15 July 2024  |   सोमवार, असार ३२, २०८१

बालविवाह र दाइजोविरुद्ध किशोरी, नगरपालिकाको गेटमा सामुहिक प्रतिबद्धताको बोर्ड

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, कार्तिक १, २०७६  

कोहलपुर ।

बाँकेमा १६ वर्षको उमेरमै बिवाह गर्नुपर्ने माग राख्दै केही समुहहरुले बेला बेला आन्दोलन गर्ने गरेका छन् । नेपालको कानुनले २० वर्ष नपुगी केटा केटी दुवैले सहमतीमा समेत बिवाह गर्न बन्देज गरेको छ । २०७५ साल भदौं १ गतेबाट लागू भएको मुलुकी अपराध संहितामा विवाहका लागि केटा र केटी दुवैको उमेर २० बर्ष पुगेको हुनुपर्ने प्रावधान रहेको छ । १६ वर्षको उमेरमै बिवाह गर्न पाउनु पर्ने आन्दोलन गरेपछि बाँकेका किशोरी क्लब भने सक्रिय भएका छन् । उनीहरु बालविवाह विरुद्ध मात्र होइन दाइजोविरुद्ध समेत डटेर लागिरहेका छन् ।

नगरस्तरिय किशोरी संजाल नेपालगञ्जकी अध्यक्ष पुजा बर्माले नेपालको कानुनलाई नै चुनौती दिनेगरी सडकमा आउनेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताइन् । ‘नेपालको कानुनलाई नै चुनौती दिदै बालविवाह गर्न पाउनुपर्छ भन्दै आन्दोलन चर्काउनु जायज होइन’ उनले भनिन्, ‘कानुन बनेको एक बर्ष नपुग्दै त्यसैलाई चुनौती दिने समुहलाई कारबाहीको दायरामा प्रशासनले ल्याउनुपर्छ ।’ बालविवाह न्यूनीकरण गर्नका लागि आफूहरूले अभियान नै चलाइरहेका बेला केही अभिभावकको अभिव्यक्तिले चुनौती थपिदिएको बालअधिकारकर्मी श्वेता गुरुङ बताउँछिन् । ‘समाजका अभिभावक भनेका नै १६ मा बर्षमा नै छोरीहरुको बिहे गर्नपाउनुपर्छ भनेर महिलाहरु उचालिरहेका छन्’ उनले भनिन्, ‘खुलेआम कानुनलाई चुनौतीदिदासम्म समेत प्रशासनले केही गर्न सक्दैन ।’ कानुनले बाल विवाहको भोज, जन्ती जाने कार्यलाई समेत दण्डनीय मानेको छ ।

बालविवाह र दाइजोविरुद्ध उनीहरुले एकजुट भएर स्थानीय सरकारका प्रमुख तथा सम्बन्धित निकायहरुलाई नियन्त्रणको लागि ज्ञापनपत्र बुझाइसकेको अवस्था रहेको छ । किशोरी क्लबको अभियानमा साथ दिने जनप्रतिनिधिहरुले प्रतिबद्धता व्यक्त गरेका थिए । बाँकेका किशोरीहरुले थालेको अभियानसँग हातेमालो गर्दै अगाडि बढ्ने स्थानीय तहहरुले समेत प्रतिबद्धता जनाएका छन् । सोही अनुसार कोहलपुर नगरपालिकाको मुल गेटमा नै बालविवाह अन्त्यका लागि सामुहिक प्रतिबद्धता जनाईएको बोर्ड टाँगिएको छ । बोर्डमा कोहलपुरका सम्पुर्ण जनप्रतिनिधि र सरोकारवालाहरुको सामुहिक प्रतिबद्धता भएको उल्लेख छ ।

कोहलपुरका घर–परिवार, गाउँ–टोल बस्ती, समुदाय र वडाहरुमा बालविवाह न्युनिकरण अभियानलाई शसक्त बनाउन आग्रह गरिएको छ । नगर प्रमुख लुटबहादुर रावतले बालविवाह न्युनिकरणका लागि पाँच बुँदे प्रतिबद्धता समेत सार्वजनिक गरिएको बताए । उनका अनुसार प्रतिबद्धताको पहिलो नम्बर दिगो विकास लक्ष्य २०३० अनुरुप महिला, बालिका र किशोरी माथि हुने सबै प्रकारका हिंसा तथा भेदभाव अन्त्य गरिने उल्लेख छ । यस्तै कोहलपुरका जनप्रतिनिधि, कर्मचारी र सरोकारवाला कसैले पनि २० वर्ष नपुगि विवाह गर्ने÷ गराउने कार्य नगर्ने लिखित प्रतिबद्धता व्यक्त गरिएको हो । बालविवाह र दाइजोविरुद्ध आमा समुह, किशोरी समुह तथा वडा कार्यालयलाई सक्रिय बनाईने नगर प्रमुख रावतले बताए । बालविवाहविरुद्ध सामुहिक हस्ताक्षर अभियान समेत थालिएको नगरपालिकाले जनाएको छ ।

नगर प्रमुख रावतले बालविवाह मुक्त नगरपालिकाको अभियान अन्तर्गत प्रतिबद्धता सहित कार्यालय मै हस्ताक्षर अभियान थालिएको बताए । हस्ताक्षर अभियानको शुरुवात प्रमुख रावत आफैबाट गरेका थिए । यस्तै कार्यालयमा आउने सेवाग्राहीहरुले समेत उक्त प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्ने गरेका छन् । नगर प्रमुख रावतका अनुसार कोहलपुर नगरपालिका बाल विवाह न्युनिकरण अभियानमा कटिबद्ध छ भन्ने सन्देश प्रवाह गर्नको लागि पनि अभियान थालिएको हो । सोही कार्यक्रम अन्तर्गत वडा तथा विषयत समिति र बाल अधिकारका क्षेत्रमा सक्रिय सस्था मार्फत जनचेनतामुलक कार्यक्रम गरिने उनको भनाई रहेको छ । बालविवाह न्युनिकरण अभियान अन्र्तगत विभिन्न सामुदायिक विद्यालयमा समेत कार्यक्रम गरिने योजना नगरपालिकाको छ ।

प्रकाशित मितिः शुक्रबार, कार्तिक १, २०७६     7:48:16 AM  |