने, ‘त्यसैले केही समयसम्म बफर जोनका बासिन्दाहरुलाई सहज रहन आग्रह गर्दछौं ।’ मान्छे खान पल्किएको पाटे बाघले अझै पनी मानिसहरुलाई आक्रमण गर्ने सभ्भावना रहेकोले निकुञ्जले मध्यवर्ती क्षेत्रका बासिन्दाहरुलाई सचेत बनाएको हो ।

  • No tags available
प्रकाशित मिति : २०७६ कात्तिक २७ गते बुधबार