नेपालगञ्ज ।
नेपाली काँग्रेस बाँकेले विभिन्न चाडपर्वहरुको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान गरेको छ । नेपालगञ्ज स्थित पार्टी कार्यालयमा आइतबार आयोजित समारोहमा नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा काँग्रेस बाँकेले विगका वर्षहरुमा जस्तै यसपटक पनी चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको हो । उक्त समारोहमा नेपाली काँग्रेसका नेता कार्यकर्ताका साथसाथै विभिन्न दलका नेता, स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख उद्योगी व्यवसायीहरु लगायतको उपस्थिति थियो ।
नेकपा बाँकेका अध्यक्ष एवम् प्रदेश पाँचका सांसद् इन्द्रप्रसाद खरेल (आइपी), प्रदेश सभा सदस्य याकुब अन्सारी, पूर्व सांसद् बादशाह कुर्मी, मैकुलाल बाल्मिकी, कैलाशनाथ कशौधन, पूर्व सभापति युवराज शर्मा, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा.धवल शमशेर राणा, बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीर बहादुर ओली लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमलाई सम्वोधन गर्ने नेपाली काँग्रेसका स्थानीय नेताहरुले वर्तमान सरकारले लोकतन्त्र धरापमा पार्न खोजेको भन्दै चनाखो बन्नु पर्ने अवस्था आएको दाबी गरे ।
दुई तिहाई सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको उनीहरुले आरोप लगाए । नेपाली काँग्रेस बाँके सभापति किरण कोइरालाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन जिल्ला सचिव कपिलदेब शर्माले गरेका थिए । आइतबार बाँके सहित देशभरका सबै जिल्लाहरुमा काँग्रेसले चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको थियो । नेपाली काँग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन यस्तो खाले कार्यक्रमको आयोजना गर्दै आएको छ ।