कोहलपुर ।
‘नेपाल भ्रमण वर्ष २०२०’ को प्रचार प्रसारमा बाँकेका विद्यार्थी नेताहरु सक्रिय भएका छन् । भ्रमण वर्ष सफल पार्नको लागि बाँकेका विद्यार्थी सक्रिय भएका
हुन् । बाँके जिल्लामा रहेका विभिन्न पार्टीमा आवद्ध भातृ संगठनका विद्यार्थी नेताहरुको सहभागितामा पर्यटकीय अभियानको शुरुवात गरिएको हो ।
विभिन्न क्षेत्रमा लुकेर रहेका ऐतिहासिक पर्यटकीय, पुरातात्विक र सांस्कृतिक महत्व बोकेका स्थलहरुको प्रर्वद्धन गरिने अभियानको लक्ष्य रहेको छ । अभियान अन्तर्गत शनिबार बाँके जिल्लामा रहेका बागेश्वरी मन्दिर, रानी तलाउ अवलोकन गरिएको थियो ।
अभियानको अवधिभर पर्यटकीय स्थलमा गएर त्यस क्षेत्रको महत्वलाई विभिन्न सञ्चार माध्यम र सामाजिक तथा व्यक्तिगत रुपमा समेत व्यापक प्रचार प्रसार गरिने छ । ‘नेपाल भ्रमण वर्ष २०२०’ का बाँके संयोजकको रुपमा विद्यार्थी नेता राजेश ओली रहेका छन् । उनको संयोजकत्वमा सम्पुर्ण विद्यार्थी संगठनका नेताहरुको सहभागिता रहने बताइएको छ ।
अभियान मार्फत बाँकेका पर्यटकीय गन्तव्यहरुको प्रसार प्रसार गर्ने मुख्य उद्धेश्य रहेको अभियन्ता धर्म शाहीले जानकारी दिए । उनका अनुसार विशुद्ध सामाजिक उत्तरदायित्व बोध गर्नका लागि विद्यार्थीहरुको तर्फबाट अभियानको थालनी गरिएको हो । ‘नेपाल भ्रमण वर्ष २०२०’ सकिञ्जेल सम्म अभियान निरन्तर सञ्चालन हुने अर्का अनेरास्ववियूका विद्यार्थी नेता तथा अभियन्ता देवेन्द्र बहादुर बुढाले बताए ।
यस अघि पनि दुई पटक लायन्स पार्क गाभर, कोहलपुर भ्यु टावर बर्दिया जिल्लाको बढैयाताल र बाँसगढीमा रहेको ऊँ केदारश्वर धाममा अवलोकन गरिएको नेविसंघका विद्यार्थी रामराज मल्लले जानकारी दिएका छन् । बाँके जिल्लामा विद्यार्थीहरुको तर्फ बाट शुरु भएको अभियानमा अनेरास्ववियुका बाँके अध्यक्ष मोहित शाह, सचिव टेकेन्द्र मल्ल र क्रान्तिकारीका बाँकेका अध्यक्ष सुरेन्द्रजंग शाह (जम्बो) लगायतका नेताहरुको विषेश उपस्थिति ÷ समर्थन र साथ सहयोग रहेको थियो ।