15 July 2024  |   सोमवार, असार ३२, २०८१

ठगिए प्रदेश सरकारका मन्त्री

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, कार्तिक ४, २०७६  

चेत नारायण पाण्डेय । सुर्खेत ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको एक फिल्म हल सञ्चालकले कर्णाली प्रदेश सरकारका मन्त्री ठगिएका छन् । वीरेन्द्रनगरमा रहेको लक्ष्मी चलचित्र मन्दिरमा चलचित्र ‘छ माया छपक्कै’ हेर्न गएका कर्णाली मन्त्रीहरु नै ठगिएका थिए । शनिबार साँझ साढे ६ बजे कार्यबाहक मुख्यमन्त्री, मन्त्री तथा अन्य विशिष्ट व्यक्ति र नेकपाका नेता कार्यकर्ता फिल्म हलमा पुगेका थिए । उनीहरु हलमा पस्दा अघिल्लो सो चलिरहेको थियो ।

सो चल्दै गरेको अवस्थामा हल भित्र छिरेका मन्त्रीहरु छिरेपछि अन्य दर्शक पनि हलमा गएका थिए । त्यस लगत्तै हल सञ्चालकले अघिल्लो शो नसकिएको भन्दै मन्त्री सहित अन्य दर्शकहरुलाई बाहिर पठाएको बताइन्छ । अन्ततः फिल्म हेर्नको लागि टिकट काटिसकेका कार्यबाहक मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी, कर्णाली प्रदेश योजना आयोगका सदस्य डा. दिपेन्द्र रोकाया लगायतको टोलीले ‘छ माया छपक्कै’ हेर्न नै पाएनन् । सञ्चालकको गम्भीर लापरवाहीका कारण दिउँसो साढे तीन बजेको सो मध्यान्तरपछि प्रोजेक्टर बिग्रेको भन्दै सो रोकिएको थियो ।

पछि आक्रोशित दर्शकले आफ्नो टिकटको पैसा फिर्ता मागेपनि हलका कर्मचारीहरू दर्शकलाई धम्क्याउन थालेका थिए । पछि मन्त्री सहित अन्य दर्शकको पैसा फिर्ता गरिएको
थियो । फिल्म हेर्नको लागि शुक्रवार नै टिकट काटेको थिएँ ‘शनिबार फिल्म हेर्न आउँदा प्रोजेक्टर नै बिग्रियो, हामीले हेर्न पाएनौं,’ दर्शक सरोज थापाले भने, ‘कि छिटो फिल्म सञ्चालन गर्नुपर्छ नभए हाम्रो पैसा फिर्ता दिनुस् भनेर भन्दा उल्टै हामीमाथि त्यहाँका कर्मचारीहरूले दादागिरी देखाए ।’

सुर्खेतमा एक मात्र फिल्म हल भएका कारण उनीहरूमा अहमता बढेको उनीहरुको आरोप थियो । यता हलका एचआर म्यानेजर महेन्द्र केसी भने गल्ती भएको स्वीकार गरेका छन् । ‘हरेक सो केही समय ढिला शुरू भएको र बीचमा प्रोजेक्टरले धोका दिएका कारण पुरै फिल्म देखाउन सकिएन,’ उनले भने, ‘अब नयाँ प्रोजेक्टर खरिद गर्ने कुरा भएको छ ।’

प्रकाशित मितिः सोमवार, कार्तिक ४, २०७६     9:02:51 AM  |