16 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

दिगो वन व्यवस्थापनले समृद्ध बनाउने योजना

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, कार्तिक ४, २०७६  

जाजरकोट ।

बूढो उमेर भएका सल्लाका रुख काटेर नयाँ रुख रोप्ने योजनाका साथ लहरेखोला जलुके सामुदायिक वन समूह जुटेको छ । जिल्लाको शिवालय गाउँपालिका–१ स्थित लहरेखोला सामुदायिक वनमा अहिले दर्जनौँ सल्लाका रुख काटेर नयाँ बिरुवा रोप्ने अभियान शुरु भएको वडा नं १ का अध्यक्ष मानबहादुर पुनले बताए ।

दिगो वन व्यवस्थापन तथा पूर्ण उत्पादन कार्यक्रमअन्तर्गत सो रूख काटिएको उनले बताए । पुराना, बूढा भएका रुख काटेर समूहको आम्दानी गरी नयाँ रुख रोप्ने अभियान शुरु गरिने उनले जानकारी दिए । जङ्गलमा रुख कुहिएर खेर जाने भएकाले त्यसलाई सहीरूपमा व्यवस्थापन गरी आम्दानीको मुख्य आधार खोजिन लागिएको हो ।

अहिले रुख काटेर छेडा–मोर्क हुँदै शिवालय कचाली सडकमा राखिएको छ । सामुदायिक वनले डिभिजन वनसँग समन्वय गरेर काठ बिक्रीका लागि पहल शुरु हुन लागेको छ । काठ बिक्रीका लागि सार्वजनिक सूचना प्रकाशित गरेर प्रतिस्पर्धाका आधारमा काठ बिक्री गरिने भएको छ । दिगो वन व्यवस्थापन भन्दै जथाभावी रुख काटेको आरोपसमेत स्थानीयवासीले लगाएका छन् । रुखबाट भएको आम्दानीले सामुदायिक वनकै वृद्धि, विकासका लागि खर्चिने उपभोक्ता समितिका सदस्य रामबहादुर पुनले बताए ।दिगो विकासको नाममा उपभोक्ता समिति मोटाउने ख्याल नहोस् भनी स्थानीयवासीले खबरदारीसमेत गरिरहेको स्थानीयवासीको भनाइ छ ।

यहाँका चार सामुदायिक वनमा अघिल्लो वर्षदेखि उक्त कार्यक्रम लागू भएको हो । स्थानीयवासीले रुख मात्र काटेको जानकारी रहेपनि नयाँ रुख कहिले रोपिन्छ भन्ने पत्तो नभएको बताएका छन् । दिगो वन व्यवस्थापन गर्नका लागि विभिन्न मापदण्ड लागू गरेर मात्र काम गर्नुपर्नेमा डिभिजन वन कार्यालयको जोड छ । बूढा तथा माउ रुख एकैपटक नकाटी मापदण्ड बनाएर वर्षेनी सङ्ख्या निर्धारण गरी कटान गरिने डिभिजन वन कार्यालयले जनाएको छ । रासस

प्रकाशित मितिः सोमवार, कार्तिक ४, २०७६     9:10:55 AM  |