15 July 2024  |   सोमवार, असार ३२, २०८१

जीर्ण बने डिप बोरिङ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, कार्तिक १, २०७६  

नेपालगञ्ज ।

बाँके जिल्लाका विभिन्न स्थानमा अत्यन्तै जीर्ण अवस्थामा रहेका सबै डिप बोरिङ सञ्चालनमा आउन सकेको छैन । विभिन्न स्थानमा जडान गरिएका १०२ वटा डिप बोरिङमध्ये प्रायः सबै सरकारी उदासिनताका कारण टुटफुट र बिग्रेको अवस्थामा छन् । झण्डै २० वर्ष अगाडि डिप बोरिङ सञ्चालन हुँदा यहाँका किसानका खेतमा पानीको कमी थिएन । खेतमा सहजै बालीनाली सिँचाइ हुने गथ्र्यौं । तर डिप बोरिङको उचित सुरक्षा, व्यवस्थापन र समयमा मर्मत सम्भारमा ध्यान नपु¥याउँदा किसानका खेतबारीले फेरि सुख्खा रहनुको नियति भोग्नुपरेको छ । बाह्रैमास कृषि उत्पादन गर्नका लागि डिप बोरिङ सञ्चालनमा ल्याइएको थियो ।

डिप बोरिङ सञ्चालनको शुरुआती केही वर्ष किसानले त्यसको प्रयोग गरे । क्रमशः डिप बोरिङ बिग्रन थाले, तर तत्काल मर्मतसम्भारमा ध्यान नदिँदा यस्तो अवस्था आएको खजुरा–२ का किसान लक्ष्मण बस्नेत बताउछँन् । अहिले डिप बोरिङको विकल्पमा आर्थिक अवस्था राम्रो भएका किसानले पानी तान्ने मोटरको प्रयोग गरिरहेका छन् । कमजोर आर्थिक अवस्था भएका किसानसँग आकाशे पानीको भरपर्नुको अरु विकल्प हुँदैन । डिप बोरिङ मर्मत र सञ्चालनका लागि अहिले पनि सरकारबाट कुनै ठोस योजना लागू भएको छैन ।

वर्षौंदेखि बन्द अवस्थामा रहेको डिप बोरिङ मर्मत गरेर सञ्चालन गर्नका लागि अर्बौं रुपैयाँ लाग्ने अनुमान गरिएको छ । अहिले अधिकांश डिप बोरिङको महत्वपूर्ण सामग्री हराएका छन् । नेपालगञ्जस्थित भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका अनुसार, त्यसबेला डिप बोरिङ चलाएबापतको विद्युत् प्राधिकरणको बक्यौता रकम पनि तिर्न सकिएको छैन । बाँकेको खजुरा गाउँपालिका–२ सीतापुरमा मात्रै १९ वटा डिप बोरिङ छन् ।

जसमध्ये तीन वटा मात्र सञ्चालनमा छ । बन्द भएका डिप बोरिङमध्ये कतिपयको ट्रान्सफर्मर चोरी भएको छ, कतिपयको मोटर जलेको छ त कतिपयको विद्युत् महसुल बक्यौता रहेको छ । बक्यौता नबुझाएसम्म विद्युत् प्राधिकरण विद्युत् जडान गर्ने पक्षमा छैन । नेपालगञ्ज उपमहानगरपालिकाले भने नगर क्षेत्रका विभिन्न स्थानमा प्रयोगविहीन अवस्थामा रहेका करीब ३८ वटा डिप बोरिङको मर्मत कार्य अहिले शुरु गरेको छ ।

‘नगरका वडा नं २२ र २४ मा दुई वटा डिप बोरिङ मर्मत गरेर सञ्चालनमा ल्याउन सफल भएका छौँ’, नगर प्रमुख डा धवलशम्शेर राणाले भने । बोरिङको मर्मत र सञ्चालनका लागि उपमहानगरपालिकाले रु १० लाख बजेटसमेत छुट्याएको छ । मर्मत गर्न लागिएको अधिकांश डिप बोरिङको ट्रान्सफार्मर र महत्वपूर्ण पार्टपूर्जा चोरी भएको अवस्थामा रहेको छ । उपमहानगरपालिकाले डिप बोरिङ कृषक समूहलाई हस्तान्तरण गर्ने जनाएको छ । एउटा डिप बोरिङबाट झण्डै ३० देखि ४० बिघा जमीनमा सिँचाइ गर्न सकिन्छ ।

प्रकाशित मितिः शुक्रबार, कार्तिक १, २०७६     7:57:41 AM  |