क्षतिपुर्ति माग गर्दै किसानले बुझाए ज्ञापनपत्र



नेपालगञ्ज ।

केही दिनदेखि पाकेर घर भित्र्याउन तयार रहेको धानबालीमा लागेको फौजी किराको नियन्त्रण र क्षतिपूर्तिको माग गर्दै बाँकेका किसानहरुले ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले आइतबार विभिन्न माग राख्दै बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार खड्कालाई ज्ञापनपत्र बुझाएका हुन् । जिल्लाको डुडुवा गाउँपालिका वडा नं. १, २, ३, ४ र ६ मा कृषकले लगाएको धानबालीमा फौजी किराले पु¥याएको क्षतिको विवरण संकलन र प्रकोप नियन्त्रणको तत्काल पहल गर्न ज्ञापनपत्र बुझाइएको हो ।

शनिबार डुडुवा गाउँपालिका वडा नं. ६ मा भएको किसानहरुको भेलाले क्षतिपूर्ति र किरा नियन्त्रणका लागि सरकारलाई दबाब दिन फौजी किरा पिडित संघर्ष समिति गठन गरेको थियो । समितिका अध्यक्ष रामधनी यादवको नेतृत्वमा बुझाइएको ज्ञापन पत्रमा अविलम्ब रोग पहिचान र विषादीको व्यवस्थापन गर्ने, कृषकहरुका लागि आपतकालिन सेवाको सुरुवात गर्ने, यथासिघ्र धानबालीको अनुगमन र क्षतिको विवरण संकलन गरिनु पर्ने माग गरिएको छ । यस्तै कृषकहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन पहल गर्नुपर्ने र आगामी दिनमा कृषकले लगाउने दलहन, तेलहन र तरकारी खेतीलाई सुरक्षित गर्न पुर्वतयारीको आवश्यक कदम चाल्नु पर्ने उल्लेख छ ।

नेकपा डुडुवा गाउँपालिकाका अध्यक्ष शकील खानले डुडुवा गाउँपालिकाको वडा नं.२ र ६ धानको पकेट क्षेत्र भएको सोही क्षेत्रमा फौजी किराले पाकेको धानको बाला काटेर खेतमै नष्ट गरि बढी नोक्सानी पु¥याएको बताए । डुडुवा गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष मोहनराम मिश्रले बिउदेखि रोपाई, गोडमेल एवं मलजल गरेर घर भित्र्याउने बेलामा यसरी फौजी किराको प्रकोपले ठूलो संख्यामा किसानहरु समस्यामा परेकोले जनप्रतिनिधि भएको हैसियतले कम्तिमा लागत अनुसारको क्षति किसानले पाउनु पर्ने हाम्रो माग रहेको उनको भनाई छ ।

गाउँपालिका क्षेत्रमा यसरी धानबालीमा फौजी किराको प्रकोप फैलिएको अवस्थामा गाउँपालिकाले बेवास्ता गरे जस्तै अन्य निकायले पनि वास्ता नगरे संघर्षमा उत्रिन बाध्य हुने संघर्ष समितिका अध्यक्ष यादवको भनाई छ । ‘प्रकोपबाट पिडित अधिकाँश किसानको समस्या भएको छ’ उनले भने, ‘क्षतिपूर्तिका लागि तत्काल सम्बन्धित निकायले पहल थाल्न दबाब होस भनेर ज्ञापन पत्र बुझाएका हौँ ।’

  • No tags available
प्रकाशित मिति : २०७६ कात्तिक ४ गते सोमबार