नेपालगञ्ज ।
नेपाल भारत सिमा नाकामा हुँदै आएका विभिन्न अपराधिक गतिविधिहरु रोक्न राष्ट्रिय जनमोर्चा बाँकेले स्थानीय प्रशासनलाई आग्रह गरेको छ । राष्ट्रिय जनमोर्चाको प्रतिनिधि मण्डलले मंगलबार बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्कालाई ज्ञापन पत्र बुझाएको यस्तो माग राखेको हो । नेपालीहरुका महान् पर्वहरु सुरु भइसकेको अवस्थामा भारतका विभिन्न ठाउँबाट घर फर्किने नेपालीहरुले सिमा नाकामा धेरै दुख पाउने गरेको भन्दै जनमोर्चाले सिडियोको ध्यानाकर्षण गराएको थियो ।
राष्ट्रिय जनमोर्चा बाँकेका अध्यक्ष गुणनिधि आचार्यले भारतबाट कमाई गरी फर्किएका नेपालीहरुले सिमा नाकामा विभिन्न समस्या झेल्नुका साथै चोरी डकैतीमा पर्ने गरेकाले त्यस्तो स्थिती सृजना हुन नदिन प्रजिअको ध्यानाकर्षण गराएको जानकारी दिए । उनले नेपालगञ्जबाट भारततर्फ सिधा बस सेवा सञ्चालनमा आएसँगै नेपाली चेलिवेटीहरु बेचिने सम्भावना बढेकाले त्यसतर्फ ध्यान केन्द्रित गर्न समेत आग्रह गरीएको दाबी गरे । भारतका विभिन्न ठाउँमा रोजगारी गर्न गएका नेपालीहरु दशै तिहार मनाउन घर फर्किने क्रम सुरु भएसँगै सिमानामा लुटिने गर्दछन् ।