भारतीय नक्सा विरुद्ध देशभर प्रदर्शन, सडकमा घन्कियो ‘गो ब्याक ईन्डिया’



कोहलपुर ।

नेपालका भूभागलाई आफ्नो नक्साभित्र समावेश गर्दै भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि बाँकेसहित मुलुकभर भारतविरुद्ध प्रदर्शन गरिएको छ । कालापानी लगायतका नेपाली भूमि समावेश गरिएको नयाँ नक्सा भारतले सार्वजनिक गरेपछि नेपालमा त्यसको विरोध भइरहेको हो । कश्मिर मुद्दापछि भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी क्षेत्रको भू–भाग भारतमा पारिएको छ । भारतले नयाँ नक्सामा कालापानी, लिपुलेख, लिम्पियाधुरा आफ्नो देशमा देखाएपछि नेपालमा त्यसको चर्को विरोध भइरहेको हो ।

कालापानी, लिपुलेख, लिम्पियाधुरा नेपालमा पर्छन् । नयाँ नक्सामा नेपाली भूमिलाई समावेश गरिएको भन्दै विद्यार्थीहरुले बुधबार विरोध प्रदर्शन गरेका थिए । उनीहरुले बिहीबार बाँकेको कोहलपुरमा भारतविरुद्ध नाराबाजि गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला समेत जलाए । विद्यार्थीहरुले ‘गो ब्याक इन्डिया’ को नारा लगाउँदै कोहलपुर बजार परिक्रमा गरेका थिए । कोहलपुर चौराहाबाट सुरु भएको विरोध प्रदर्शन बागेश्वरी बहुमुखी क्याम्पसको गेटमा पुगेर समापन भएको थियो । त्यहाँ विद्यार्थीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेका थिए । अनेरास्ववियुका नेताहरु मोहित शाह, राजेन्द्र विष्ट, हेमन्त भट्टराईले भारतले तत्काल नक्सा नसच्याए कडा आन्दोलन गर्ने चेतावनी दिए ।

उनीहरुले पश्चिम नेपालको लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायतको अतिक्रमित क्षेत्र फिर्ता गर्न माग गरे । ‘भारतीय बिस्तारवाद मुर्दावाद, नरेन्द्र मोदी मुर्दावाद’ को नारा लगाउँदै विद्यार्थीहरुले पुत्ला दहन गरेका थिए । अनेरास्ववियु बाँकेका नेता शाहले भारतले नेपालको स्वाधीनतामा आँच आउने किसिमले नेपाली भु–भाग अतिक्रमण गरी नक्सा सार्वजनिक गरेकोले त्यसको विरोधमा प्रदर्शन गरिएको बताए । ‘नेपाल विश्वमा शान्ति चाहने देश हो’ उनले भने, ‘पञ्चशिलको सिद्धान्तमा रहेर छिमेकी देशहरुसँग मित्रवत व्यवहार गर्न चाहेपनि भारतले बेला बेलामा निउ खोज्दै आईरहेको छ ।’ नेता शाहले बारम्बार सिमा अतिक्रमण भईरहने हो भने यूवाहरु सिमा रक्षाको लागि तयार रहेको दाबी गरे । ‘सिमा रक्षाको लागि हामी रगत बगाउन तयार छौ’ उनले भने, ‘नेपालको स्वाभिमान माथि आँच आउने गतिविधि गर्ने अधिकार कसैलाई छैन ।’ अनेरास्ववियूका अर्का नेता राजेन्द्र बिष्टले भारतले आफ्नो राजनीतिक नयाँ नक्सामा नेपाली भू–भाग कालापानी र लिपुलेकलाई समावेश गरेको नेपालीलाई सह्य नभएको बताए ।

‘भारतलाई त्यो नयाँ नक्सा छिटो भन्दा छिटो सच्याउन आग्रह गर्दछौं’ उनले भने, ‘भारतीय पक्षले नक्सा नसच्चाए विद्यार्थीहरु सशक्त आन्दोलनमा उत्रिन् बाध्य हुनेछन् ।’ अनेरास्ववियू बागेश्वरी बहुमुखी क्याम्पसका नेता हेमन्त भट्टराईले भारतीय ज्यादती विरुद्ध सबैजना जाग्नुपर्ने बेला आएको बताए । भारतले नेपालको भूभाग आफ्नो भएको दाबीसहित नयाँ नक्सा निकालेपछि सरकारले भारतको नयाँ नक्सालाई स्वीकार नगर्ने जनाएको छ । भारतीय नयाँ नक्साप्रति सामाजिक सञ्जालमा पनि तीब्र बिरोध भइरहेको छ । भारतले भने ७० वर्षदेखिको अभ्यास भन्दै नक्साको बचाउ गरेको छ । यसैबिच यही बिषयलाई लिएर आज (शुक्रबार) विभिन्न राजनीतिक दल सम्बद्ध युवाहरुले नेपालगञ्जमा विरोध प्रदर्शन गर्ने भएका छन् । नेपालगञ्जस्थित विपी चोकबाट बिहान ८ बजे सुरु हुने विरोध प्रदर्शन नगरका विभिन्न भागको परिक्रममा गर्दै धम्बोझी चोकमा पुगेर समापन हुने बताइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ कात्तिक २२ गते शुक्रबार